एमालेको धुरीमा बसेर हेरेको मान्छे हुँ सबका तीन पुस्ता खोलिदिन सक्छु : विष्णु रिमाल - Naya Patrika
eNaya Patrika
  • ePaper

एमालेको धुरीमा बसेर हेरेको मान्छे हुँ सबका तीन पुस्ता खोलिदिन सक्छु : विष्णु रिमाल

अभियोग – १

भौतिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ठुल्ठूला पर्खाल छन् । तर, एमाले नेता–कार्यकर्ता भन्छन्– कंक्रिटका ती पर्खालभन्दा जब्बर विष्णु रिमालको पर्खाल छ, जसले प्रधानमन्त्री र कार्यकर्ताको दूरी अस्वाभाविक रूपमा बढाउँदै छ ।

साथीहरूले सल्लाहकारको समूह र स्वकीय सचिवालय फरक–फरक निकाय हुन् भन्ने बुझ्नुभएको छैन । प्रधानमन्त्रीलाई भेट्ने कुरा मेरो तहबाट हुँदैन, म सल्लाहकार समूहको सदस्य हुँ । स्वकीय सचिवालयबाट भेटघाटको व्यवस्थापन गरिने हो । सल्लाहकार समूहका तर्फबाट जनसम्पर्क सल्लाहकारले यसमा सहजीकरण गर्ने हो ।

त्यो पनि उहाँ एक्लैले निर्णय गर्ने होईन । प्रधानमन्त्रीको सचिव र उपसचिवलगायतको टिमबाट भेटघाटको व्यवस्था मिलाइन्छ । यो कुरा साथीहरूले नबुझेका कारण प्रधानमन्त्रीलाई भेट्न नपाउँदा ‘को होला त यस्तो गर्ने’ भन्ने हुँदाखेरि ‘विष्णु रिमाल नै होला, ठोकिदऊँ त यसैलाई’ भन्ने सोचेर यस्तो आरोप आएको हुन सक्छ ।

यो कुरा साथीहरूले बुझिदिएको भए यसरी टिप्पणी गरिरहनुपर्दैनथ्यो । अब उहाँहरूले हेर्दाखेरि म नै देखिएको छु । सल्लाहकार र स्वकीय सचिवालयमा धेरै साथीले भिन्नता देख्नुहुन्न, बुझाइमा खाल्डो परेका कारणले यस्ता कुरा आएका होलान् ।

अर्को कुरा, पार्टीको नेता प्रधानमन्त्री हुँदा र नहुँदा धेरै फरक हुन्छ । प्रधानमन्त्री हुँदा कार्यकर्तासँगै थप मान्छेलाई पनि भेट्नुपर्ने हुन्छ । राज्यका धेरै निकायसँग जोडिनुपर्छ । प्रधानमन्त्रीले एकैपटक धेरै मान्छे भेट्नुपर्ने अवस्थामा मैले सुझाब दिनुप-यो भने के भन्छु भने उपप्रधानमन्त्री, मन्त्री, सचिवलगायत ब्युरोक्रेसीका मान्छेलाई पहिलो प्राथमिकतामा राखेर भेट्नुपर्छ ।

त्यसो नभए राज्य चल्दैन । पार्टीका त अरू अंगहरू छन् नि । पहिला पनि धेरै साथी मन्त्री हुनुभएको छ, प्रधानमन्त्री हुनुभएको छ । पहिला पार्टी सक्रिय थियो, पार्टीका विङहरूले काम गर्थे, त्यसकारण प्रधानमन्त्रीलाई लोड पर्दैनथ्यो । अहिले पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, अर्को अध्यक्ष पनि हुनुहुन्छ । तर, तलका कमिटीहरू एकताका कारण बनिसकेका छैनन् । त्यसकारण सबै कुरा यहीँ आएर थुप्रिएका छन् ।

मैले हाम्रा नेता–कार्यकर्तामा एउटा समस्या के पाउँछु भने अझै पनि हामीले प्रणालीप्रति विश्वास जगाउन सकेका छैनौँ । ‘फलानालाई भनेपछि मात्रै काम हुन्छ’ भन्ने बुझाइ छ । सिंहदरबारमा आएर हेर्नुभयो भने यसको तस्बिर देखिन्छ । उदाहरणका लागि दलको उपनेतालाई भेटेर ‘यस्तो–यस्तो समस्या छ, यसलाई सम्बोधन गर्नुप-यो’ भन्छन् ।

उहाँले टिप्नुहुन्छ । उपनेताका हैसियतले उहाँले ती विषय प्रधानमन्त्रीलाई भन्नुपर्ने भए प्रधानमन्त्रीलाई भन्नुहुन्छ होला । मन्त्री र सांसदलाई भन्नुपरे उहाँहरूलाई भन्नुहुन्छ होला । तर, नेता–कार्यकर्ताले त्यो पत्याउनुहुन्न । उपनेतालाई भेटेर बाहिर निस्कँदा उहाँहरूले जो मन्त्रीलाई भेट्नुहुन्छ, उहाँलाई फेरि त्यही कुरा भन्नुहुन्छ । अर्को कुनामा अर्को मन्त्री भेटिए त्यही भन्नुहुन्छ ।

सल्लाहकार भेटिए त्यहाँ पनि भन्नुहुन्छ । पिएदेखि मन्त्रीसम्म जो–जो भेटिनुहुन्छ, सबैलाई भन्दै जाने चलन हाम्रा साथीहरूको छ । प्रणालीप्रतिको अविश्वासका कारण एउटै मान्छेलाई घन्टौँ इन्गेज गर्ने यो परिपाटी चलेको हो । त्यसकारण मैले भेट भएका साथीहरूलाई ‘प्रणालीमा विश्वास गर्नुहोस्, लाइनमा बसेपछि टुंगोमा पुगिन्छ’ भन्ने गरेको छु ।

अभियोग – २

प्रधानमन्त्री केपी ओलीलाई अत्यन्तै साँघुरो घेरामा राख्नुभएको छ, त्यहाँबाट बाहिर निस्कन दिनुहुन्न । कांग्रेसलगायतका विपक्षी होइन, हिजोको माओवादी र फरक गुटका माधव नेपाल खेमाका मान्छे पनि होइनन्, जिन्दगीभर ओली भनेर हिँडेका नेता–कार्यकर्ताले समेत बालुवाटारमा पहुँच पाएका छैनन् । गुटकै कार्यकर्तामा समेत चरम असन्तुष्टि छ ।

मैले अघि पनि भनेँ नि– जो साथीहरूले कुरा बुझ्नुभएको छैन, उहाँहरूले यस्ता आरोप लगाउनुभएको हो । त्यसमा एउटा अर्को कुरा प्रस्ट ढंगले बुझ्न जरुरी के छ भने हाम्रा प्रधानमन्त्री केपी ओली अरू कसैको धारणामा चल्ने मान्छे होइन । उहाँसँग प्रेसको युनिट छ यहाँ, त्यसले आफ्नो ठाउँमा काम गरिरहेको छ ।

त्यो युनिटले सूचना पनि दिने गरेको छ । तर, त्यो सूचनाभन्दा माथि उहाँ आफैँ सूचना खोज्नुहुन्छ । प्रधानमन्त्रीको शैली यो हो । त्यसकारण कसलाई कुन वेला भेट्ने–नभेट्ने भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीको जानकारीबेगर त केही पनि काम हुन्न । सल्लाहकारहरूले ‘यस्ता छन् कामहरू, यसमा यसरी फोकस गर्नुपर्छ’ भन्ने हो ।

तपार्इंलाई सुन्दा रमाइलो लाग्ला, कहिलेकाहीँ हामी आफैँ पनि राति १–२ बजेसम्म कुरेर बस्छौँ । किनभने, अरूहरूले भेट्ने समय हामी अतिक्रमण गर्दैनौँ । कमसेकम बाहिरबाट आउने कार्यकर्ता, नेता, मन्त्री अथवा गैरपार्टी कार्यकर्ता हुनुहुन्छ भने प्रधानमन्त्रीको योजनाअनुसार उनीहरूले भेटिसकेपछि मात्रै सल्लाहकार र सचिवालयका साथीहरूले भेट्ने विधि हामीले बनाएका छौँ । रहर मानेर त हामी राति एक बजेसम्म त बस्दैनौँ नि ।

यो कुरा मान्छेहरूले बुझिरहेका छैनन् । प्रधानमन्त्रीले काम गरेन पनि भन्ने, अनि काम गर्ने ‘प्राइम टाइम’मा चाहिँ भेटघाट गर्नुप¥यो पनि भन्ने । भेटघाटको जम्माजम्मी विषयचाहिँ निजी कुरा मात्रै हुने । त्यो निजी कुरा प्रधानमन्त्री आफैँले गर्ने पनि होइन ।

मानिलिनुस्, कुनै मानिस बिरामी छ र उसको उपचार गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालयको कुन शाखाबाट सहायता जान्छ त्यहीँ भने त भइहाल्यो नि । प्रधानमन्त्रीको निजी सचिवालयमा निवेदन दिए पनि भयो नि । कुर्नु त प-यो नि । तर, मान्छेहरूलाई के लाग्छ भने प्रधानमन्त्रीलाई भनेपछि मात्रै हुन्छ । यही भ्रमले नै कुरा खाल्डोमा परेको हो ।

अभियोग – ३

देश र जनताका लागि भनेर राजनीति गर्नुहुन्छ । तर, भूगोलमा गएर कहिल्यै काम गर्नुहुन्न । नेता जनताबाट परीक्षित हुने निर्वाचनमा उत्रिन सधैँ डराउनुहुन्छ । शक्तिमा रहेका नेताको फेरो समातेर लाभका पद पड्काउनुहुन्छ ।

योचाहिँ ती साथीहरूको दुराग्रह हो, जसले यस्तो आरोप लगाइरहनुभएको छ । उहाँहरूले मैले जस्तो एउटा संस्था बनाएर देखाए भयो नि त । कुनै समयमा ट्रेड युनियनमा कोही पनि जान चाहँदैनथ्यो, त्यो त मैले गरेँ जस्तो लाग्छ । पहिलो कुरा, आज नेपालमा रहेका कुनै पनि संस्थाभन्दा मैले स्थापना गरेको र यो तहसम्म पु¥याएको संस्थालाई तुलना गरेर हेरौँ भन्ने मेरो दाबी छ ।

दोस्रो कुरा, अरूभन्दा मेरो एउटा शैली फरक छ । त्यो के भने म अर्काले फाँडेको बारीमा खेती लगाउन जान्नँ । मैले कहिल्यै पनि नुवाकोटमा काम गरिनँ । त्यसैले मलाई पटक–पटक नुवाकोटबाट टिकट दिन्छु भन्दा पनि जान चाहिनँ ।

किनभने, त्यहाँ खोरिया खन्ने काम नुवाकोटे साथीभाइले गरेका हुन् । मभन्दा जुनियर होलान्, मभन्दा अयोग्य होलान्, जेसुकै होस्, तर पनि उहाँहरूले खनेको खोरियामा जान मलाई मन लाग्दैन । आफैँले बाँडेको खोरियामा म दाबी गर्छु ।

अहिले धेरै साथीहरू ‘निर्वाचित भएर आएँ’ भनेर धाक लगाउनुहुन्छ । उहाँहरू भूगोलबाट जितेर आउनुभएको छ, हेरौँ न त हामी पनि । मैले ‘एग्रेसिभ्ली’ जवाफ दिँदाखेरि त्यो भन्नुपर्छ । धेरै साथीहरू अर्काले खेती खनिदिएर, सम्याएर, पानी लगाएर बाली लहैलहै हुने वेलामा गएर हली बन्नुभएको छ ।

अनि, ‘ल हेर, मैले कति राम्रो बाली लगाएँ’ भनेर आउनुभएको छ । मेरो चाहिँ त्यो स्वभाव, शैली होइन । त्यसकारण म त्यतातिर जान पनि रुचाउन्नँ । नेताहरूले र पार्टीले मलाई जहाँ आवश्यक ठान्छन्, म त्यहीँ जान्छु । र, मेरो आवश्यकता महसुस गरिएको ठाउँमा मैले काम पनि गरेको छु । त्यसमा अरूले डाह किन गर्ने भन्ने मात्रै मेरो जवाफ हो ।

अर्को कुरा, जनता भनेको को हो ? म त ३० वर्ष सबैभन्दा गरिब जनताको बीचमा काम गरेर आएको छु । इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छे, हुँदाखाँदाको जागिर छाडेर श्रमिक, कुल्ली–कबाडी भनिनेहरूका बीचमा काम गरेर आएको छु । कोही अरूले गरेर देखाओस् त ।

हाम्रा कतिपय नेता–कार्यकर्ता आफूलाई कम्युनिस्ट देखाउन वर्षमा एकपटक श्रम शिविरमा जानुभयो भने गफ लगाउनुहुन्छ । म त चौबिसै घन्टा श्रम शिविरमा काम गरेर आएको मान्छे हुँ । को जनताको बीचमा गयो भन्ने हिसाबकिताब गरे सबै थाहा हुन्छ ।

सडकमा हल्लिएर हिँड्ने र आफ्नो संस्था आफैँ बनाउनेको भिन्नता देखिइहाल्छ नि । मैले चलाएको संस्थामा त तीन–चार सयलाई प्रत्यक्ष रोजगारी त मैले दिएको छु । ट्रेड युनियनबाट तत्कालीन एमालेमा नेता भएर जाने धेरैलाई पारिश्रमिक एमालेले दिएको छैन, त्यो संस्थाले दिएको छ । हामीले संस्थाबाट हटेर जानुभएका धेरै साथीलाई लामो समयसम्म पेन्सन दिएर राखेका छौँ । कसैले गरेको भए त आए भयो नि, मैले पनि यसो गरेको छु भनेर ।

केही काम नगर्ने, गफ मात्रै लगाउनेले त धेरै कुरा भन्छन् । हो, मलाई टेलिभिजनमा देखिन उछिनपाछिन गरेर जान मन लाग्दैन । कसैलाई रिक्वेस्ट गरेर अन्तर्वार्ता लिन आऊ भन्न मन लाग्दैन । सकेसम्म मिडियामा जान नपरे हुन्थ्यो भन्ने ठान्छु । मलाई सेलेब्रिटी बन्न मन लाग्दैन । मेरो चरित्र, मेरो स्वभाव त्यो हो । पर्दापछाडि नै बसेर काम गर्न मन लाग्छ ।

कसैले नचिन्दा फाइदा हुन्छ जस्तो लाग्छ । काम गरेपछि परिणाम आओस् भन्ने चाहना राख्ने मान्छे हुँ । जनतामा गएन भन्ने आरोपका सन्दर्भमा एउटा अर्को कुरा पनि यहाँ भन्दा ठीक होला जस्तो लाग्यो । जनपक्षीय निर्वाचन भनेर ०४२/४३ देखि अहिलेसम्म भएका प्रत्येक चुनावसम्ममा सबै मान्छे सेलेब्रिटी पल्टेर फ्रन्टलाइनमा भाषण ठोक्न जाँदा केन्द्रीय कार्यालयमा बसेर चुनावका रणनीति कसले बनायो भनेर हिसाब गरे हुन्छ ।

पहिलेदेखि अहिलेसम्म, सफल भएका र असफल भएका चुनावसम्म पनि । मलाई सम्झना छ, कुनै समयमा त मेरो पार्टीको घोषणापत्र डिफेन्ड गर्ने एकजना पनि काठमाडौंमा पाइँदैनथ्यो, त्यतिखेर पनि हामी बसेका छौँ । त्यो मेरो पार्टी र मेरा साथीहरूका लागि गरिएको थियो । मेरा साथीहरू गाउँमा चुनाव जितिरहँदाखेरि म सोसल साइटमा फोटो छापेर बस्थेँ ।

त्यसबाट मलाई के फाइदा थियो र व्यक्तिगत रूपमा ? चाहेको भए मेरै फोटो छाप्ने ठाउँमा थिएँ होला नि । तपार्इंले भनेझैँ चाहेको भए नेताहरूको फेरो नै समातेर रोई–कराई गरेको भए संघीय संसद् भन्ने ठाउँमा कतै न कतै, कुनै कुनामा मेरो अनुहार पनि टाँसिन्थ्यो होला नि । तर, मैले त्यस्तो रुचाइनँ । त्यसकारण यो प्रश्नमा यसरी नै उत्तर दिँदा सोध्नेलाई पनि ठीकै जवाफ हुन्छ कि जस्तो लाग्यो ।

अभियोग – ४

जनताले मात्रै होइन, कार्यकर्ताले पनि तपार्इंलाई विश्वास गर्दैनन् । नवौँ महाधिवेशनमा सचिवमा पराजित हुनुभयो । तर, आफ्नो विपक्षमा रहेका नेता–कार्यकर्तासँग राजकीय शक्तिको आडमा वेलावला प्रतिशोध साँध्ने कोसिस गर्नुहुन्छ ।

म नवौँ महाधिवेशनको व्यवस्थापन कमिटीको सदस्य थिएँ । ममाथि ‘हाइटेक’ भनेर आरोप लगाइएको थियो । त्यतिखेर जम्माजम्मी के मात्रै गरिएको थियो भने नक्कली प्रतिनिधि र नक्कली भात खानेलाई छिर्न दिइएको थिएन । म फेरि मौका पाए भने त्यही गर्छु, नक्कली काम हुन दिन्नँ । मैले चुनावमा अहिलेका प्रधानमन्त्रीको प्यानलबाट आफ्नो नाम समावेश गरेको थिएँ ।

जुन ठाउँबाट मैले आफूलाई प्रतिनिधि बनाएको थिएँ, त्यो संस्थाको भेला गरेर ‘यो संस्थाका प्रतिनिधि हरिदत्त जोशी, उद्धव केसी हुन्, उहाँहरूलाई हाम्रो संस्थाबाट आउने सबै प्रतिनिधिले भोट हालेर जिताउन पहल गरौँ । मचाहिँ कमरेड केपी ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेको छु, यो मेरो निजी च्वाइस हो ।

भोट दिन मन लागे दिनुस्, मन नलागे नदिनुस्’ भनेँ । र, व्यवहारमा पनि त्यही गरेँ, एकजनासँग मलाई भोट दिनुस् भनिनँ । जो–जोले दिनुभयो, धन्यवाद छ । ज–जसले दिनुभएन, उहाँहरूसँग पनि मैले कुनै गुनासो गरेको छैन । म मतगणनामा पनि पूरै बसेँ, कतिपय अहिलेका दिग्गज साथीहरू तिघ्रा ठटाएर बस्नुभएको थियो नि । मैले त हार्दा पनि जित्दा पनि कुनै गुनासो गरिनँ ।

म शिष्ट र स्वच्छ खालको प्रतिस्पर्धामा विश्वास गर्ने मान्छे हुँ । तिगडमबाजी गरेर हिरो पल्टिनेहरूप्रति मेरो विश्वास छैन । कोही साथीहरूलाई मैले पावरका आडमा प्रतिशोध साँधेको भए आउँदा हुन्छ, कुरा गरौँ ।

अभियोग – ५

प्रधानमन्त्रीको आडमा पर्दापछाडिबाट गोली चलाउनुहुन्छ । आफैँ संगठन गर्ने शक्ति छैन, ओलीको नामबाट हैकम चलाउनुहुन्छ । आफ्ना समकक्षी र सिनियर नेताहरूलाई रेस्पोन्स नगर्ने मात्रै होइन, वेला–वेला अपमानितसमेत गर्नुहुन्छ ।

म जिम्माभन्दा बढी काम गर्दिनँ । फलानोलाई चिन्छु भनेर मन्त्रालयहरूमा फाइल बोकेर विकासे एजेन्टजस्तो हिँड्न मलाई मन लाग्दैन । आज पनि गर्दिनँ, भोलि पनि त्यो काम गर्दिनँ । मैले भेट्दा सबैै नेतालाई सम्मान गर्छु । मैले गर्ने उहाँहरूको काम गर्छु । उहाँहरूको फोन नउठाउने कुरा पनि भएन ।

तर, कोही साथीहरू प्रणालीभन्दा बेगर ढंगले जानुभयो भने त्यसमा म सहयोगी बन्न सक्दिनँ । कुनै पनि सिनियर नेतालाई मैले अपमान गर्नुपर्ने जरुरी छैन, कोही सिनियरले त्यस्तो ठान्नुभएको छ भने गलत ठान्नुभएको छ, भेटेर कुरा गरौँला । समकक्षी त समकक्षी नै भइहाल्नुभयो । उहाँहरूसँग जिन्दगीभर काम गर्नु छ । उहाँहरूसँग किन तल–माथि गर्थें हुँला र ?

मैले अघि पनि भनेँ नि– सामाजिक सञ्जालमा मेरा साथीहरूको फोटो टाँसेर बस्ने मान्छे हुँ म । चुनावमा जितेर आउने माननीय भएर माथि जान्छ, त्यति त म पनि बुझ्थेँ होला नि । तिनका फोटो सोसल मिडियामा टाँसेर किन बस्थेँ ? उहाँहरूले नचिताएको भिडियो विज्ञापन बनाएर किन बस्थेँ चुनावका वेला ? मैले मेरो पार्टीका लागि गरेको हो नि ।

मलाई निजी कुनै लेनादेनाको मतलब छैन । म के चुनौती दिन चाहन्छु भने ‘एकदम त्यागी छु, सफा दिलको छु’ भन्ने साथीहरूको पारिवारिक स्थिति र मेरो स्थितिको तुलना होस् । साथीहरूले गरेको व्यवहार र मैले गरेको व्यवहारको तुलना गरोस् कुनै स्वतन्त्र निकायले, त्यतिवेला म खाल्डोमा पर्ने वा नेगेटिभ साइडमा पर्ने हो भने जम्मै थोक छाड्न पनि तयार छु । आँटका साथ चुनौती नै दिन चाहन्छु यसमा ।

अभियोग – ६

पार्टीका औपचारिक निर्णयभन्दा गुटका आदेश मान्नुहुन्छ । एमाले–माओवादी एकीकरण प्रक्रियापछि स्थायी समितिले अधिवेशन रोक्न दिएको निर्देशन अवज्ञा गर्दै जिफन्टको महाधिवेशन गरेर आफूनिकट विनोद श्रेष्ठलाई अध्यक्ष बनाउनुभयो । जब कि बाँकी जनसंगठनका अधिवेशन मात्रै होइन, भेला–बैठकसमेत रोकिए ।

यो कुरा त पार्टीको हेडक्वार्टरले सोधे भइहाल्यो नि मलाई । किन सहमति दिएको थियो त मलाई ? ट्रेड युनियन भनेको अरू जनसंगठनजस्तो होइन । अहिले पनि अरू जनसंगठनभन्दा पृथक् हुन्छ ट्रेड युनियनको एकीकरण । किनभने, यी वैधानिक विधिबाट जान्छन् ।

कतिपय साथीहरूले संगठन हारहुरमा बनाउनुभएको छ । कुनै विधि छैन, अडिट हुँदैन । कतै गएर दर्ता गर्नु पर्दैन । जिफन्ट त ट्रेड युनियनअन्तर्गत दर्ता भएको संस्था हो । अलिकति तल–माथि हुँदा दर्ता खारेज हुन्छ, प्रोपर्टी जिरोमा जान्छ । चौबिसै घन्टा काम गर्ने संस्थाको म नेता हुँ ।

त्यसकारण यो संस्थाको चरित्र नबुझ्नेले लगाएको आरोप हो यो । एक समय ‘मजदुर भएर गाडीमा हिँड्ने ?, मजदुर भएर टाई बाँध्ने’ भन्थे नि । ‘मजदुरले के गर्ने लँगौटी लगाएर हिँड्ने’ भनेर जवाफ दिन्थेँ मैले । भोलिका दिनमा कतिपय संस्थाको संयुक्त रूपमा कमिटी बनेर जान्छ होला, ट्रेड युनियनमा त एउटा प्रक्रिया सुरु भइसक्यो ।

उहाँहरूले तलबाट एकीकरण गर्दै आइरहनुभएको छ । माथिबाट संयुक्त संयोजन समिति बनाएर काम गरिरहनुभएको छ । तरिका त त्यही हो । ‘मेरो साँचोमा तँ हिँड्’ भन्ने केही साथीको आग्रह छ र त्यसलाई नै आरोप लगाइरहनुभएको छ भने कुरा बुझ्नुप-यो । आरोप मात्रै लगाएर भएन नि । त्यसमा त गुटको कुरा कहाँबाट आउँछ र ? त्यतिवेला पनि एमाले नै थिएँ । एमालेले रोक भनेको भए मैले कसरी मिच्न सक्थेँ र ?

अभियोग – ७

गुटको साँघुरो घेराभन्दा बाहिर निस्कनुहुन्न । फरक गुटका वा विपक्षमा रहेका नेता–कार्यकर्ताप्रति असहिष्णु हुनुहुन्छ । गुटका नेताको प्रतिरक्षा गर्न जस्तोसुकै स्तरमा पनि उत्रिनुहुन्छ । ‘केपी ओली र प्रचण्डले सक्रिय राजनीति छाडेर अर्को पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ’ भन्दा तत्कालीन एमालेका सचिव योगेश भट्टराईको सामाजिक सञ्जालमै कडा प्रतिकार गर्नुभयो ।

गुटभन्दा माथि भएका साथीहरूले यस्तो कुरा गरेको भए बसेर कुरा गरौँला । तर, आफैँ गुटमा बसेर अरू गुटलाई गाली गर्ने हो भने त्यो अलि सुहाएन । ऐनाको घरभित्र बसेर अरूलाई ढंगा हानेको जस्तो हुन्छ त्यो । कोही साथीहरूले गुटमा बसेर गुटको कुरा गर्नुभएको छ भने को कति गुटबाज छ भनेर हिसाबकिताब गरौँला । यसमा म थप जवाफ दिन आवश्यक ठान्दिनँ ।

म पार्टीका जुनसुकै गुटका नेतालाई पनि सार्वजनिक ठाउँबाट कसैले टिप्पणी गरेको सहन सक्दिनँ । त्यो मलाई मन पर्ने होस् वा मन नपर्ने नेता होस । त्यतिवेला म पार्टी भनेर हेर्छु । अहिले पनि नेकपाको कुनै पनि नेताको विपक्षमा अनावश्यक कमेन्ट ग-यो भने एउटा लेबलसम्म चुप लाग्छु । त्यो लेबलभन्दा माथि गयो भने सिंगल र सिम्पल जवाफ दिन्छु ।

सिंगल जवाफभन्दा बढी पनि दिन्नँ । त्यही जवाफबाट रन्थनिएर अरूले के–के गर्छन्, मलाई मतलब हुँदैन । पत्रिकाले के लेख्छन्, त्यो पनि हेर्दिनँ । त्यसको जवाफ दिन आवश्यक पनि ठान्दिनँ । बरु, पर बसेर त्यसको लेबल कति छ हेर्छु । मान्छेको लेबल बुझेपछि धेरै कुरा गर्नु पर्दैन भन्ने ठान्छु ।

जहाँसम्म तपाईंले मेरा एकजना प्रिय साथीबारे मैले सामाजिक सञ्जालमा गरेको टिप्पणीको कुरा उठाउनुभयो, त्यसमा प्रवेश गरेर अहिले समयलाई थप विषाक्त बनाउन आवश्यक ठान्दिनँ । मेरो विचारमा त्यसको भरपुर स्पष्टीकरण सबै त्यहाँबाट भइसकेको हुनुपर्छ ।

अभियोग – ८

सल्लाहकारका रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेर सिंहदरबारका मन्त्रीहरूको हुर्मत लिनुभएको छ । विभागीय मन्त्रीलाई समेत जानकारी नदिई सचिवलाई बोलाएर वा फोन गरेर निर्देशन दिने गर्नुहुन्छ । जसले गर्दा मन्त्रीहरूले काम गर्ने सवालमा ‘ह्युमिलेट’ महसुस गरेका छन् ।

यसमा दुईवटा कुरा छन् । पहिलो, नयाँ पत्रिकाले ‘मन्त्रीहरूको मार्कसिट बनाउँदै प्रधानमन्त्री’ भनेर स्टोरी छाप्यो । यो कुराचाहिँ सम्पादन नगरिदिनुहोला है । स्टोरीमा मेरो कोट पनि छ । मसँग धेरै कुरा भएको होइन । तर, त्यो स्टोरीको सबै सूचना मैले नै दिएको हो, मैले नै बनाउन लगाएको हो भन्ने जस्तो प-यो ।

अर्को कुरा, म प्रधानमन्त्रीले दिनुभएको जिम्मेवारीअनुसार सबै काम गर्छु । त्यहाँ क–कसले तल–माथि गर्छन्, म बुझ्दिनँ । प्रधानमन्त्रीले मलाई निश्चित टिओआर दिनुभएको छ । मलाई दिएको जिम्मेवारीअनुसार सबै काम गर्छु ।

मन्त्रीहरू आफ्नो ठाउँको सबैभन्दा ठूलो कार्यकारी हुनुहुन्छ । त्यसमा मैले अतिक्रमण गर्नुपर्ने जरुरी नै ठान्दिनँ । योचाहिँ साथीहरूले बाहिरबाट लगाएको आरोप, टिप्पणी मात्रै हो । मन्त्रीजीहरूले त्यस्तो ठान्नुभएको होला भन्ने मलाई लाग्दैन ।

अभियोग – ९

नेता–कार्यकर्ता मात्र होइन, पार्टीनिकट पत्रकार पनि तपार्इंको गतिविधिबाट सन्तुष्ट छैनन् । केही समयअघि तपाईंसमेत उपस्थित रहेको प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेलामा ओली र प्रचण्डकै अगाडि प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयको तिखो आलोचना भयो ।

त्यो मलाई भनेको रहेछ ? (हाँसो) मैले बुझेको थिइनँ । मलाई भनेको रहेछ भने जवाफ दिउँला । ‘प्रधानमन्त्रीको टिम’ भनेको भएर कसको कति कमजोरी रहेछ हेरौँला भनेर हिसाबकिताब गरेर बसेको हुँ । सबैको जिम्मा मैले लिने कुरा भएन । साथीहरूलाई त्यस्तो किन प¥यो बुझ्नुपर्छ । मिडियामा रहेका साथीहरू गतिशील हुनुहुन्छ ।

मिडियामा रहेका हाम्रै पार्टीनजिकका साथीहरूले प्रधानमन्त्रीप्रति गर्ने टिप्पणी, अहिलेका प्रधानमन्त्री केपी ओलीप्रति टिप्पणी गरेर लेखिएका समाचार र हामी इन्डिभिज्युअलप्रति गरिएका व्यवहार पनि साथीहरूले हेर्नुपर्छ होला । त्यो तरिकाले जानु राम्रो हो कि होइन ?

उहाँहरू स्वतन्त्र पत्रकारका रूपमा ‘क्रिटिकल माइन्ड’ तयार गर्नलाई हिँड्नुभएको हो भने ठीकै छ, उहाँहरूले हामीसँग गुनासो गर्नुभएन, हामी पनि क्रिटिकल होऔँला । होइन, उहाँहरूले आपूmलाई पार्टीका नेता–कार्यकर्ता ठान्नुभएको छ भने उहाँहरू पनि सीमाभित्र बस्नुपर्ला । दोहोरो हातले ताली बज्ने हो, एकोहोरो त बज्दैन ।

हाम्रो प्रेस चौतारी, प्रेस सेन्टरमा आबद्ध साथीहरूसँग जोडिनुभएका कतिपय विधाबाट सरकारको पक्षमा वा विपक्षमा लेखिएका समाचार हामी हेरी नै रहेका छौँ । कतिपय फ्रेन्ड्ली होलान्, कतिपय अनफ्रेन्ड्ली होलान्, अनफ्रेन्ड्ली हो भने किन गर्नुपरेको हो ?

त्यो व्यावसायिकता त होइन होला उहाँहरूको पनि । त्यसो भएकाले साथीहरूले आपूmले पनि मूल्यांकन गर्नुप-यो । यो सरकारको समर्थन गर्ने दायित्व उहाँहरूको हो कि होइन ? सरकारको विरोधमा समाचार लेख्दा उहाँहरू स्वतन्त्र पत्रकार हुने अनि अघिपछिचाहिँ हामीले किन बोकेनौँ भन्ने हो भनेचाहिँ अलि मिल्दो कुरा भएन भन्ने लाग्छ मलाई । मेरो यसमा कुनै गुनासो छैन, साथीहरूले गुनासो राख्नुभएको छ भने बसेर सल्लाह गरौँला ।

अभियोग – १०

आफूलाई मजदुरको नेता भन्नुहुन्छ । तर, जीवनशैली मजदुरको जस्तो छैन । पुँजीपति र सामन्तीजस्तो छ । अहिले मजदुरका दुःख, सेवा र सुविधाका कस्ता छन् भन्ने पनि तपाईंलाई थाहा छैन ।

त्यस्तो आरोप लगाउने साथीहरूले मजदुर नै बुझ्नुभएको छैन । उहाँहरूलाई अलि पढाउनुपर्छ । श्रम आन्दोलन के हो ? श्रमिक के हो ? क–कसलाई श्रमिक भन्छन् ? संघसंगठन कस्तो हुन्छ ? ट्रेड युनियनले कसरी काम गर्छन् भन्ने उहाँहरूले केही पनि बुझ्नुभएको छैन । म दाबीका साथ भन्छु– एक–दुई महिना पढ्न आए हुन्छ, म पढाउँछु उहाँहरूलाई ।

सिँगाने केटाहरू मात्रै मजदुर देख्नुभएको छ उहाँहरूले । फाइभ स्टार होटेलमा काम गर्ने मजदुर कस्ता हुन्छन् ? मोटर कम्पनीमा काम गर्ने मजदुर कस्ता हुन्छन् ? बिमामा काम गर्ने मजदुर कस्ता हुन्छन् ? कुरा गरौँला नि यसमा त । नबुझ्नेहरूसँग कमेन्ट गरेर राम्रो हुँदैन । फेरि यो आरोप त कुनै नयाँ लाग्दैन । यस्तो आरोप धेरै भोग्दै आइएको छ, नबुझ्नेहरूको आरोप हो यो ।

०४६ सालको परिवर्तनपछि हामीले खुलामञ्चमा पहिलो मे डे मनाउँदा सबै श्रमिकको घाँटीमा टाई झुन्ड्याइदिएका थियौँ । रातो टाई । त्यो एउटा प्रतीक थियो । विजयको प्रतीक पनि थियो र श्रमिकहरूचाहिँ ‘वेलअफ’ हुनुपर्छ, समाजवादतिर जाने भनेको दरिद्रता बाँड्ने होइन भनेर सपना दिनका लागि पनि गरेका थियौँ ।

मनमोहन अधिकारीलगायत सम्पूर्ण नेता त्यो कार्यक्रममा हुनुहुन्थ्यो । धेरै पार्टीका धेरै नेताले ‘मजदुर भएर टाई बाँध्ने’ भनेर मलाई प्रश्न गर्नुभयो । मैले सोधैं, ‘मजदुर भएर गर्ने के ?’ उहाँसित जवाफ थिएन । त्यसपछि ट्रेड युनियनले पहिलोचोटि घर किन्यो । अनि ‘मजदुरहरूले घर किन्ने’ भनियो । मजदुरहरूले के पालमा गएर बस्ने ? त्यसपछि ‘मजदुरका नेताहरू गाडीमा हिँड्छन्’ भनियो ।

मैले भनेँ, ‘मजदुरका नेताहरू साहुजीहरूको नेतासरह हेलिकोप्टरमा उड्छन् । किनकि, म त त्यहाँ बसेर सम्झौता गर्छु । म कति लिने, कति दिने भनेर मेरा मजदुर र उनीहरूको जीवनका बारेमा फाइभ स्टारमा आमनेसामने बसेर व्यवसायीसँग कुरा गर्छु ।’ गरिब देश र धनी देशमा वार्ता हुँदा के हुन्छ ?

गरिब देशका प्रधानमन्त्री, मन्त्रीहरू नांगै जान्छन्, धनी देशका सँग कुरा गर्न ? जाँदैनन् नि, उनीहरू त्यही हैसियतमा जान्छन् नि । दुई पक्ष भनेको त्यही हो । श्रम सम्बन्धमा श्रम लगानी गर्ने र पुँजी लगानी गर्ने दुवै उत्तिकै हुन् ।

साथीहरू बुझ्नुहुन्न र के ठान्नुहुन्छ भने मजदुरका नेता भनेको त एउटा सिँगानेको जिम्मा लगाइदिनुपर्छ । ठेलागाडा ठेलिरहेको साथीलाई वार्ता गर्न लगाइदिनुपर्छ । अनि, उसले मेरो १० लाख तलब बढाइदिन्छ भनेर हिसाब गरेर हुन्छ त त्यो । कुरा नबुझ्नेको कुरालाई त के टिप्पणी गर्ने र ?

तपाईंले मेरो एउटा मजदुरलाई गएर सोध्नुस् न उनीहरूले के भन्छन् । अहिले कुन मजदुरले मैले मेरो कार्यकालमा गरेको कामको टिप्पणी गर्छ ? गएर सोध्नुस् न । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको सामाजिक सुरक्षाको हिसाबले सञ्चयकोषदेखि लिएर पेन्सनसम्मको बाटो खोल्ने गरी नियम–कानुन कसले बनायो भनेर सोध्दा हाम्रै नाम लिन्छन् होला नि त साथीहरूले ।

ठूलो एउटा विद्वान्को कुरा अहिले म याद गर्छु, उहाँ अहिले बित्नुभो, नाम लिन चाहन्नँ । उहाँ कम्युनिस्ट पार्टीमै हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई भन्नुभयो, ‘मैले धेरै सर्वहारा वर्गका बारे लेखेको छु, मजदुरका बारे लेखेको छु, साँच्चिकै सर्वहारा वर्ग कस्तो हुन्छ एकचोटि भेटाइदिनुहोस् न विष्णुजी ।’ उहाँ हाम्रै पार्टीको मभन्दा माथिको नेता हुनुहुन्थ्यो । यस्तै साथीहरूले मजदुरले के गर्ने भनेर टिप्पणी गर्नुहुन्छ । त्यस्ता साथीहरू धेरै भेटेको छु, त्यसकारण मलाई यसमा नौलो लाग्दैन ।

अभियोग – ११

सैद्धान्तिक र राजनीतिक विषयलाई पनि विश्लेषण नगरी प्राविधिक रूपमा हल गर्ने कोसिस गर्नुहुन्छ । आफूलाई मन नपरेको विषयमा सही–गलतको टुंगोमा नपुग्दै प्रतिक्रिया जनाउनुहुन्छ । जसले वेला–वेला तपाईंलाई विवादमा पनि ल्याउँछ ।

म आफ्नोचाहिँ दायाँ–बायाँ हेर्दिनँ, त्यो सही कुरा हो । व्यक्तिगत हिसाबमा मलाई कति लाभ हुन्छ भनेर जिब्रो चपाएर म बोल्दिनँ । मलाई ग्रिज दली–दली मान्छेसँग ग्रिजिङ गरेर बोल्न मन लाग्दैन । तेल घस्देर चिल्लो बनाइदिन मन लाग्दैन । यसो भन्दा अगाडिको मान्छे खुसी होला भन्ने सोचेर कुरा गर्न मलाई मन लाग्दैन ।

सत्य कुरा के हो, त्यो म भन्छु । हिजो पनि भन्थेँ, आज पनि भन्छु र भोलि पनि भन्नेछु । त्यसकारण व्यक्तिगत रूपमा मलाई लाभ हुन्छ कि घाटा हुन्छ भनेर हिसाबकिताब गर्दिनँ । मलाई त्यो हिसाबकिताब गर्नु पनि छैन । व्यक्तिगत काम गर्ने भएको भए म कम्युनिस्ट पार्टीमा आउँदिनथेँ, म आफ्नै दुनियाँमा लाग्थेँ होला ।

मैले देखेको छु, कुनै विषयवस्तु नभएको तीन घन्टा भाषण ठोक्नेचाहिँ राजनीतिक, अनि ‘टु दी प्वाइन्ट’ बोल्नेलाई चाहिँ प्राविधिक भन्ने हाम्रो ‘पोलिटिसियन’हरूको तर्कमा त मैले के टिप्पणी गर्नु र ? हो, म सबै कुरा स्टेट फरवार्ड गर्छु, लरबर गर्दिनँ । हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्ने किसिमले जानुपर्छ भन्ने ठान्छु । अहिले सरकारले पनि त्यही गर्नुपर्छ भन्ने मेरो विचार हो ।

एउटा फाइल बोकेर एउटा जनता आयो, सेवाग्राही आयो । त्यसलाई चाहिँ यो टेबलबाट त्यो टेबलमा, त्यो टेबलबाट अर्को टेबलमा डान्सिङ गराउने र फुटबल बनाउने काम गर्नुहुन्न । हुन्छ भने हुन्छ भन्नुपर्छ, हुन्न भने हुँदैन भनिदिनुपर्छ । कहिलेकाहीँ के लाग्छ भने वर्षौंसम्म ‘तेरो काम हुन्छ’ भनेर झुलाउँदाखेरि मान्छेलाई एउटा विश्वास हुन्छ र बाँचिरहन्छ ।

निराश भएर गयो भन्ने एउटा तर्क होला । मान्छे झुलाउने गरी नहुने कुरालाई हुन्छ भनेर खेलाउने कामचाहिँ म गर्दिनँ । त्यो गर्नु पनि हुँदैन, अरूले पनि नगरून् भन्छु । त्यसलाई प्राविधिक भन्ने हो भने प्राविधिक ठीकै छ । त्यो प्राविधिक हुन जरुरी छ ।

अभियोग – १२

नवौँ महाधिवेशन तपाईंकै नेतृत्वमा ‘डिजिटलाइज्ड’ रूपमा गरियो । तपाईंले भनेअनुसार प्रत्यक्ष प्रसारण नहुँदा हजारौँ कार्यकर्ता उद्घाटन कार्यक्रम हेर्नबाट वञ्चित भएको गुनासो त छँदै छ, आर्थिक पारदर्शिता नभएको आरोप समेत लाग्यो ।

टेक्निकल्ली डिजिटलाइज्ड पहिलोचोटि हामीले गरेका थियौँ । हामीले बारकोड प्रयोग गरेका हौँ । बारकोड प्रयोग गरेर व्यक्तिलाई पहिचान गर्ने काम पहिलोचोटि हामीले नै गरेका हौँ । त्यसले प्रविधिमैत्री नेता–कार्यकर्ता बनाउन मद्दत गरेको हो । उद्घाटनको प्रत्यक्ष प्रसारण गर्ने तयारी पनि थियो । तर, प्रत्यक्ष प्रसारण गर्ने वेला ठ्याक्कै बाहिरको तार काटियो ।

प्रतिस्पर्धामा रहेका साथीहरू यसलाई भाँड्न चाहनुुहुन्थ्यो । त्यसकारण उहाँहरूले तार काटिदिनुभयो । जिफन्टले बनाएको गेटमा आगो लगाउनुभयो । महाधिवेशन सुरु हुनुअघि बाहिरको ताण्डव पत्रकारहरूले देख्नु नै भएको छ । जब तपाईंले जोड्नुभएको तार नै डढाइन्छ र गेट नै आगो लगाइन्छ भने त ट्रान्समिसन अर्को ठाउँमा देख्ने त कुरै भएन नि ।

त्यो पाटोलाई हेर्नुप-यो । कतिपय त हाम्रा डेलिगेटहरूले अन्तिम दिन मात्र कार्ड पाउनुभयो । र, त्यो कार्डको मुठ्ठा प्रत्येकपटक बनाएर दिएको लुकाउँदै, हु-याउँदै ‘आएन’ भनेर निहुँ खोजेर हैरान पार्ने काम गरियो । त्यो एक मुठ्ठा अहिले पनि मसँग बाँकी नै छ ।

प्रतिस्पर्धामा रहेका मेरा नेता साथीहरू जसले ती कार्ड लुकाउने काम गर्नुभयो, नाम लिँदा अहिले तीतो हुन्छ । मेरो स्वभावअनुसार छुच्चो भन्ने आइरहेको छ, त्यसकारण मैले नाम लुकाउने भएँ । उहाँसित पछि गएर मैले झगडा गरेर मुठ्ठा खोसेर ल्याएँ । त्यो अहिले पनि राखेको छु । अबको महाधिवेशनमा त्यो मुठ्ठा देखाएर उहाँहरूसित यस्तो मान्छेलाई वरिपरि नराखौँ भन्ने पक्षमा छु ।

प्रविधिको कुरामा त हामी परफेक्ट थियौँ, तल–माथि पर्दै परेन । त्यो वेला धेरै मान्छे मसँग रिसाउनुभएको छ । फेक प्रतिनिधि हुन नपाएका, फेक प्रतिनिधि बनाउन चाहनेहरू मसँग रिसाउनुभयो । यहाँसम्म कि भात खुवाउने साथीहरू पनि रिसाउनुभयो ।

पहिले कुपन गनेर हिसाब–किताब हुन्थ्यो, हामीले बारकोड प्रयोग गरिसकेपछि जति मान्छे कम्प्युटरको ढोका क्रस गरेर गए, त्यति मात्रै कम्प्युटरले काउन्ट गरिदियो । त्यहाँ लुकिछिपी हुन पाएन, त्यसमा पनि अतिरिक्त पैसा लिन पाइएन । अब ट्रान्सपरेन्ट भयो कि भएन भन्ने कुरा त यहीँबाट बुझ्नुप-यो ।

योभन्दा अगाडिका महाधिवेशनमा आर्थिक विभागको के हुन्थ्यो मलाई थाहा छैन, अहिले त महाधिवेशनमा आर्थिक विभाग अरू नै साथीले हेर्नुहुन्थ्यो । गुटकै कुरा गर्ने हो भने पृथक् र प्रतिस्पर्धी साथीहरूले हेर्नुहुन्थ्यो त्यो विभाग । उहाँहरूले पनि एकाउन्ट बुझाउनुभएको छ, त्यो सबै हिसाबकिताब च्यानलमै भएको छ । लुकाउनुपर्ने केही भएकै छैन ।

कमसेकम मेरो स्वभावअनुसार मलाई यस्तो आरोपचाहिँ नलगाए हुन्थ्यो । प्रश्न गर्नेहरूचाहिँ शुद्ध छन् भन्ने मलाई लाग्दैन । आर्थिक मामिला र कुरा नघुमाउने मामिलामा कसैले मलाई प्रश्न गर्छ भने त्यो साथीको नियतमै मैले प्रश्न गर्दा हुन्छ भन्ने ठान्छु । मसँग सीधा आँखा जुधाएर हेर्दा हुन्छ, आर्थिक मामिलाको पारदर्शी र अपारदर्शीको कुरा गर्नेहरूले ।

आँट गरे हुन्छ, म उनीहरूको तीन पुस्ता खोलिदिन सक्छु, जो आउँछ त्यसको । शुद्ध रहेछ भने हात मिलाएर पठाइदिन्छु, अशुद्ध रहेछ भने तीन पुस्ता खोलेर पठाइदिन्छु । म आर्थिक विभागको प्रमुख पनि थिएँ त्यो वेलासम्म । म एमालेको धुरीमा बसेर हेर्ने मान्छु हुँ । त्यसकारण यसमा केही छैन, सीधा कुरा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु