६ दशमलव ६९ अंक घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

६ दशमलव ६९ अंक घट्यो नेप्से

गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस साताभरि नै सोही गतिलाई निरन्तरता दिएको छ । साताभरि सुस्त गतिमा ओरालो लागेको नेप्से, अन्तिम कारोबार दिन भने ६ दशमलव ६९ अंक घटेर बन्द भएको छ । बजार खुलेको आधा घन्टासम्म सामान्य अंक बढेको नेप्से, त्यसपछिको समयमा ओरालो लागेको हो । सूचीकृत कम्पनीहरूले गत आवको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

प्रकाशित वित्तीय विवरणहरूले लगानीकर्ताको मनोबल बढाउन सकेको छैन । अपेक्षाअनुसारको नाफा वित्तीय विवरणमा नदेखिएपछि लगानीकर्ताको मनोबलमा कमी आएको एक लगानीकर्ताले बताए । वाणिज्य बैंकहरूको वित्तीय विवरण प्रकाशनमा भने ढिलाइ भइरहेको छ । लगानीकर्ता अझै पनि ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् ।

लामो समयसम्ममा बजार नबढेपछि लगानीकर्ता पर्खन बाध्य भएका हुन् । केही लगानीकर्ता सेयर बिक्री गरी बजारबाट बाहिरिएको एक ब्रोकरले बताए । बजारले गति लिन नसकेपछि नयाँ लगानीकर्ता पनि बजार प्रवेश गर्ने उचित समयको पर्खाइमा रहेको उनको भनाइ छ । यसले बजारको दैनिक कारोबार रकममा प्रभाव परेको छ ।

नेप्से परिसूचक यस दिन शून्य दशमलव ५६ प्रतिशत घटेर १ हजार १ सय ८० दशमलव ६३ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशलमव ३७ अंक घटेर २ सय ४९ दशमलव १३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ३ सय ७० पटकको कारोबारमा १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाँबराबरको ८ लाख ६९ हजार ३ सय ७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ३२ प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन घटेर ३६ दशमलव ४७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा नै रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन २ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ ।

सानिमा माईको यस दिन २९ हजार ६ सय ५७ कित्ता सेयर किनबेच भएको छ भने सपोर्टको ६ सय ५० पटक सेयर कारोबार भएको छ । यस दिन कम्पनीहरूको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढ्न सकेन । मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य भने यस दिन ९ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये यस दिन ३० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय १० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन व्यापार समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७५ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव २ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १९ प्रतिशत, लघुवित्त समूहको १ दशमलव शून्य ८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ३३ प्रतिशत, वित्त समूहको शून्य दशमलव १२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

सहाराको हकप्रद बाँडफाँड
सहारा विकास बैंक लिमिटेडले साउन २२ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले १ बराबर २ दशमलव ५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । वैशाख ९ गतेसम्म कायम सेयरधनीले सो हकप्रद सेयरका लागि आवेदन दिएका थिए । आवेदनमा नपरेको हकप्रद सेयरबापतको रकम साउन २५ गतेदेखि फिर्ता भुक्तानी गरिने व्यवस्था गरिएको छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 सिटी एक्सप्रेसको १ः१.६७ हकप्रद
सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि १ बराबर १ दशमलव ६७ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले रू. १ सय अंकित मूल्यका २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । साउन २१ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेयरधनीले बिक्री प्रबन्धक, सिटी एक्सप्रेस फाइनान्सका प्रधान तथा शाखा कार्यालय र सिआस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रहेको छ भने हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

 सिद्धार्थको नाफा १ अर्ब ८५ करोड
गत आवको चौथो त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३ दशमलव ८० प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा संकलन गर्न सफल भएका कारण बैंकको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२ प्रतिशत बढेको छ । ८ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष सो अवधिमा ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले २८ करोड ४४ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ । बैंकको निष्क्रिय कर्जा अघिल्लो आवको तुलनामा घटेर १ दशमलव शून्य ५ प्रतिशतमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी २१ दशमलव ९१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३ दशमलव ६९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु