सामाजिक सञ्जालमा ‘दोस्रो दर्जाकी’ अभियान - Naya Patrika
eNaya Patrika
  • ePaper

सामाजिक सञ्जालमा ‘दोस्रो दर्जाकी’ अभियान

ट्विटर प्रयोगकर्ता महिलाहरूले आफ्नो ह्यान्डलअगाडि ‘दोस्रो दर्जाकी’ शब्द थपेर नागरिकता ऐन २०६३ संशोधन विधेयकको विरोध गरेका छन् । आमाको नामबाट नागरिकता पाउने प्रावधान अझै जटिल बनाइएको विरोधमा उनीहरूले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउन लागिएको भन्दै यस्तो अभियान चलाएका हुन् । यो अभियानमा निर्वाचन आयुक्त इला शर्मादेखि लेखक सावित्री गौतमसम्म छन् ।

सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि सुरुवातमा केही महिला ट्विटर प्रयोगकर्ताले आफ्नो नामको अगाडि ‘दोस्रो दर्जाकी’ लेखेका थिए । त्यसपछि स्वस्फूर्त धेरै महिलाले नामको अगाडि ‘दोस्रो दर्जाकी’ लेखेका हुन् ।

लेखक सावित्री गौतमले आफ्नै छोराको नागरिकता बनाउँदा खेप्नुपरेको सरकारी कर्मचारीको निकृष्ट व्यवहारलाई राज्यले प्रस्तावित विधेयकमार्फत् प्रोत्साहन गरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । ट्विटर ह्याण्डल अगाडि ‘दोस्रो दर्जाकी’ लेखेकी उनले आफ्नै छोराको नागरिकता बनाउँदा आमाको नाम भएको ठाउँमा टाँका लगाएको, तर बाबुको नाम अनिवार्य खोजेको उदाहरण पेश गरिन् । ‘आमाको अस्तित्व नै नस्विकार्ने सरकारी कर्मचारी र छोरीलाई तल्लो दर्जाको देख्ने राज्यको प्रवृत्तिविरुद्ध व्यंग्य गर्न दोस्रो दर्जाकी भनेर लेखेका हौँ,’ उनले भनिन्, ‘यसले हामीलाई राज्यले हेर्ने दृष्टिकोण पनि प्रतिबिम्बित गर्ने भएकाले स्वस्फूर्त लेखेका हौँ ।’

ट्विटरमा ‘रेज अगेन्स्ट रेप’ समूहमार्फत महिला अधिकारका विषयमा आवाज उठाइरहेकी लुना भट्टराईले पनि राज्यले महिलामाथि गरेको विभेदविरुद्ध स्वस्फूर्त उत्रिएको बताइन् । महिला अधिकारका विषयमा राज्य प्रगतिशील बन्नुपर्नेमा उल्टै पहिलेदेखि उठाएका मुद्दालाईसमेत भत्काएर पुरानै ठाउँमा पु-याउन खोजेको उनको गुनासो छ ।

पछिल्लो समय सरकारले गरेका काम कारबाहीलाई नागरिकहरूले सामाजिक सञ्जालबाटै विरोध गर्ने गरेका छन् । विश्वभरि नै यो निकै व्यापक हुँदै गएको छ । भारतमा पनि यति वेला बलिउड अभिनेत्री स्वरा भास्करको विषय निकै चर्चामा छ । सामाजिक विषयमा आफ्ना आलोचनात्मक धारणा राख्ने स्वराले पछिल्लो समय बिहारको मुजफ्फरपुरमा भएको ३४ बच्चामाथिको बलात्कारको विषयमा कुनै प्रतिक्रिया दिइनन् । उनले प्रतिक्रिया नदिएपछि भारतीय टेलिभिजन च्यानल आजतकका पत्रकार रोहित सर्दानाले स्वराले बिहारका ३४ जना बालिका बलात्कार हुँदा पनि किन प्रतिक्रिया नदिएको भन्दै ट्विट गरे । त्यसपछि स्वराका फ्यानहरूले उनी प्रधानमन्त्री भएकाले उनले यसको जिम्मेवारी लिनुपर्ने भन्दै व्यंग्य सुरु गरे । अहिले पिएम स्वरा भास्कर भन्ने प्यारोडी ट्विटर अकाउन्ट नै बनाएर उनीहरूले मोदी सरकारको व्यंग्य गरिरहेका छन् ।

नेपालमा पनि यसरी भएका विरोधकै कारण सरकारले कतिपय निर्णयहरूमा फेरबदल गर्नु परेको छ । यही सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने छात्राका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा चर्को विरोध हुँदा उनले राजीनामा दिनुप¥यो । त्यस्तै, डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विषयमा उठाएका मागलाई पनि सामाजिक सञ्जालबाटै व्यापक जनमत तयार भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नाकाबन्दीका विषयमा ट्विटरमा उनीविरुद्ध ट्रेन्डिङ सुरु भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउनुपरेको थियो ।

तपाईको प्रतिक्रिया