विचारलाई साहित्यले ताजगी दिन्छ : बिजुक्छे - Naya Patrika
eNaya Patrika
  • ePaper

विचारलाई साहित्यले ताजगी दिन्छ : बिजुक्छे

नारायणमान बिजुक्छे करिब ६ दशकदेखि राजनीतिमा सक्रिय छन् । विद्यार्थी जीवनबाट कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका उनले १० माघ ०३१ सालदेखि नेपाल मजदुर किसान पार्टीको स्थापना गर्दै निरन्तर अध्यक्षको पद सम्हाल्दै आएका छन् । राजनीतिक जीवनमा धेरै उतारचढाव भोगेका बिजुक्छे जीवनभर भक्तपुरको विकासलाई प्रमुख एजेन्डा बनाएर अघि बढिरहे । उनले भक्तपुरको विकासका लागि कोरेको खाकालाई भक्तपुरवासीले आत्मसात् गरेर अघि बढिरहेका छन् । उमेरले ७९ वर्ष पुगेका बिजुक्छे आफ्नो स्वास्थ्यमा चाहिँ कत्तिको सजक छन् त ? नयाँ पत्रिकाले जान्ने प्रयास गरेको छ:

नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा

थेरापी गर्छु
म बिहान ६ बजे उठ्छु । पहिला बिहान उठेपछि हिँड्थेँ, सामान्य व्यायाम गर्थेंं । विगत दुई वर्षदेखिचाहिँ खुट्टा दुख्ने समस्या भएकाले हरेक बिहान थेरापी गर्दै आएको छु । डाक्टरले सिकाएको आधारमा घरैमा थेरापी गर्छु । अहिले थेरापीबाहेक केही पनि गर्दिनँ । हड्डी खिइएको भन्ने डाक्टरको भनाइ छ । ढाड दुख्ने समस्याचाहिँ २०–२५ वर्षअघिकै हो । तर, त्यसवेला खास ख्याल गरिएन । त्यसैले समस्या भयो कि भन्ने लाग्छ ।

निहुरिएर लेख्दा समस्या
आजभोलि लेख्दा हात दुख्ने समस्या छ । डाक्टरका अनुसार लेख्न बस्दा शरीरको ब्यालेन्स नमिलेर समस्या आएको हो भन्ने छ । त्यसैले आजभोलि हात अलि माथितिर बनाएर लेख्ने तथा पढ्ने गरेको छु । स्पाइनल कर्डको नसा च्यापिएका कारण लेख्दा हात दुख्ने समस्या देखियो । त्यसपछि सीधा राखेर लेख्न–पढ्न थालेको छु । यो समस्याले गर्दा पहिलाको लेख्ने, पढ्ने डेस्क राम्रो रहेछ भन्ने लाग्छ । पहिला–पहिलाका सबै स्कुलमा लेख्ने, पढ्ने डेस्क माथितिर उठेका हुन्थे ।

सामान्य खाजा खान्छु
थेरापीपश्चात् चिया पिउँछु । कहिलेकाहीँ चियासँग रोटी अथवा बिस्कुट खान्छु । मलाई खाजामा यही चाहिन्छ भन्ने केही छैन । घरमा जस्तो उपलब्ध हुन्छ, त्यस्तै खान्छु । अमिलो पिरो खाँदिन । पिरो नभएजस्तो पनि खान्छु । पिरोले पेटलाई खराब गर्ने भएकाले खाँदिन ।

दालभात खान्छु
मैले खाने खाना साधारण हुन्छ । रुटिन बनाएर खाना खाने गरेको छैन । घरमा उपलब्ध भएको चिज खान्छु, साधारण नेपालीले खाने खाना दालभात, तरकारी । मलाई मनपर्ने खाना पनि यही नै हो । हाम्रो घरमा बन्ने खाना नै यही हुन्छ । घरमा जे बन्छ त्यही खाने हो । सामान्यतया मैले खाना खाने समय भनेको १२ बजे हो ।

दिउँसो
दिउँसोको खाजा पनि नियमित रूपमा यही खाने भन्ने हुँदैन । चिया, बिस्कुट अथवा रोटी खान्छु । कार्यक्रमको सिलसिलामा बाहिर गएँ भने त्यहाँ दिइएको खाजा पिरो नभए खान्छु ।

साँझ
साँझमा पनि म दालभात, तरकारी नै खान्छु । हामी नेवार जातिमा भात नै खाने चलन छ । त्यसैले, घरमा भात नै पाक्छ । घरबाहिर जाँदा जे भेटिन्छ त्यही खान्छु । म खाली पेट बस्दिनँ । समय–समयमा खानेकुरा खाइरहन्छु ।

हप्ताको एक वा दुईपटक मासु
हप्तामा एक–दुईपटक घरमा मासु पाक्छ । खसीको मासु कम खान्छु । कुखुरा अथवा माछा खान्छु । डाक्टरले रेडिमेड मासु नखानु भनेकाले कहिलेकाहीँ राँगाको मासु मात्र खान्छु । हप्तामा एकपटक अन्डा खान्छु । अन्डामा कोलेस्ट्रोल हुने भएकाले डाक्टरले धेरै नखान सुझाब दिएका छन् ।

दूध, दही
नेवार समुदायमा प्रायः दही खाइन्छ । खानामा प्रायः दूध खान्छु । बाल्यकालदेखि भातसँग दूध खाने बानी छ ।

समयको व्यवस्थापन
कार्यक्रमको अवस्था हेरेर समयको व्यवस्थापन गर्ने गरेको छु । कहिलेकाहीँ अलि बढी चाप हुन्छ । कार्यक्रममा सहभागी हुँदा उपलब्ध चीजहरू नै खान्छु । समयको व्यवस्थापन नै गर्न नसक्ने गरी काम हुँदैन ।

फलफूल खान्छु
घरमा उपलब्ध भएसम्म फलफूल खान्छु । नियमित यो फलफूल खाने भन्ने छैन । पिरो नखाने भएकाले कार्यक्रममा पनि मलाई फलफूल नै दिन्छन् ।

रक्सी पिउँदिन
म रक्सी पिउँदिन । हाम्रो संस्कारमा रक्सीको विशेष महत्व हुन्छ । यसलाई सगुनको रूपमा लिइन्छ । सानो छँदा अलिअलि पिइयो । पछि पिउन छाडेँ ।

पानी पिउँछु
पानी पर्याप्त पिउँछु । बिहान उठेपछि सानो ग्लासको एक ग्लास मनतातो पानी पिउँछु । चिया पिइरहन्छु । त्यसले गर्दा शरीरलार्र्ई पानीको मात्र पर्याप्त हुन्छ ।

१२ बजेतिर सुत्छु
म साँझ पढ्छु । दिउँसो आफन्त भेट्न आउनुहुन्छ । कहिले अन्तर्वार्ता हुन्छ । त्यसले गर्दा ढुक्कले पढ्ने वातावरण हुँदैन । कहिलेकाहीँ अलि चाँडो सुत्न खोज्दा निद्रा लाग्दैन । उठेर पढ्न बस्छु । सैद्धान्तिक, राजनीतिक साहित्यिक पुस्तक पढ्छु ।

नियमित स्वास्थ्य जाँच
मैले नियमित स्वास्थ्य जाँच गराउँदै आएको छु । डाक्टरको सल्लाहअनुसार समय–समयमा जाँच गराउँछु । १० वर्षदेखि प्रेसरको औषधि सेवन गरिरहेको छु ।

बढ्दो उमेरले स्वास्थ्यमा समस्या
बढ्दो उमेरका कारण स्वास्थ्यमा समस्या देखिएको छ । बढ्दो उमेरसँगै पहिला उमेरमा हुँदा धेरै राजनीतिक संघर्ष गरियो । आजभोलि त्यसले गर्दा पनि स्वास्थ्यमा केही समस्या आइरहेको छ । त्यसवेला उमेर थियो, त्यसले गर्दा स्वास्थ्य समस्यालाई महत्व दिइएन । यद्यपि, स्वास्थ्यमा सामान्य समस्या मात्रै छ । स्वास्थ्यकै कारण काम गर्नका लागि बाधा परेको छैन ।

शरीरलाई खानेकुराले, विचारलाई साहित्यले ताजगी
जनताको सेवा तथा देशको हितका लागि काम गरिरहेको छु । अझै धेरै गर्नुपर्छ भन्ने चेतनाले स्फूर्ति दिन्छ । यस्तो काम जबर्जस्ती गर्न सकिँदैन । भित्री इच्छा हुनुपर्छ । आफ्नै चेतनाले गर्नुपर्छ । शरीरलाई खानेकुराले ताजगी बनाउँछ भने विचारलाई साहित्यले । जनता र देशको हितका लागि अझै गर्नु छ भन्ने सोचले सक्रिय बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया