अब कहिल्यै मुस्कुराउने छैनन् मोनालिसा - Naya Patrika
eNaya Patrika
  • ePaper

अब कहिल्यै मुस्कुराउने छैनन् मोनालिसा

मोनालिसा जन्मिइन् सन् १५०५ मा । मनुजबाबु मिश्र जन्मिए, १९३६ मा । दुवैको नामको पहिलो अक्षरको ध्वनिमा समानता हुनुबाहेक अरू सम्बन्ध छैन । तर, मनुजबाबुले चित्रमार्फत मोनालिसालाई आफ्नो जीवनको अभिन्न पाटो बताए ।

उनले मोनालिसाको जादुमयी रहस्यले भरिएको हाँसोलाई आफ्नो जीवनमा जोडे । रङ, ब्रस र क्यानभासलाई साक्षी राखेर आफूभन्दा करिब ५५० वर्ष जेठी मोनालिसासँग १५ वर्षपहिला कलामय विवाह गरे ।

सेतो क्यानभासमा अनेक सपना सजाउँदै नौमती बाजाको धुनमा आफैँले मायाको छाता ओढाइदिए । मोनालिसालाई घर भित्र्याउन आतुरझैँ देखिने मनुजबाबु गोर्खाली खुकुरी कम्मरमा भिरेर आफ्नो बहादुरीको परिचय दिइरहेछन् । लाग्छ, मोनालिसा पनि मनुजबाबुको त्यो एकान्त कुटीमा जान आतुर छिन् ।

जादुमयी मुस्कानले चर्चित उनलाई कति समालोचकले त ‘मोनालिसाको मुस्कान एकतिरबाट हेर्दा रुन लागेजस्तो र अर्कोतर्फबाट हेर्दा मुस्कुराउन लागेजस्तो देखिन्छ’ पनि भनेका छन । तर, मनुजबाबुले नेपाली पहिरनमा डोली चढाइदिएपछि मोनालिसा फरक शैलीमा स्वच्छ मन्द मुस्कानमा रमाइरहेको भान हुन्छ ।

सिउँदोमा सिन्दुर, गलामा तिलहरी, मंगलसूत्र र कानमा ढुंग्रीले सजिएकी मोनालिसा मक्ख पर्दै अहिले नै मुस्कुराउछिन् कि जस्तो सजिलै अनुमान लगाउन सकिन्छ ।

मोनालिसालाई मनुजबाबुले नेपाली अवतारमा फेरि जन्माइदिए । तर, शिशु अवस्थामा होइन । उनले ठ्याक्कै त्यही उमेरमा जन्माए, जुन उमेरमा उनको चित्र बनेपछि अमर भइन् । मोनालिसाको गहिरो हेराइले मनुजबाबुलाई तै खोजिरहेको भान हुन्छ ।

यता मनुजबाबुको अनुहारमा विश्वको सबैभन्दा लोकप्रिय मान्छे आफ्नो हुँदाको त्यो खुसी र उनीप्रतिको गहिरो प्रेम प्रस्ट देखिन्छ । उनले स्वप्नवादी कलाको माध्यमबाट डबली छाता ओढाएर र डोलीमा चढाएर आफ्नो कुटीमा सदाका लागि प्रिय बनाउने सपना पूरा गर्दै गरेको पाइन्छ ।

मोनालिसाको आगमनसंगै वरिष्ठ कलाकार मनुजबाबु अझ जोशका साथ उनीसँग रमाइलो गरेका क्षण र क्यानभासमा कोर्दै गरेका स्वप्निल अनुभव चित्रमा प्रस्ट देख्न सकिन्छ । कहिले फूलका थुंगा दिँदै गरेको त कहिले अँगालोमा कस्दै गरेको चित्रले काल्पनिक संसार बनाएको छ । मोनालिसा पनि दंग पर्दै स्वप्निल संसारमा डुब्दै गरेकीझैँ लाग्छ ।

उनले कलामयी विवाह गरेको करिब एक महिनापछि म मनुजबाबु सरको घर गएको थिएँ । त्यसअघि नै ती चित्रबारे पत्रिकामार्फत थाहा पाइसकेको थिएँ । उनका चित्रहरू प्रत्यक्ष हेरेपछि लाग्यो म कुनै विवाह समारोहमा सरिक भइरहेको छु । आफैँलाई असहज लाग्यो । असहज लाग्दालाग्दै सोधिहालेँ, ‘बुढेसकालको विवाहले कस्तो अनुभव पाउनुभो त सर ?’

मनुजबाबुले भने, ‘बाबु ! कलाकारको उमेर कहिले पनि पाको हुदैन नि ! कलाकार त जति उमेर छिप्पिँदै गयो उति नै उसको कला युवा र सशक्त बन्दै जान्छ, मोनालिसालाई मैले किनिदिएको यो तिलहरी सुहाएको छ, होइन त ?’

म एकछिन अकमकिएँ । हो त, उनले त मोनालिसालाई पोते पनि लगाइदिएका छन् । मैले सहज बन्न खोज्दै उत्तर दिएँ, ‘हो सर, बिछट्टै सुहाएको छ, कति राम्री देखिएकी, अबचाहिँ मोनालिसा सधैँ मुस्कुराउनेछिन्, उनको मलिन रहस्यलाई मुस्कुराहटले जित्यो सर !’

मनुजबाबुको कला सिकाउने तरिका बिलकुलै नौलो थियोे । सल्भाडोर डाली, पिकासो र भ्यानगोगका बारेमा उनले वर्णन गरेको सुन्दा लाग्थो कलाकार साँच्चिकै देशका मेरुदण्ड हुन् ।

मेरो जवाफ बनिबनाउ थिएन । हुन पनि नेपाली बेहुलीको पोसाकमा सजिएकी मोनालिसा साँच्चिकै खुसी देखिएकी थिइन् । लाथ्यो अब मोनालिसा मनुजबाबुसँग सधैँ मुस्कुराउनेछिन् ।

अफसोच, गत मंगलबार राति करिब २ बजेतिर एउटा फोन आयो, ‘मनुजबाबु सर त बित्नुभएछ नि त ज्योति !’ म झसंग भएँ । पत्याउनै गाह्रो । मैले भेटेको धेरै दिन भएको थिएन । स्वास्थ्यमा कुनै खराबी भएको बताएका थिएनन् । तर, नियतिलाई कसले भोग्नु नपर्ला ? समयलाई कसले पो रोक्न सक्छ र ? उहाँको मृत्यु साँचो रहेछ ।

रातभरि सोचेँ ललितकला क्याम्पसमा हामीलाई कला शिक्षा दिएका गुरु मनुजबाबुलाई भेट्दा लाथ्यो कलाको त भगवान् नै भेटियो । सन् १९३६ सालमा जन्मिएर ढाका विश्वविद्यालयबाट स्नातक गरेका मनुजबाबुको कला सिकाउने तरिका विल्कुलै नौलो थियोे ।

सल्भाडोर डाली, पिकासो, र भ्यानगोगका बारेमा उनले वर्णन गरेको सुन्दा लाग्थो कलाकार साँच्चिकै देशका मेरुदण्ड हुन् । ४० प्रतिशत जुँगा फुलेका शान्त, स्वप्निल, सरल मृदुभाषी, आफ्नो कुरामा अडिग, राजनीतिक चेतना भएका उनी कला बुझ्न इतिहास जान्नु जरुरी भएको बताउँथे ।

कला कोर्न नयाँ सोच हुनु आवश्यक भएको ठान्थे । ‘कलाकारले राजनीति बुझ्नुपर्छ, तर राजनीति नै चाहिँ गर्नु स्वाभाविक हुँदैन, हामीले त कलाबाट नै देशको यथार्थ समजिक चरित्र र परिवर्तनको रूपरेखा देखाउने खुबी राख्नुपर्छ,’ उनी भन्थे ।

उनका चित्रमा हामी यी कुरा प्रस्ट देख्न सक्छौँ । ‘स्वप्नवाद यस्तो हतियार हो, जहाँ तिमी अत्यन्तै स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति गर्न सक्छौ कलामा स्वतन्त्रता चाहिन्छ,’ भन्ने उनको अभिव्यक्तिको अहिले पनि झल्को आइरहेको छ ।

यसअघि थोरै समयमा नै कलाक्षेत्रले केही महत्वपूर्ण सर्जक गुमाइसकेको छ । प्राज्ञ शान्तकुमार राई, वरिष्ठ कलाकार पुरन खड्का, युवा कलाकार अर्जुन खालिङलाई हामीले छोटो समयमा नै गुमायौँ । अहिले ललितकला प्रज्ञा प्रतिष्ठानसहित सबै प्रतिष्ठान मर्जको कुरा उठिरहेको छ । यी सबै कुराले एकसाथ कला क्षेत्रमा परेको बज्रपातले मन साह्रै भारी छ ।

एकाएक याद आयो ती मोनालिसा के गर्दै होलिन् यतिवेला ! कतै विवाहको डोलीबाटै हाम्फाल्न त खोज्दै छैनन् ? मोनालिसा मनुजबाबुले सजाइदिएको त्यो सिउँदो पुछ्न खोज्दै पो छिन् कि ? होइन त्यो कदापि हुनेछैन । हुनै सक्दैन ।

किनकि, मनुजबाबुको मनले पहिराइदिएको तिलहरी, ढुंग्री र मंगलसूत्र सदैव उनको साथमा हुनेछ । तर, मलाई लाग्यो, त्यही नेपाली गहना र पहिरनमा मुस्कुराइरहेकी मोनालिसा भने फेरि अब कहिल्यै मुस्कुराउने छैनन् । किनकि, उनले आफ्नो प्रिय मान्छे गुमाएकी छिन् र नेपाली कलाकारहरूले आफ्नो अभिभावक । अलबिदा मनुजबाबु मिश्र सर !

(लेखक ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु