सात करोड भ्रष्टाचार मुद्दामा अधिकृत ढकाल जेल चलान - Naya Patrika
eNaya Patrika
  • ePaper

सात करोड भ्रष्टाचार मुद्दामा अधिकृत ढकाल जेल चलान

नगरपालिकाको कोषबाट सीधै व्यक्तिगत खातामा रकम ट्रान्सफर

विशेष अदालतले सात करोड भ्रष्टाचार अभियोगमा उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृतलाई जेल चलानको आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले रविनचन्द्र ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

लेखा अधिकृत ढकालले सात करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दर्ताअघि आयोगले ढकालमाथि ६ महिना अनुसन्धान गरेको थियो । सोही भ्रष्टाचार मुद्दामा इलामको माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाललाई भने १५ लाख धरौटीमा तारेखमा छाड्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए । ‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुईवटा मुद्दा दर्ता भएका छन्, विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले भने ।

लेखा अधिकृत ढकालले सेवा प्रवेश गरेको दुई वर्षमा माई नगरपालिका इलाम र कटारी नगरपालिकाको लेखा अधिकृत हुँदा करोडौँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दर्ता गराएको थियो । अख्तियारले ढकाललाई १२ वैशाखमा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । सिन्धुलीका ढकालले १५ मंसिर ०७२ मा सेवा प्रवेश गरेका हुन् ।

ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात बनाई कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत खातामा तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७ लाख रुपैयाँ जम्मा गरेको अख्तियारको दाबी छ । उनलाई भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार आठदेखि १० वर्षसम्म जेल सजाय र बिगोको अनुपातमा जरिवाना माग गरिएको थियो ।

कार्यकारी अधिकृतको नामको दस्तखत आफैले गर्ने र राजस्व तिरेको बैंक भौचरसमेत किर्ते गरी इलामको माई नगरपालिकामा पनि तीन करोड २४ लाख ५६ हजार एक सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग ढकालमाथि लागेको छ । लेखा अधिकृत ढकालले सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असाहय, अशक्त, विपन्न दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको सात करोड रुपैयाँ श्रीमती, सासू र काकीको खातामा फेला पारेपछि अख्तियारले विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा अधिकृत ढकाल, उनकी श्रीमती रिना, आमा प्रेमकुमारीको नाममा रहेको जग्गा तथा उनीहरूका नाममा रहेको बैंक मौज्दातसमेत जफत गर्न अख्तियारले अदालतमा माग गरेको छ ।

सामाजिक सुरक्षा भत्ताको चार करोड निजी खातामा
ढकालले इलामको माई नगरपालिकाबाट उदयपुरको कटारी सरुवा भएपछि डेढ महिनामै सामाजिक सुरक्षा भत्ताको चार करोड निजी खातामा राखेको खुलेको छ । ढकाल एक वर्ष नौ महिना माई नगरपालिकामा बसेर कटारीमा सरुवा भएका थिए । अख्तियारले कटारी र माई नगरपालिका दुवैको फाइल झिकाएर छानबिन गरेको थियो ।

कटारी नगरपालिकाको नाममा विनियोजित एक करोड ९८ लाख ७५ हजार रुपैयाँ गत २२ फागुनमा निजी खातामा स्थानान्तरण भएको थियो । २६ चैतमा त्यति नै रकम ढकालले पुनः आफ्नो खातामा पठाएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको अनुसन्धानबाट भेटिएको छ । कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । ढकालले आफन्तका नाममा किनेको जग्गा र उनीहरूको बैंक रकम पनि अख्तियारले रोक्का गरेको छ ।

सुरुमा सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि इलामको माई नगरपालिकामा सरुवा भएका थिए । ढकाल १४ महिनाको बीचमा झन्डै चार करोड रुपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन गरेको थियो ।

दुई वर्षमा ढकालले कसको नाममा जग्गा किने
भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ । यता, झापा हल्दीबारी गाउँपालिका (पाराखोपी)–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र ८ धुर जग्गासमेत भेटिएको छ । यी सबै कित्ताका जग्गा रोक्का भएका छन् । ललितपुरको झरुवारासीमा ढकाल दम्पतीको नाममा ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा पाँच आना १ पैसा तीन दाम जग्गासमेत अख्तियारले  रोकिदिएको छ ।

कसको खातामा कति रकम ट्रान्सफर ?
ढकालले आमा प्रेमकुमारीको नाममा सिन्धुलीस्थित एनआइसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रुपैयाँ, सासू तुलसादेवी आचार्यका नाममा काठमाडौं पुलचोकस्थित एनआइसी बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, ढकालकै नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा राखिएको २७ लाख, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा १३ लाख, काकी सावित्री ढकाल प्याकुरेलको नाममा भक्तपुर नगरपालिका–९ स्थित दधिकोटमा किनेको ६० लाखबराबरको चार आना जग्गा र बैंक खाता रोक्का गरिएको छ ।

यस्तै, ढकालका साढुको नाममा ‘ट्रान्सफर’को आशंकामा एक करोड ५० लाख र अन्य आफन्तको नाममा रहेको ७५ लाख बैंक रकम पनि अख्तियारले रोक्का गरेको छ । बैंकमा नवविवाहित पत्नीको नाममा रहेको १ करोड २७ लाख र साथीकी पत्नीको नाममा रहेको ३० लाख रकम पनि शंकास्पद रहेको अख्तियारको दाबी छ ।

तपाईको प्रतिक्रिया