राजनीतिक प्रणालीबारे असन्तुष्टी राख्नेले अपराधिक गतिविधि गरे : गृहमन्त्री - Naya Patrika
eNaya Patrika
  • ePaper

राजनीतिक प्रणालीबारे असन्तुष्टी राख्नेले अपराधिक गतिविधि गरे : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै पनि अवस्थामा प्रहरी कारवाही प्रभावित हुन नहुने बताएका छन् । प्रहरी सहायक निरीक्षक (असई) एक सय ७४ औँ समूहको दिक्षान्त समारोहमा शुक्रबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापा साे कुरा बताएका हुन् ।

कार्यक्रममा थापाले कानून कार्यान्वयनमा प्रहरी सधै अग्रणी भूमिकामा रहने भन्दै भने, ‘संक्रमण काल होस वा सामान्य अवस्था प्रहरी कानुन कार्यान्वयनमा सक्रिय हुनुपर्छ ।’ वर्तमान राजनीतिक प्रणालीबारे असन्तुष्ट राख्ने समूहले समाजमा अपराधिक गतिविधि गरेको बताउँदै गृहमन्त्री बादलले यसतर्फ प्रहरी सचेत हुनु पर्ने बताए ।

विज्ञान प्रविधिको प्रयोगबाट हुने अपराध बढ्दो क्रममा रहेको उल्लेख गर्दे उनले यस्तो अपराध निस्तेज पार्न प्रहरी पनि विज्ञान प्रविधिसँग भिजेर अनुसन्धानमा अघि बढ्नु पर्ने मन्त्री थापाले बताए । नेपाल प्रहरीलाई समय अनुकुल वैज्ञानिक स्रोत साधन उपलब्ध गराउन गृह मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

आइजीपीको निर्देशन

दिक्षान्त समारोहमा उपस्थित भएका नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कार्य क्षेत्रमा खटिने अवस्थामा रहेका जुनियर प्रहरी अधिकृत (प्रसनी)हरुलाई जनताको सेवामा निरन्तर लाग्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको कामकारवाहीमा आम जनताको भरोसा पछिल्लो समय बढ्दो क्रममा रहेको भन्दै संगठनको प्रतिष्ठामा आँच आउने गतिविधि नगर्न चेतावनी दिएका छन् । कार्यक्रममा बोल्दै डिआइजी पुष्कर कार्कीले प्रहरी समाजको पहरेदार भएकाले शान्त समाज निर्माणमा नागरिक र प्रहरी एक हुनु पर्ने बताए ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको एक सय ७४ औँ समूहमा शुक्रबार चार सय ३२ जना प्रहरी सहायक निरीक्षकहरु कार्य क्षेत्रमा प्रवेश गरेका छन् । गत वर्ष साउन १ गतेबाट सुरु भएको तालिममा सहभागीमध्ये आठ जनाले तालिम बीचमै छाडेर भागेका थिए । खोटाङ जिल्ला पदमपोखरी घर भएका निरज राईको तालिम अवधिमा गत जेठ २१ गते निधन भएको शिक्षालयका निमित्ति निर्देशक एसपी तुलसी अधिकारीले बताए ।

मैदानमै ढले प्रहरी

दिक्षान्त समारोहमा कवच प्रर्दशन गर्ने क्रममा एक महिला प्रसनीसहित ६ जना मैदानमा नै ढलेका थिए । चर्को घाम र थकानले उनीहरु मैदानमै ढलेका हुन् । उनीहरुलाई तत्कालै प्राथमिक उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया