यू–१९ का लागि खुला छनोट - Naya Patrika
eNaya Patrika
  • ePaper

यू–१९ का लागि खुला छनोट

भारतमा हुने यू–१९ एकदिवसीय सिरिज र बंगलादेशमा हुने एसिया कपका लागि खुला रूपमा खेलाडी छनोट हुने

यू–१९ एकदिवसीय सिरिज तथा एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको छनोट खुला प्रतिस्पर्धाबाट हुने नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् । नेपालले भारतमा यू–१९ एकदिवसीय तथा बंगलादेशमा एसिसी यू–१९ एसिया कपमा सहभागिता जनाउनेछ ।

भारतबाट निमन्त्रणा
भारतले नेपाली युवा टोलीलाई यू–१९ एकदिवसीय सिरिज खेल्न निमन्त्रणा गरेको छ । यसैको तयारीका रूपमा खुला खेलाडी छनोट गरी खेलाडी प्रतिस्पर्धा गर्ने प्रशिक्षक दासले बताएका छन् । ‘भारतले हामीलाई सिरिज खेल्न बोलाएको छ, नेपाली टोली भारतसँग प्रतिस्पर्धा गर्न तयार छ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा दासले भने, ‘आइसिसीको निर्देशनअनुसार चल्नुपर्ने भएकाले खेलाडी छनोट गर्न ढिला हुन सक्छ, त्यसैकारण हामीले सिरिजको तयारीका लागि खुला रूपमा छनोट गर्न लागेका हौँ ।’

३ दिन छनोट
दासले खेलाडीको छनोट ३ दिन हुने जनाएका छन् । उनले २८ देखि ३० साउनसम्म रातोपुलमा रहेको भेलोसिटी एरिनामा खुला छनोट हुने जनाए । ३ दिनको छनोट प्रतिस्पर्धाबाट उत्कृष्ट ९ खेलाडीलाई यू–१९ राष्ट्रिय टोलीको क्याम्पमा राखिने दासको भनाइ छ । यसैगरी, प्रत्येक प्रदेशबाट समान ३ खेलाडी समावेश हुनेछन् । यू–१९ टोलीका लागि यू–१९ राष्ट्रिय टोलीबाट १४ खेलाडी पनि समावेश हुनेछन् ।

दोस्रो क्लोज क्याम्पमा १९ जना
सुरुवातको क्याम्पबाट छनोट नभएका १२ खेलाडी तथा यू–१९ टोलीमा छनोट भएका, तर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल नेखेलेका ७ खेलाडी गरी १९ जनालाई दोस्रो क्लोज क्याम्पमा राखिने जानकारी दासले दिएका छन् । उनका अनुसार भारतमा हुने एकदिवसीय सिरिजले बंगलादेशमा प्रतिस्पर्धा गर्न सहज हुनेछ ।

सेप्टेम्बरमा सिरिज
भारतले नेपाललाई ९ देखि २० सेप्टेम्बरसम्म यू–१९ एकदिवसीय सिरिज खेल्न निमन्त्रणा गरेको हो । नेपालले भारत, अफगानिस्तान तथा भारतकै राष्ट्रिय क्रिकेट एकेडेमीको यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । सिरिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र एसियन क्रिकेट काउन्सिलसँग प्रस्ताव राखेको उनले जानकारी दिएका छन् ।

दुवै सिरिजपछि घोषणा
यू–१९ एकदिवसीय तथा एसिया कपपछि नेपालले विश्वकप छनोट तयारी गर्नेछ । विश्वकपका लागि खेलाडीहरू एसिया कप र यू–१९ सिरिजपछि घोषणा हुने प्रशिक्षक दासले बताएका छन् । ‘एसिया कप र एकदिवसीय सिरिजपछि विश्वकप छनोटका लागि खेलाडी छान्छौँ,’ दासले भने । एसिया कप अक्टोबरमा बंगलादेशमा हुँदै छ । जसमा आयोजक बंगलादेश, नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, युएई र अफगानिस्तान छन् ।

तपाईको प्रतिक्रिया