रोमान्समा टेरी जोडी - Naya Patrika
eNaya Patrika
  • ePaper

रोमान्समा टेरी जोडी

इंग्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरी श्रीमती टोनीसँग पोर्चुगलमा बिदा मनाउँदै

इंग्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले अन्तर्राष्ट्रिय फुटबल छाडेको धेरै वर्ष भइसकेको छ । तर, वेला–वेलामा टेरी समाचारमा छाउने गरेका छन् । विशेषतः बेलायती मिडिया पूर्व तथा वर्तमान खेलाडीका निजी जीवनबारे समाचार लेख्न खूवै रुचाउँछन् । ब्रिटिस मिडियाले टेरी परिवारको होलिडे सम्बन्धमा रोचक समाचार सम्प्रेषण गरेका छन् ।

टेरी परिवार अहिले होलिडे मनाइरहेको छ । यसपटक उनीहरूको गन्तव्य पोर्चुगल बनेको छ । गतवर्ष टेरी र उनकी श्रीमती टोनीले समर होलिडे दुबईमा मनाएका थिए । पोर्चुगलमा टेरीले दुई सन्तान जर्जिए तथा समरलाई समेत लगेका छन् । तर, ब्रिटिस मिडियाले सम्प्रेषण गरेको समाचार र तस्बिरमा टेरी जोडीलाई मात्र फोकस गरेको देखिन्छ ।

गर्मीको मौसममा टेरीले तीनपांग्रेको मोटरसाइकलमा श्रीमती टोनीलाई सयर गराएका छन् । टेरी अगाडि ड्राइभिङ सिटमा छन् । त्यसको पछाडि उनकी श्रीमती टोनी बसेकी छिन् । टोनी बिकिनी पहिरन र टेरी केवल हाफ पाइन्टमा छन् । यता, टोनीले ‘मिस्टर टी (टेरी) ड्राइभिङमा’ भनी तस्बिरमा क्याप्सन पोस्ट गरेकी छिन् । ब्रिटिस मिडियाका अनुसार टेरीले श्रीमतीलाई समुद्रमा बोटमा सयर गराएका छन् ।

चेल्सी छाडेर एस्टोन भिल्लामा आबद्ध भएपछि टेरी गुपचुप नै छन् । गत सिजनमा भिल्ला प्रिमियर लिगमा बढुवा हुन नसकेपछि टेरी लगभग क्लबविहीन अवस्थामै छन् । भिल्लाले च्याम्पियनसिप प्लेअफ फाइनलमा समेत मौका गुमाएपछि टेरीले अन्य क्लब जाने सम्बन्धमा विचार गरेका छैनन् । नयाँ सिजनका लागि भिल्लाले टेरीसँग सम्झौता नवीकरण गरेको छैन । यता, कामविहीन रहेका टेरीलाई स्काई स्पोर्टस्ले एक विश्लेषकका रूपमा अनुबन्ध गर्न सक्ने एजेन्सीले जनाएका छन् ।

यसअघि स्काईमा फ्रान्सका पूर्वस्ट्राइकर थिएरी हेनरी विश्लेषकका रूपमा कार्यरत थिए । बेल्जियमको सहायक प्रशिक्षक बनेपछि हेनरीले स्काई स्पोर्टस् छाडिसकेका छन् । रिक्त पदमा स्काई स्पोर्टस्ले टेरीलाई खेल विश्लेषकका रूपमा प्रिमियर लिग सुरु हुनअघि नै अनुबन्ध गर्न सक्ने एजेन्सीले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया