वित्तीय संस्थाको ४ खर्बभन्दा बढीको निक्षेप सुरक्षण - Naya Patrika
eNaya Patrika
  • ePaper

वित्तीय संस्थाको ४ खर्बभन्दा बढीको निक्षेप सुरक्षण

– १ करोड ५९ हजार १६३ निक्षेपकर्ताको निक्षेप सुरक्षण

– निक्षेपकर्ताहरू २६ प्रतिशतले बढे

निक्षेप तथा कर्जा सुरक्षण कोषले आर्थिक वर्ष ०७४/७५ मा ४ खर्ब ३० अर्ब रुपैयाँ सुरक्षण गरेको छ । कोषले बैंक तथा वित्तीय संस्थाहरूमा १ करोड ९३ लाख प्राकृतिक व्यक्तिको विभिन्न खातामा रहेको निक्षेप रकम सुरक्षण गरेको हो । सुरक्षण रकम अघिल्लो आवको तुलनामा करिब १३ प्रतिशतले बढेको छ भने निक्षेपकर्ताहरू २६ प्रतिशतले बढेका छन् ।

वाणिज्य बैंकको करिब ३ खर्ब सुरक्षण
कोषले २८ वटा वाणिज्य बैंकको खातामा रहेको ३ खर्ब ५८ अर्ब रुपैयाँ सुरक्षण गरेको छ । यो रकम कोषले सुरक्षण गरेको कुल रकमको करिब ८३ दशमलव २० प्रतिशत हो । कोषले १ करोड ५९ हजार १६३ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । कोषले सुरक्षण गरेको कुल निक्षेपकर्तामध्ये वाणिज्य बैंकका निक्षेपकर्ताको हिस्सा ८२ प्रतिशत रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा निक्षेपकर्ता ३१ प्रतिशतले बढेका छन् भने सुरक्षण रकम करिब १८ प्रतिशतले बढेको छ ।

विकास बैंकको सवा ६३ अर्ब सुरक्षण
कर्जा तथा सुरक्षण कोषले विकास बैंकमा जम्मा भएको निक्षेपमध्ये ६३ अर्ब २१ रुपैयाँ सुरक्षण गरेको छ । यो रकम कुल निक्षेप रकमको करिब १५ प्रतिशत हो । कोषले ३५ विकास बैंकमा भएका २९ लाख ८३ हजार ४ सय व्यक्तिको नाममा रहेको निक्षेप सुरक्षण गरेको हो । यो संख्या कुल निक्षेपकर्ताको १५ दशमलव ४० प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा निक्षेप रकम करिब ७ प्रतिशतले घटेको छ भने निक्षेपकर्ता संख्या करिब ८ प्रतिशतले बढेको छ ।

वित्त कम्पनीको ८ अर्ब सुरक्षण
कोषले गत आवको अन्त्यसम्ममा वित्त कम्पनीमा रहेको निक्षेप रकममध्ये ८ अर्ब ३३ करोड रुपैयाँ सुरक्षण गरेको छ । यो रकम कुल सुरक्षण रकमको करिब २ प्रतिशत हो । वित्त कम्पनीमा रहेको ४ लाख ४१ हजार ८९६ जना निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । यो संख्या कुल निक्षेपकर्ताको २ दशमलव २८ प्रतिशत हो । वित्त कम्पनीको सुरक्षण रकम अघिल्लो आवको तुलनामा ९ प्रतिशत घटेको छ भने निक्षेपकर्ता संख्या करिब १५ प्रतिशतले बढेको छ ।

लघुवित्तको ८० करोड सुरक्षण
निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आवमा लघुवित्त विकास बैंकको करिब ८० करोड रुपैयाँ सुरक्षण गरेको छ । यो रकम कुल निक्षेप रकमको शून्य दशमलव १९ प्रतिशत हो । त्यस्तै, कोषले लघुवित्तका ४३ हजार ६४२ निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेको हो । अघिल्लो आवको तुलनामा लघुवित्तको सुरक्षण रकम १० प्रतिशतले बढेको छ भने निक्षेपकर्ता संख्या १३ प्रतिशतले बढेको छ ।

सुरक्षण शुल्क ८१ करोड संकलन
कोषले निक्षेप सुरक्षण गरेबापत गत आवमा ८१ करोड २८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । कोषले वाणिज्य बैंकको निक्षेप सुरक्षण गरेबापत ६७ करोड ७८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । विकास बैंकको सुरक्षण गरेबापत ११ करोड ७६ लाख, वित्त कम्पनीबाट १ करोड ५८ लाख र लघुवित्त विकास बैंकको सुरक्षण गरेबापत कोषले १४ लाख ७८ लाख रुपैयाँ संकलन गरेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ अनुसार प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्नेछ । कोषमा निक्षेप सुरक्षण गराएबापत बैंक तथा वित्तीय संस्थाको सुरक्षण हुने निक्षेपको शून्य दशमलव २० प्रतिशत अर्थात् प्रतिसय रुपैयाँमा २० पैसाका दरले वार्षिक सुरक्षण शुल्क तोकिएको छ । तर, चालू आवदेखि लागू हुने गरी सरकारले ३ लाख रुपैयाँ निक्षेपको सुरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सुरक्षण शुल्क शून्य दशमलव १६ प्रतिशतमा झारेको छ ।

कोषमा सुरक्षण गरिएको निक्षेप रहेका बैंक तथा वित्तीय संस्था लिक्विडेसनमा गएको घोषणा भएमा प्राकृतिक व्यक्ति निक्षेपकर्ताको नाममा कल, चल्ती, बचत र मुद्दती खातासमेत गरी बढीमा दुई लाखसम्मको रकम लिक्विडेटरमार्फत सम्बन्धित निक्षेपकर्तालाई कोषले भुक्तानी दिने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया