मानिसको असली शत्रु - Naya Patrika
eNaya Patrika
  • ePaper

मानिसको असली शत्रु

ब्यक्ति, स्थिति वा परिस्थिति मानिसको दुस्मन हुन् भन्ने लाग्न सक्छ । यस्तो बुझाइले जीवनभर अरूलाई गलत र आफू सही हो भन्ने भावनाको विकास गराउँछ । तर, यस्तो होइन । अलि गहन भएर सोच्ने हो भने आफैँलाई पनि लाग्न सक्छ कि हाम्रो असली दुस्मन त हाम्रै मन हो । मन नियन्त्रण भएन भने जीवन असन्तुलित हुन्छ । यी हुन् मानिसका ठूला शत्रु :

काम
काम भनेको कामना हो । जसरी आगोमा जति दाउरा राखे पनि खरानी नै हुन्छ, त्यसैगरी कामना जति पूरा गर्दै गइन्छ त्यो त्यति नै बढ्दै जान्छ । तर, हाम्रो मनले कहिल्यै पनि पुग्यो भन्दैन । हामीलाई यतिसम्म पनि थाहा हुँदैन कि यो कामना आफ्नो लागि कल्याणकारी छ वा छैन । यसकारण कुनै पनि कामनाले जन्म लिएपछि केही दिनसम्म होसपूर्वक सोच्नुपर्छ । नत्र यही नै हाम्रो शत्रु बन्न सक्छ ।

क्रोध
महात्मा बुद्ध भन्नुहुन्थ्यो कि उम्लेको पानीमा कहिल्यै पनि हामीले आफ्नो अनुहार देख्न सक्दैनौँ, जसरी शान्त पानीमा देखिन्छ । त्यसैगरी क्रोधमा पनि हामी राम्रो र नराम्रो छुट्याउन सक्दैनौँ । विशेषगरी रिसको जिम्मेवार आफ्नै आन्तरिक मनस्थिति हुन्छ । जब कोही व्यक्ति आनन्द वा सशंकित हुन्छ, त्यसवेला पटक—पटक रिस आउँदैन । तर, त्यही व्यक्ति जब अशान्तिमा रहन्छ, त्यसवेला भने उसलाई स–साना कुरामा पनि रिस उठ्न थाल्छ ।

लोभ
लोभको अर्थ हो आवश्यकताभन्दा बढी धन सञ्चय गर्नु । लोभले गर्दा मान्छे कम समयमा बढी धन प्राप्त गर्ने उपायको खोजी गर्छ । जसकारण उसले गलत बाटो पनि अपनाउन सक्छ । जसले गर्दा मनमा डरको वातावरण सिर्जना हुन्छ । यसकारण पनि अशान्ति वृद्धि हुन्छ । तर, धेरै प्राप्तिका लागि सत्कर्म र परिश्रम नै आवश्यक हुन्छ ।

मोह
मोह भन्नाले आफ्नो नजिकको मान्छे र वस्तुसँग गहिरो लगाव भन्ने बुझिन्छ । जबसम्म मोह रहन्छ, त्यतिवेलासम्म दिव्य शान्ति र मुक्ति प्राप्त हुँदैन । मोहले गर्दा डरको प्रभाव रहन्छ । डरको कारण नकारात्मक सोच हाबी हुन्छ । दुःखद कुरा के भने पटक–पटक नकारात्मक सोच्दा तनाव हुन्छ । त्यसैले सावधानी र मायाचाहिँ राख्नुहोस् तर मोह होइन ।

ईर्ष्या
हाम्रो समाजले जहिले पनि अरूसँग तुलना गर्न सिकाउँछ । जुन गलत हो । किनभने, हरेक मानिसमा एउटा विशेष क्षमता हुन्छ, जुन अर्कोमा हुँदैन । जे कुरा तपाईं गर्न सक्नुहुन्छ, त्यो अर्कोले नगर्न सक्छ । यही कुरा बुझेपछि भने ईष्र्याको अन्त्य हुन्छ । जुन कुरा अरूले प्राप्त गरेको छ, त्यही आफूले पनि पाउने चाहना राख्छ मानिस । यो नै ईष्र्या हो । ईष्र्याले आत्मविश्वासमा आँच ल्याउने काम गर्छ, हीनता पैदा हुन्छ ।

द्वेष
द्वेष भनेको ईष्र्याको परिपक्व स्थिति हो । ईष्र्यामा मानसिक पीडा हुन्छ । तर, द्वेषबाट बदलाको भाव जन्मिन्छ । जसले मान्छे गलत काम गरेर सामाजिक र कानुनी रूपमा दुर्भावनाको
सिकार हुन्छ ।

खुसी रहन
यो मनले योजना त बनाउँछ तर कार्यान्वयन गर्दैन । तर, हाम्रो मनले नै सबै समस्या र रुकावटका लागि अर्कालाई जिम्मेवार ठान्ने गर्छ । यो मानिसको एक प्रकारको अज्ञानता हो ।

बुद्धले भनेका छन् कि हाम्रो सबै प्रकारको दुःखका लागि हामी आफैँ जिम्मेवार छौँ । ६ वटा ठूला शत्रु काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषले नै दुःख, तनाव, निराशा र अशान्ति पैदा गर्छ । तर, यी शत्रु भने छायाजसरी हामीसँगसँगै हिँडिरहेका हुन्छन् । जसले मन अनियन्त्रित बनाउनेबित्तिकै हामीलाई चेपिहाल्छ । त्यसैले असली शत्रु बाहिर नभएर हाम्रै भित्री दुर्भावना मात्र हो । त्यसैले मुक्तिका लागि मनमा ‘सादा जीवन उच्च विचार’को भाव राख्नुपर्छ ।

आफ्नो सारा शक्ति लक्ष्य प्राप्तिका लागि लगाउनुपर्छ । जबसम्म शतप्रतिशत शक्ति लगाउनुहुन्न, तबसम्म जीवन सुखी, सम्मानित र सफल हुँदैन । बाटोमा जतिसुकै ढुंगा भए पनि जुत्ताले सुरक्षा दिन्छ । तर, जुत्ताको भित्र एउटा सानो ढुंगा भए पनि हिँड्न निकै गाह्रो हुन्छ । त्यसैले बाहिरी नभएर आफूभित्रैको शत्रुसँग लड्न जरुरी हुन्छ ।

मानिसबाहेक कुनै पनि प्राणीमा काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषको भाव हुँदैन । बाहिरी कुनै पनि स्थितिले हाम्रो आन्तरिक आनन्दमा कमी गर्न सक्दैन । जसरी तोरीमा तेल र नौनीमा घ्यू रहन्छ, त्यस्तै दिव्य आनन्द हाम्रो भित्र रहन्छ ।

आनन्दविना एक क्षण पनि बाँच्न मानिसलाई इच्छा हुँदैन । जीवनको अन्तिम लक्ष्य नै आनन्द प्राप्त गर्नु हो । अति व्यस्तता, अज्ञानता र अहंकारले हाम्रो जीवनमा असन्तुलन पैदा गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु