एसिया कपको प्रारम्भिक टोलीबाट भेसवाकर बाहिर - Naya Patrika
eNaya Patrika
  • ePaper

एसिया कपको प्रारम्भिक टोलीबाट भेसवाकर बाहिर

दायाँ हातको कान्छी औँलामा चोट लागेका कारण भेट्रान ब्याट्सम्यान शरद भेसवाकर एसिया कपका लागि छनोट गरिएका प्रारम्भिक १९ खेलाडीभन्दा बाहिर

नेपालले एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि १९ खेलाडी प्रारम्भिक छनोट गर्दा भेट्रान ब्याट्सम्यान शरद भेसवाकर बाहिरिएका छन् । नेदरल्यान्डविरुद्धको ऐतिहासिक डेब्यु एकदिवसीय सिरिजमा चोटग्रस्त बनेका शरद कम्तीमा चार साता मैदान बाहिर रहनेछन् । चोटकै कारण उनी राष्ट्रिय टोलीबाट प्रारम्भिक छनोट खेलाडीमा समावेश नभएका हुन् । सागर पुनले अन्तिम १९ मा पुनरागमन गरेका छन् । ११ देखि २२ भदौसम्म मलेसियामा एसिया कप छनोट हुनेछ ।

२९ साउनबाट बन्द प्रशि क्षण
एसिया कपको तयारीका लागि नेपालले २९ साउनबाट बन्द प्रशिक्षण सुरु गर्दै छ । क्लोज क्याम्पपछि नै नेपालको अन्तिम १४ सदस्यीय टोली घोषणा हुने जनाएको छ । केही दिनको खेलपछि खेलाडीको प्रदर्शनका आधारमा अन्तिम टिमको घोषणा गरिने प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले भने, ‘हामी ६ दिन जति नेपालमा अभ्यास गर्नेछौँ । सोही अभ्यासका दौरान अन्तिम टिमको टुंगो लगाएर श्रीलंका अभ्यासका लागि जानेछौँ ।’

देसाई ब्याटिङ प्रशिक्षक
आइसिसीले एसियन कपका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा अपूर्व देसाईलाई पठाउने भएको छ । देसाई २९ साउनमा काठमाडौंमा आउनेछन् । उनले एसिया कपसम्म नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गर्नेछन् । गुजरातका देसाई ब्याटिङमा भारतबाट सी श्रेणीको कोचिङ कोर्स पूरा गरेका छन् । उनले गजुरातबाट पहिलो श्रेणीको क्रिकेट खेलेका थिए । बिसिसिआईको एकेडेमीमा रहेर उनले उमेर समूहका टिमलाई प्रशिक्षण दिँदै आएका छन् । देसाईसँग आइपिएल टिममा खेलाडी छनोटको अनुभवसमेत रहेको छ ।

श्रीलंकामा अभ्यास खेल
मलेसिया प्रस्थान गर्नुअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेल्नेछ । वैदेशिक तयारीका लागि श्रीलंका भ्रमणमा राम्रो मानिन्छ । श्रीलंकन क्रिकेट बोर्डले नै राम्रा टोलीसँगको एकदिवसीय सिरिजको व्यवस्था गर्ने भए पनि अहिले नै कस्ता टिमसँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो भने लाग्न बाँकी रहेको छ ।

विजेतालाई मौका
एसिया कप छनोटमा विजेता टिमले एसिया कप खेल्न पाउनेछ । १३ देखि २१ भदौसम्म हुने खेलमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई रहेका छन् । छनोट हुने टिमले एसिया कपमा टेस्ट मान्यता प्राप्त एसियाका पाँच देशविरुद्ध प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कप १५ देखि २८ सेप्टेम्बरसम्म युएईमा हुनेछ ।

१९ खेलाडी
कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुभाष खकुरेल, सुनील धमला र सुसान भारी रहेका छन् ।

भेसवाकर चार साता मैदानबाहिर

नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा शरद फिल्डिङ गर्ने क्रममा चोटग्रस्त बनेका थिए । उनको दाहिने हातको कान्छी औँलामा चोट लागेको छ । नेपालको डेब्यु एकदिवसीय खेलमा शरद ११औँ क्रममा ब्याटिङ गर्न आएका थिए । शरदले डाक्टरको सल्लाहअनुसारै चार साता मैदानबाहिर बस्ने निर्णय गरेको बताएका छन् । ‘डाक्टरको सल्लाहअनुसारनै चार साता मैदानबाहिर रहने निर्णय गरेको हुँ,’ शरदले भने, ‘चोट पूर्ण ठीक भएपछि पुनरागमन गर्ने विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया