सिन्धुपाल्चोकमा नेकपालाई नेतृत्व छान्न सकस - Naya Patrika
eNaya Patrika
  • ePaper

सिन्धुपाल्चोकमा नेकपालाई नेतृत्व छान्न सकस

पार्टीले भदौ ३ गतेभित्र जिल्ला कमिटी गठन गरिसक्नु पर्ने निर्देशनअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले छलफललाई उत्कर्षमा पुर्‍याएको छ । तर, केन्द्रीय नेता र तहगत रुपमा रहेका विभिन्न कमिटीबीच पटकपटक बैठक बसे पनि नेतृत्व सकेका छैनन् ।

एकीकरणपछि कमिटीमा कसको कति संख्या रहने विषयमा पूर्व एमाले र माओवादीबीच विवाद रहेको हो । पूर्वएमालेले ६०/४० अनुसार बैठकमा प्रस्ताव ल्याएपछि पूर्वमाओवादी नेताले अस्विकार गरेका छन् । पूर्वमाओवादीका नेताले समानता एकता हुनु पर्ने अडान राख्दै आएको छ ।

पूर्वमाओवादी नेता चन्द्रबहादुर थापाले भने, ‘हामीले बराबरमा स्पष्ट अडान राख्दै आएका छौ ।’ पार्टी एकीकरणअघि एमालेको तर्फबाट एक सय ३५ सदस्य जिल्ला कमिटी र ६ हजार सदस्य थिए भने, माओवादीतर्फ एक सय ५१ सदस्य जिल्ला कमिटी र दश हजार पार्टी सदस्य रहेको थापाले दाबी गरे ।

अध्यक्षमा ६ जनाको दाबी

पार्टी एकीकरणपछि जिल्ला अध्यक्षमा ६ जनाले दाबी गर्दै आएका छन् । पूर्वसांसद सुभाष कर्माचार्य, पूर्वएमाले जिल्ला अध्यक्ष झम्क नेपाल र नेता बालकृष्ण देउजाले अध्यक्षमा दाबी गरेका छन् । उनीहरु एमालेतर्फका हुन् ।

पूर्वमाओवादीतर्फ पूर्वसांसद राजकुमार श्रेष्ठ, नेताद्वय सरल सहयात्री पौडेल र चन्द्रबहादुर थापाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । दाबेदार सबै नेताले आफूलाई जिल्ला अध्यक्ष बनाउन पार्टी कमिटी र व्यक्तिगत रुपमा केन्द्रीय नेताहरुलाई दबाब दिँदै आएका छन् ।

नेकपाको विधानअनुसार जिल्ला इन्चार्ज र सहइन्चार्ज केन्द्रीय सदस्यबाट चयन गरिने व्यवस्था छ । केन्द्रीय सदस्यद्वय अरुण नेपाल ३ नं. प्रदेशका मन्त्री र शेरबहादुर तामाङ प्रतिनिधि सभा सदस्य रहेकाले पदीय हैसियतमा अग्रज रहेका कृष्णप्रसाद सापकोटा जिल्ला इन्चार्ज बन्ने सम्भावना बढी छ । सहइन्चार्ज र जिल्ला सचिव को हुने भन्ने विषयले बैठकमा प्रवेश पाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया