जनताका गीत गाउने र्‍यापर - Naya Patrika
eNaya Patrika
  • ePaper

जनताका गीत गाउने र्‍यापर

समाज उनको पक्षमा कहिल्यै भएन । तर, उनी समाजबाट टाढा हुन सकेनन् । १० वर्ष लामो युद्ध र २०६२/६३ को जनआन्दोलनले देशमा ठूलै उथल–पुथल भएको थियो । राजनीतिक उथलपुथलपछि सबैलाई अवसरसँगै स्वतन्त्रता चाहिएको थियो । निर्धक्क हिँड्न र बोल्न पाए पुग्थ्यो । सबै आफ्नै स्वतन्त्रताको मालिक बन्ने लहडमा थिए । त्यही स्वतन्त्रताको लहडमा हिँडिरहेको समाजलाई उनले ‘हाउडे’को सामाजिक विकासक्रमबारे गीतमार्फत भने–
हाम्रो यो जीवन अरूभन्दा निकै भिन्न छ
समाजले हामीलाई हाउडे भनी किन चिन्दछ ?
क्रान्तिको बलमा जतिवेला देशले आङ फेर्न संघर्ष गर्दै थियो, त्यति नै वेला पोखराको नयाँ पुल वरपर आशिष रानाले जीवनलाई नयाँ नाम दिन र आफूलाई व्यक्त गर्न माध्यम खोज्दै थिए ।

समाज असन्तुष्टिले भरिएको पोको हो । राजनीति त्यसलाई समाधान गर्ने साधन । आशिष राना जो कहिल्यै राजनीतिक नेतृत्वको होडमा सामेल भएनन्, तर समाजको असन्तुष्टिबाट उनी कसरी टाढिन सक्थे र ? त्यही अप्ठ्यारो कालले जन्माएको असन्तुष्टिको अभिव्यक्ति थियो–

मापसे गर्नेहरूको बाटो तैंले मोडदिइस् …
शरीर बेच्नेलाई समातिस्
तर देश बेच्नेलाई छोडदिइस्
कोठामा एक्लै गीत गाए पनि सार्वजनिक रूपमा गाइसकेका थिएनन् । हाउडे उनको पहिलो गीत थियो । साथीभाइको समूह बिस्तारै साघुँरिदै थियो । कति साथी लाहुरे भए । उनी जहाँको त्यहीँ रहे । अन्तरमुखी स्वभावका उनलाई साथीहरूले ‘लाहुरे देखाउन’ जान सुझाए । लाहुरे देखाउन गएका उनी मेडिकलमा फालिए । उनको जीवनमा त्यही घटना विद्रोही बनाउने मोड थियो ।

उनीभित्र सुसुप्त रहेको विद्रोह ‘लाहुरे’ बनेर अभिव्यक्त भयो । उनले गीत पनि लाहुरेहरूको पीडालाई समेटेर लेखे । झन्डै ६ महिना लगाएर गीत बन्यो – मेरो सोल्टा ।

हुलाकी बोकी आयो खबर
रुवाबासीको छायो लहर
तिमीविना देशको माटो
मरुभूमिजस्तै बाँझो छ ।

यो गीत लेखेपछि आशिष अब लाहुरेका नामले परिचित भए ।

सडकको शब्द र लाहुरे
सपना थियो, लाहुरे बन्ने । तर, ब्रिटिस आर्मीमा भर्ती हुन नसकेपछि लाहुरे नाममा उनी गीत गाउन थाले । लाहुरेका गीतमा सामाजिक विभेद र त्यसविरुद्धको विद्रोह प्रस्ट रूपमा देखिन्छ । उनी गीतमा अश्लील शब्द पनि प्रयोग गर्छन् ।

किन अश्लील शब्द राख्छन् त लाहुरे आफ्ना गीतमा ? उनले भने, ‘मैले जहिले पनि आफ्ना गीतमा सरल र साधारण मान्छेहरूले बोल्ने भाषा प्रयोग गरेँ । अश्लीलता, अराजकता हाम्रो समाजमा छ ।’ उनले थप प्रस्ट्याउन खोजे, ‘म जे देख्छु, त्यही लेख्छु, गाउँछु ।’

समाजका जडतालाई आफ्नै शैलीमा औँला ठड्याइरहेका ‘एमिनेम’, ‘टुप्याक’, ‘बिग्गी स्मल्स’ उनका मन पर्ने -यापर हुन । उनीहरूबाटै प्रभावित लाहुरेलाई लाग्यो, आफ्नो देशको अवस्थामाथि पनि लेखिनुपर्छ । गाइनुपर्छ । उनले राजनीतिप्रति यसरी व्यंग्य गरे–

किन चुप नेपाली, खोज जोरी
तेरो हक मुन्ट्याइसक्यो घुसघोरी राजनीति
उनी पोखरामा जन्मिए । आमा शिक्षक र बुबा सरकारी कर्मचारी । पढे–लेखेको परिवारमा जन्मिनुको फाइदा, सानैदेखि साहित्यमा उनको झुकाव बढ्यो । भैरव अर्यालका निबन्ध उनलाई निकै मनपथ्र्यो ।

कोर्सबाहिरका पुस्तकमा रुचि भए पनि कोर्सका पुस्तकप्रति भने उनको आकर्षित हुन सकेनन् । लाहुरेको पहिलो र्‍याप थियो– हाउडे । हाउडे उनकै जीवनको प्रतिविम्ब थियो । हाउडे गीतमा एउटा अर्को प्रसंग पनि जोडिन आइपुग्छ ।

पोखराका एकजना मनोज हली भन्ने व्यक्तिसँग लाहुरेको दोस्ती थियो । एक दिन हली नसाको सुरमा पुराना कुरा सम्झिएर रुन थाले । उनका दाइ ‘ग्याङ फाइट’मा मारिएका थिए । हलीले आफ्ना दाइलाई सम्झिँदै लाहुरेसँग भने– ‘आज दाइ ज्युँदो भइदिएको भए हाम्रो यो अवस्था हुन्थेन ।

हाम्रो पनि सान हुन्थ्यो, हामी पनि हेलिकोप्टरमा दाइसँगै जोमसोम जान्थ्यौँ ।’ हलीको भावनाबाट गीतको थालनी भए पनि उनले गीतमा समाजले दुत्कारेको तप्काको आवाजलाई उठाउन कोसिस गरे । कैयौँ रातको प्रयासपछि जन्मेका शब्द थिए–

खाली खल्ती हर पाइलामा गल्तीले लुटेको
नझुकेको यो खप्पर कहिलै झुकेन
जवानी गयो व्यर्थ नबुझी त्यसको अर्थ…
गीत युवाहरूमाझ लोकप्रिय भयो । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘मलाई लागेको थियो यो मेरो टोलको कथा हो, तर यो त सिंगो नेपालको कथा रहेछ ।’ लाहुरेका गीतले मूलतः युवावर्गलाई सम्बोधन गर्छ । उनका गीतले क्रान्तिकारी चरित्र बोकेका छन् ।

उनका गीतलाई उच्छृंखल भन्नेहरूले सायद पाकिस्तानी कथाकार सहदत हसन मन्टोले भनेको कथन स्मरण गर्न सकेका छैनन्, जहाँ उनी भन्छन्– ‘ममाथि सधैं महिला र पुरुषका व्यक्तिगत कुरा, ‘वेश्या’ र ‘रन्डी’का कुरा लेखेको आरोप छ ।

म के ठान्छु भने हरेक त्यो विषयमा लेखिनुपर्छ, जुन तपाईंका अघिल्तिर छन् । मेरो लेखन मन पर्छ कि पर्दैन, त्यसको निर्णय तपाईं नै गर्नुस् । मैले ‘वेश्या’हरूका बारे किन नलेखूँ ? जुन कुरा जस्तो छ, त्यसलाई त्यसैगरी प्रस्तुत किन नगर्ने ? वास्तविकताबाट आँखा चिम्लिनुले के हामीलाई राम्रो मान्छे बनाउँछ ?’

मन्टोले भनेजस्तै लाहुरेले पनि विभिन्न मनोविज्ञानमा अनेकखाले गीत गाए । जसमा उनीभित्रको र समाजको प्रतिविम्ब देख्न सकिन्छ । त्यसो भए गीत लेख्न गाह्रो हो कि गाउन त ? भन्ने प्रश्नमा लाहुरेले भने, ‘मलाई गीत गाउनभन्दा लेख्न नै गाह्रो हो । लेख्नका लागि धेरै मिहिनेत गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया