डोल्पाको पीडा : उडौँ जहाज हुँदैन, हिडौँ बाटो हुँदैन - Naya Patrika
eNaya Patrika
  • ePaper

डोल्पाको पीडा : उडौँ जहाज हुँदैन, हिडौँ बाटो हुँदैन

वर्षायामसँगै डोल्पाली जनताका पीडा सुरु हुन्छ । वर्षाले देशभरि बाढीको प्रकोप बढ्ने गर्दछ तर, डोल्पाका जनताले भने मौसमी नाकाबन्दी नै खेप्नुपर्छ ।

हरेक वर्ष असार मसान्तदेखि डोल्पामा भारी वर्षात सुरु हुने भएकाले यातायातको भरपर्दो विकल्प जुफाल विमान स्थलसमेत आशिंक खुल्छ । भरपर्दो यातायात जहाज नै बन्द भएपछि दैनिक उपभोग्य सामाग्री ढुवानीदेखि आवत जावतमा समस्या हुने गरेको छ । विमान स्थल अवरुद्ध हुँदा हप्तामा दुई वटा मात्र जहाज आउने भएकाले पर्यटक, विरामी, विद्यार्थी मारमा पर्ने गरेका छन् ।

विमान स्थल पुगेकाहरु पनि हप्तौँ जहाज कुर्नु पर्ने भएपछि खर्च सकिएर घर फर्किनु परेको ठुलीभेरी नगरपालिकाका स्थानीय अमर कठायतले बताए । उनले भने, “असार अन्तिमदेखि साउन अन्तिमसम्म यहाँका लागि दुःख दिन हो, न प्लेन आँउछ, न जिल्ला बाहिर जान बाटो नै छ, यतिखेर मौसमी नाकाबन्दीमा हुन्छौँ हामी ।”

डोल्पामा सामान ढुवानी गर्ने घोडा खच्चडसमेत नहिड्ने भएपछि दैनिक उपभोग्य वस्तु अभाव हुने गर्दछ भने, व्यापारीले पनि दोब्बर मूल्य लिने गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए ।

देवकोटाले थपे, “किन आउँछ यो समय न जहाज आउछ, न सामान आउँछ, हिडौँ भने मृत्युअगाडि लगाउँदै हिँड्नु पर्छ ।” पैदल हिडौँ भने पनि सडक भासिएर हिँड्नै नमिल्ने हुने भएको देवकोटाले बताए ।

“वर्षामा ठुलोभेरीले विभिन्न ठाँउको बाटो भत्काउने भएकाले पैदल यात्रा गर्दा भिरबाट ढुङ्गा खसेर वार्षिक तीनचार जनाले अकालमै ज्यान गुमाउनु परेको छ । केही साताअगाडि मात्रै घरबाट सदरमुकाम जाने क्रममा ढुङ्गा खसेर एक विद्यार्थीको मृत्यु भएको देवकोटाले बताए ।

छिटो जाजरकोट–डोल्पा सडक खण्ड निर्माण भए सुर्खेत नेपालगञ्जसम्म सिधा यातायात सञ्चालन हुँदा डोल्पा जनताका दुःखका दिन हट्ने स्थानीयले बताएका छन्

तपाईको प्रतिक्रिया