अर्बपतिको जीवनशैली : भाँडा माझ्नेदेखि तास खेल्नेसम्म - Naya Patrika
eNaya Patrika
  • ePaper

अर्बपतिको जीवनशैली : भाँडा माझ्नेदेखि तास खेल्नेसम्म

सेलेब्रिटीका व्यक्तिगत जीवनशैलीसम्बन्धी गसिपको प्रशस्तै चर्चा हुने भए पनि अर्बपतिहरूको जीवनशैलीको चर्चा कमै मात्र हुने गर्छ । यद्यपि, उनीहरूप्रति धेरैको चासो भने हुन्छ । धेरैजसो धनाढ्य व्यक्तिहरूको जीवन सफलताका कथा धेरै पढिन्छन् । यस आलेखमा भने अलिकति फरक उनीहरूको निजी जीवनशैली, इच्छा, आकांक्षा, खानपान आदिका विषयमा विभिन्न एजेन्सीको सहयोगमा तीर्थराज निरौलाको रिपोर्ट:

 भाँडा माझ्न मन पराउँछन् अर्बपति बेजोस


अमेरिकी अनलाइन व्यापार कम्पनी अमेजन इन्कका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस उमेरले पाँच दशक पार गरिसकेका छन् । फोब्र्सको रियल टाइम र्‍यांकिङअनुुसार १ सय ५० अर्ब डलर सम्पत्तिका मालिक बेजोसको लगानी वासिङटन पोस्टका साथै एरोस्पेस कम्पनी ब्लू ओरिजिनमा समेत छ ।

मानिसले पर्याप्त आराम गर्नुपर्ने मान्यता बेजोसको छ । दैनिक आठ घन्टा सुत्ने बेजोस एलार्म क्लर्कको सहायताविना नै सामान्यतया बिहान सबेरै उठ्छन् । परिवारलाई आवश्यक समय व्यवस्थापन गर्ने बेजोस प्रायःजसो श्रीमती र छोराछोरीसँगै बिहानको नास्ता गर्छन् । आफैँ प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी अमेजनमा भने उनले वर्षमा मुस्किलले ६ घन्टा मात्र समय दिन भ्याउँछन् ।

बैठक तथा छलफलको उत्पादकत्वप्रति सचेत बेजोस अधिकांश मिटिङमा ‘टू पिज्जा रुल’ लागू गर्र्छन् । दुईवटा पिज्जा पनि खान नपुग्ने गरी धेरै मानिससँगको भेटघाट फलदायी नहुने उनको विश्वास छ । साधारणतया आठजनाभन्दा कम सदस्यबीचको छलफलको उत्पादकत्व बढी हुने भएकाले यस्तो बैठकलाई टू पिज्जा रुलमा आधारित बैठक भन्ने गरिन्छ । आर्थिक मितव्ययिता व्यवस्थापन गर्न माहिर बेजोसले कर्मचारीलाई म्यासेज पठाएर चिया–कफी तथा खाना खाने गरी समय छुट्याएका छैनन् ।

साधारणतया नयाँ–नयाँ खानाको स्वाद लिन मन पराउने बेजोसलाई अक्टोपससँग साँधेको आलुको परिकार निकै प्रिय लाग्छ । हरियो लसुनमा दही मिलाएर बनाइएको परिकार र अन्डा पनि उनलाई औधी मनपर्छ । ‘मेनु हेरेर अर्डर गर्नुपर्‍यो भने मैले कहिल्यै स्वाद नलिएको र कुनै पनि जानकारी नभएका खानेकुराको अर्डर गर्छु । तर, ब्रेकफास्टमा भने प्रायःजसो अक्टोपस हुने गर्छ,’ बेजोसले एक अन्तर्वार्तामा भनेका थिए । लन्चपछि भाँडा माझ्न मन पराउने बेजोस भन्छन्, ‘भाँडा माझ्दा सबैभन्दा बढी आनन्द आउने कुरामा म विश्वस्त छु ।’ अमेरिकी टेलिसिरियल ‘स्टार ट्रेक’ हेर्ने उनको सोख हो । बेजोस छोराछोरीसँग साहसिक मनोरञ्जनमा गइरहेका हुन्छन् ।

 फुर्सदमा परिवारसँग तास खेल्छन् बिल गेट्स


सर्वाधिक धनीको सूचीमा दोस्रो नम्बरमा परेका बिल गेट्सको दैनिकी पत्रपत्रिका र अनलाइनमा आउने मुख्य समाचार पढेर सुरु हुन्छ । विशेष गरी न्युयोर्क टाइम्स, द वाल स्ट्रिट जर्नल र द इकोनोमिस्टका सक्रिय पाठक हुन् बिल गेट्स । फोब्र्सको सूचीअनुसार ९५ अर्ब डलरका मालिक गेट्स ६२ वर्षका छन् । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गेट्स घरमा कमै समय बिताउने गर्छन् । तर, जब वासिङटनस्थित घरमा हुन्छन्, निजी आवासमा हल्लिएर केही समय बिताउँछन् । सन् २०१६ मा उनको घरको मूल्य १२ करोड ४० लाख डलर पर्ने अनुमान गरिएको थियो ।

सन् २००८ भन्दा पहिले गेट्सले ट्रेडमिलमा कसरत गर्थे । ६२ वर्षीय गेट्सलाई टेनिस खेल औधी मनपर्छ । गेट्स आफूलाई कोकोआ पफ खान धेरै नै मन पर्ने बताउँछन् । तर, उनकी श्रीमती मेलिन्डाले भने प्रायःजसो ब्रेकफास्ट ‘स्किप’ गर्ने बानी रहेको बेस्टी लेन हाई स्कुलका विद्यार्थीलाई बताएकी थिइन् । चिज बर्गर गेट्सलाई सबैभन्दा बढी मन पर्ने खाना हो । तपाईंलाई लन्चको समयमा सबैभन्दा बढी मनपर्ने खाना के हो भनेर सोधिएको ‘रेडिट अमा’ (जुनसुकै विषयमा खुला प्रश्न सोधिने सिरिज)को प्रश्नमा उनले तीन पटकसम्म चिज बर्गरको नाम दोहोर्‍याएका थिए ।

कुनै पनि काम सकेपछि लगत्तै अर्को काममा हात हाल्दैनन् गेट्स । एक कामपछि अर्को काम गर्न कम्तीमा पाँच मिनेट समय व्यवस्थापन गरेर सेड्युल निर्माण गरिएको हुन्छ । टेस्ला तथा स्पेस एक्सका संस्थापक एलोन मस्कले पनि यही कार्यशैली पछ्याएका छन् । उनले प्रत्येक काम योजनाका साथ गर्छन् ।

गेट्स केही न केही पढिरहेका हुन्छन् । प्रख्यात पुस्तकहरू पढ्न उनले जसरी पनि समय व्यवस्थापन गर्छन् । उनको पर्सनल वेबसाइटमा थुप्रै पुस्तक पढ्न आमपाठकलाई सिफारिस गरेका छन् । उनले धेरै पुस्तक संकलन गरेका छन् । नयाँदेखि पुराना पुस्तकसम्म संकलन गरेका गेट्सलाई मनपर्ने पुराना पुस्तकमध्ये लियोनार्दो दा भिन्चीका विज्ञान कथाहरू समावेश भएको पुस्तक ‘कोडेक्स लिसिस्टर’ एक हो ।

फुर्सदमा पढ्ने बानी परेका गेट्स आफ्ना बालबच्चासँग पनि प्रशस्तै समय छुट्याउँछन् । उनी विद्युतीय उत्पादनस्थल तथा मिसाइल सिलोसजस्ता नयाँ स्थानको भ्रमणमा परिवारका साथ जाने गर्छन् । फुर्सदको समयमा परिवारसँग समय बिताउन तासको सहारा लिन्छन् । बिदाको समय सदुपयोग गर्न परिवारसँग बसेर तासको खेलविशेष ‘ब्रिज’ खेल्ने गर्छन् । बेजोसजस्तै गेट्सलाई पनि रातको समयमा भाँडा माझ्न मन पर्छ । ‘मलाई भाँडा माझ्दा आनन्द आउँछ,’ रेडिटको प्रश्नमा उनले भनेका थिए । उनको दैनिक सात घन्टा सुत्ने बानी छ ।

स्टक मार्केटका आधारमा ब्रेकफास्ट गर्छन् बफेट


सर्वाधिक धनीको सूचीमा तेस्रो नम्बरमा परेका वारेन बफेट सेयर बजारका बादशाह मानिन्छन् । वर्कसायर ह्याथवेमा समेत लगानी गरेका ८७ वर्षीय बफेटको कुल सम्पत्ति ८२ अर्ब डलर छ । साधारणतया बिहान साढे ६ बजेपछि मात्र उठ्ने बफेट द वाल स्ट्रिट जर्नल, युएसए टुडे र फोर्ब्स पत्रिकाका नियमित पाठक हुन् । रमाइलो कुरा त के छ भने उनको बे्रकफास्ट स्टक मार्केटले निर्धारण गर्ने गरेको हुन्छ । प्रायःजसो ब्रेकफास्टका लागि म्याक डोनाल्ड पुग्ने बफेट ३ डलर ६० सेन्टदेखि ३ डलर २० सेन्टसम्मको ब्रेकफास्ट गर्छन् ।

उनकी श्रीमती आस्ट्रड मेन्कसेले ब्रेकफास्टका लागि कारको कपहोल्डरमा उक्त रकम राखिदिने गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । ससेज, अन्डा र चिजबाट तयार पारिएको परिकार विशेष र चिज बिस्कुट उनको रोजाइमा पर्ने गरेका परिकार हुन् । बफेट सेयर बजारमा आफ्नो सम्पत्ति बढेका वेला यदाकदा सोभन्दा बढी मूल्य पर्ने ब्रेकफास्ट पनि गर्छन् ।

‘मेरो शरीरमा २५ प्रतिशतजति त कोक मात्रै होला,’ प्रत्येक दिन पाँच क्यान कोक पिउने बफेटले एकपटक भनेका थिए । कोकाकोला कम्पनीको सेयरमा वर्कसायर ह्याथवेको पनि लगानी छ । स्ट्रबरी मिल्कसेक उनलाई मनपर्ने अर्को पेयपदार्थ हो । ६ वर्षका बालबालिकाले जस्तै गरी आफूले खानेकुरा खाने गरेको बताउँछन् बफेट । खानामा मात्र जोड गर्ने नभएर उनी कसरतमा पनि उत्तिकै ध्यान पुर्‍याउँछन् । बफेटले प्रत्येक दिनको ८० प्रतिशत समय पढाइमा खर्च गर्ने गरेको अमेरिकी समाचार संस्था सिएनबीले हालै उल्लेख गरेको छ । प्रत्येक मानिसले दिनमा कम्तीमा पनि ५ सय पेज अध्ययन गर्नुपर्ने उनको सुझाब छ । आफूले लगानी गरेको वर्कसायर ह्याथवे कम्पनीलाई औधी माया गर्छन् ।

गेट्सजस्तै तासको विशेष खेल ‘ब्रिज’मा बफेटको पनि असाध्यै ठूलो लगाब छ । ‘ब्रिज खेल्दै गरेको समयमा नग्न अवस्थाकी महिला मेरै अगाडिबाट गइन् भने पनि म उनलाई देख्नेछैन,’ सिबिएसलाई उनले भनेका छन् । उकुलुलु (गितार विशेष वादन)मा पनि उनको अत्यधिक सोख छ । वास्तवमा पहिली श्रीमती सुसन थोम्सनलाई पनि उकुलुलु मनपर्ने भएकाले उनले सो वादनकला सिकेका थिए । राति ११ बजेअगावै ओछ्यान पुग्ने बफेट कम्तीमा आठ घन्टा सुत्छन् ।

६० घन्टा काम गर्छन् जुकरबर्ग


फेसबुकका संस्थापक सिइओ मार्क जुकरबर्ग ४० वर्षमुनिका सर्वाधिक धनी हुन् । फोर्ब्सको रियल टाइम र्‍याङ्किङको सूचीमा छैटाैँ नम्बरमा परेका ३४ वर्षीय जुकरबर्गको सम्पत्ति ६६ दशमलव ५ अर्ब डलरबराबर रहेको उल्लेख छ ।

प्रत्येक दिन आठ बजे उठ्ने जुकरबर्ग तत्कालै फेसबुक, फेसबुक म्यासेन्जर र ह्वाट्स एपको स्टाटस चेक गर्छन् । हप्तामा ३ पटक ‘जगिङ’ जाने जुकरबर्गको कार्यतालिका छ । कहिलेकाहीँ ‘जगिङ’मा आफ्नो कुकुर बिस्टलाई पनि लैजान्छन्  ।

साधारणतया दैनिक कसरत गर्ने जुकरबर्ग ब्रेकफास्टमा के खाने भनेर खासै छनोट गर्दैनन् । उनी स–साना विषयमा धेरै समय व्यतीत गर्न चाहँदैनन् । लुगा लगाउने कुरामा पनि खासै सौखिन छैनन् जुकरबर्ग । प्रायःसजो एउटै प्रकृतिका कपडा लगाइरहन्छन् । जिन्सको पाइन्ट, स्निकर र खैरो रङको टिसर्ट उनलाई धेरै मनपर्छ । ‘म धेरै पोसाक छनोट गर्दिनँ, मेरो धेरै समय कसरी धेरैभन्दा धेरै मानिसलाई एक–आपसमा जोड्न सकिन्छ भनेर सोच्दासोच्दै बित्ने गर्छ,’ अन्तर्वार्ताका क्रममा उनले उल्लेख गरेका थिए । उनको ‘पालो अल्टो’ नामक घरमा कृत्रिम बौद्धिकतायुक्त यन्त्रहरू जडान गरिएको छ ।

हप्तामा ५० देखि ६० घन्टासम्म फेसबुकभित्रै हराउँछन् जुकरबर्ग । फेसबुकमा मार्क जुकरबर्गको भेरिफाइड एकाउन्ट छ । वेला–वेलामा उक्त पेजमा पोस्ट गर्ने जुकरबर्गले सो पोस्टमा आएका अनावश्यक कमेन्ट डिलिट गर्न मात्र १२ जना कर्मचारी राखेका छन् । विदेशी भाषा सिक्न मन पराउँछन् उनी । हाल चाइनिज भाषा सिकिरहेका छन् । सन् २०१५ मा उनले कम्तीमा पनि दुई हप्तामा एउटा नयाँ पुस्तक पढ्ने गरेको बताएका थिए ।

सेलेब्रिटी, राजनीतिक दलका नेता र पादरीहरू भेट्न मन पराउने जुकरबर्गले त्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस, बाराक ओबामा र भिन डिजेलसँग भेटवार्ता गरेका तस्बिर सार्वजनिक भएका छन् । दुई छोरीहरू म्याक्स र अगस्टका पिता बनिसकेका जुकरबर्ग श्रीमती प्रिसिलिया चानलाई उत्तिकै महTवका साथ समय दिने गर्छन् । परिवारलाई दिने समय व्यवस्थापन गर्न जुनसुकै काम र भ्रमणले पनि उनलाई रोक्दैन । बेलुकी सुत्नुभन्दा पहिले दुई छोरीका अगाडि बसेर परम्परागत यहुदी प्रार्थना ‘मि सेबेराक’ गर्नु उनको दैनिकी हो । बारम्बार भ्रमणमा निस्किरहने जुकरबर्गको दैनिक कार्यतालिका परिवर्तन भइरहन्छ ।

तपाईको प्रतिक्रिया