जुद्धशमशेरदेखि किसुनजीसम्मको मिठाई अड्डा - Naya Patrika
eNaya Patrika
  • ePaper

जुद्धशमशेरदेखि किसुनजीसम्मको मिठाई अड्डा

जावलाखेल चोकमा दुई पसल छन्– गणेश मिठाई भण्डार र बद्रीको हलुवाई । यी दुई पसल करिब एक शताब्दीदेखि विभिन्न स्वादका मिठाई बनाउनमा व्यस्त छन् । साना–साना काठका ढोकाहरूबाट छिरेर दशकौँदेखि त्यहाँ आइरहेका र नयाँ आउने ग्राहकको पहिलो रोजाइ हुन्छ, जेरी–स्वारी ।

जेरी–स्वारीसँगै मिठाई पसल पुस्तान्तरण हुँदै आयो । यो क्रम चार पुस्तासम्म आइपुगेको छ । तर, मिठाईको स्वाद भने स्थिर रहेको स्थायी ग्राहकको भनाइ छ । अहिले चौथो पुस्ताका रामकुमार राजकर्णिकार र केदार ताम्राकारले सञ्चालन गरिरहेको मिठाई पसलसँग इतिहास पनि सँगै जोडिएर आउँछ ।

राजा राजेन्द्रविक्रम शाहकी पहिली पत्नी राज्यलक्ष्मीका प्रिय पात्र गगन सिंह दरबारमा शक्तिशाली भएर निस्के । यससँगै उदय भयो, जंगबहादुरको । विसं १९०३ भदौ ३१ गते गगन सिंहको पूजाकोठामा हत्या भयो ।

उक्त हत्या पत्ता लगाउन विसं १९०३ असोज २ गते शनिबार राति कोतमा छलफल भयो । त्यही राति तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह, दलभञ्जन पाण्डेलगायत ४० जनाको घाँटीबाट निस्केको रगत नदी बनेर बग्यो र जंगबहादुर उदाए ।

‘कोत पर्व’ नामले नेपालको इतिहासमा चर्चित यो घटनापछि उदाएका जंगबहादुर राणाको विरासत थाम्न आएका जुद्धशमशेरसँग जोडिएको मिठाई पसल हो, जाउलाखेलको गणेश मिठाई भण्डार र बद्रीको हलुवाई ।

यी मिठाई पसलका सूत्रधार गणेशराज राजकर्णिकार जुद्धभन्दा अगाडिका प्रधानमन्त्री चन्द्रशमशेर र भीम शमशेरसँग पनि जोडिएका थिए । त्यो समयमा उनी थापाथली पुलको छेउमा मिठाई तथा भुटेको मकै बेच्थे । त्यसैमा खुसी भेट्थे, रमाउँथे ।

अहिले जाउलाखेलमा सञ्चालन भइरहेको गणेश मिठाई पसलका चौथो पुस्ताका मालिक रामकुमार राजकर्णिकारका अनुसार विसं १९८९ मा जुद्ध शमशेर प्रधानमन्त्री हुनुभन्दा अगाडि नै पसलले मिठाई बनाउन थालेको थियो ।

विसं १९८५ सालभन्दा सात/आठ वर्ष अगाडिको कुरा हो । यसको पुष्टि नानीबेटी ताम्राकारले भाइ गणेश ताम्राकारसँग किनेको जावलाखेलको जग्गाको तमसुकले गर्छ । त्यो समयमा ३६८ मोरुमा नानीबेटीले गणेशसँग किनेकी थिइन् ।

रामकुमार ताम्राकारका अनुसार एकदिन जुद्ध शमशेरले सिंहदरबार छेउछाउमा मिठाई बेच्ने सबैले बनाएको मिठाई झिकाए । व्यापारीहरू मिठाई लिएर हाजिर भए । जुद्ध शमशेरले सबैले ल्याएको मिठाई चाखे । बीचमा अचानक जुद्धशमशेरले ‘यो कसले बनाएको ?’ भनेर सोधे । सबै डरले चुपचाप बसे । केही समयपछि गणेशराज राजकर्णिकारले सजायँ पाइने डरले डराई–डराई ‘मैले बनाएको महाराज !’ भने ।

त्यसपछि गणेशको मिठाईको प्रशंसा गर्दै जुद्धले उनलाई जग्गा दिएर अहिलेको जावलाखेल चोकमा बस्न लगाए । जसको एउटै कारण थियो, जुद्धशमशेर प्रायजसो जाउलाखेल दरबारमा बस्थे । गणेशराज बिहान–बिहान मिठाई पु-याउन त्यहाँ जानुपथ्र्यो । त्यहीँबाट सुरु भएको गणेश मिठाई भण्डार । सय वर्षभन्दा बढी समयको नेपाली राजनीतिको प्रत्यक्षदर्शी बन्यो ।

१९९० तिरको जावलाखेल

नियमित रूपमा गणेश मिठाई पसलका गणेश राजकर्णिकारले जुद्धशमशेरको जाउलाखेल दरबारमा मिठाई पु-याउन थाले । यो प्रसंग जुद्ध शमशेर प्रधानमन्त्री नहुँदाको वेलाको हो । त्यसको ३/४ वर्षपछि गणेशराजकी दिदी नानीबेटी ताम्राकारले पनि त्यहीँ पसल खोलिन् ।

उनलाई गणेशले नै बोलाएका थिए । उक्त पसल चलाएको दुई/तीन वर्षपछि नानीबेटीले विसं १९८५ सालमा गणेशसँग जग्गा किनेकी थिइन् । त्यही पसल पछि उनका नाती बद्री ताम्राकारले बद्रीको हलुवाइ नामाकरण गरे अहिलेसम्म त्यही नामले चलिरहेकोछ ।

नानीबेटीका पनाति केदार ताम्राकारका अनुसार उनकी जिजुुहजुरआमा नानीबेटीले पाटन मंगलबजारको पुख्र्यौैली घर एक सय ६० रुपैयाँमा बेचेर आएकी थिइन् । जुन घर मंगलबजारमा अहिलेसम्म पनि अस्तित्वमा छ ।

त्यतिवेला जावलाखेलमा ३/४ घर मात्र थिए । अहिलेजस्ता ठूला र अग्ला बंगला थिएनन् । ‘जावलाखेलबाट मंगलबजारसम्म जान दिउँसै लालटिन बाल्नुपथ्र्यो रे, जंगली जनावरको त्रासले गर्दा,’ गणेशकी पनातिनी बुहारी गौरी राजकर्णिकार भन्छिन् ।

त्यतिवेला जताततै बाक्लो झाडी थियो । जुद्धशमशेर सिंहदरबार र जावलाखेल दरबार ओहोर–दोहोर गरिरहने भएका कारण जावलाखेल दरबारबाट सिंहदरबारसम्मको बाटोमा भने घोडाको टाप बज्थ्यो ।

कहिलेकाहीँ जावलाखेलको अहिलेको फुटबल ग्राउन्डमा भने हल्ला हुने गथ्र्यो । जुन ठाउँमा एउटा चौतारो थियो । जहाँ पजनी (सरकारी कर्मचारीको काम गराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, बढुवा, थमौती आदि गर्ने काम–नेपाली शब्दकोश) हुन्थ्यो ।

बैठक हुन्थ्यो र राज्य सञ्चालनका विषयमा निर्णय हुन्थे । दरबारिया, अड्डाका प्रमुख र भारदार भेला हुन्थे । जुद्धशमशेर आफैँ बैठकको अध्यक्षता गर्थे । सबैको कामको समीक्षा हुन्थ्यो । ‘त्यो समयमा हुकुमी शासन थियो,’ भन्छन् केदार ताम्राकार । उक्त समयलाई जोडेर अहिलेको राजनीतिक व्यवस्थालाई केदार समीक्षा गर्छन्, ‘अहिले त भ्रष्टाचार बढी छ । शासक धेरै छन् । जसको शक्ति, उसैको भक्ति छ ।’

परिवर्तनको साक्षी

गणेश राजकर्णिकार बिहानको उज्यालोसँगै जुद्ध शमशेरका लागि मिठाई तयार पारिसक्थे । मिठाई दरबारमा पु-याउनुपथ्र्यो । गणेशराजले दरबारमा मिठाई पु-याए पनि जुद्धशमशेर सिंहदरबार जाँदा भने मिठाई पसलअगाडि घोडा रोकेर एकछिन उभिन्थे र केही सिक्कासहितको पोको फुत्त फ्याँकिदिन्थे रे भन्ने कुरा गौरीले परिवारमा सुन्दै आएको बताइन् ।

गणेशका आठजना छोराछोरी थिए । गौरी भन्छिन्, ‘त्यही देखेर पनि जुद्धशमशेरले कहिलेकाहीँ ‘घर बनाउनू’ भनेर छुट्टै पैसा पनि दिन्थे रे !’ त्यही पैसाले गणेशले घर बनाए, पछि छोराबुहारीले थप्दै गए । अहिले जावलाखेल चोकमा रहेको मिठाई पसलको पहिलो जग गणेशराज राजकर्णिकारले खनेयता ती दुई मिठाई पसलले एक शताब्दीदेखिको राजनीतिक उतनरचढाव नियाले ।

मिठाई पसलले सबै देख्यो– विद्रोह देख्यो, परिवर्तन देख्यो, तर विकास भने देखेन । विसं १९९७ सालमा सहिदहरूलाई झुन्ड्याइएको पनि देख्यो । सिंहदरबारबाट मोहनशमशेर निस्केको पनि देख्यो ।

०००

००७ सालमा प्रजातन्त्र आएपछि भने राजनीतिक नेताहरूको मिठाई खाने अड्डा बन्यो, गणेश मिठाई भण्डार र बद्रीको हलुवाई । चिया गफ गर्ने जक्सनमा परिणत भयो । ठूला नेता, आर्मीका अफिसर, कलाकारलगायत सबैले त्यहाँको मिठाई र चियाको स्वाद लिएको बताउँछन्, केदार ताम्राकार ।

०२०/२२ सालतिर दैनिक कारोबार २० रुपैयाँको हुन्थ्यो । जुन समयमा घ्युको मूल्य मानाको तीन मोहर थियो । ०२७ सालतिर कांग्रेस नेता कृष्णप्रसाद भट्टराई जेलबाट निस्किएपछि त्यहीँ आएर मिठाई खाएको केदारको स्मरणमा ताजै छ । ‘पछि किसुनजी लगातारजसो अन्य कार्यकर्ता लिएर आइरहन्थे,’ उनले भने ।

त्यति मात्रै होइन, कांग्रेस नेता गोविन्दराज जोशी, नेकपाका नेता वामदेव गौतम, मातृका यादव, देव गुरुङलगायत नेताहरु साथीहरू लिएर त्यहीँ आउँथे । मिठाई, चिया खाएर जान्थे । अहिले पनि राजपाका नेता महन्त ठाकुर भने आइरहन्छन् भन्छन् केदार ।

अहिले विभिन्न विदेशी परिकार भित्रिएका कारण मानिसले नेपाली अर्गानिक परिकारको स्वाद बिर्सिन लागेको उनको भनाइ छ । नेपाली स्वादलाई जोगाइराख्नु पनि गणेश मिठाई भण्डार र बद्रीको हलुवाईको जिम्मेवारी भएको उनको भनाइ छ ।

संस्कृति/परम्परा नमरेसम्म 

जमानादेखि किन परिवर्तन भएन त यो मिठाई पसल ? केदारको सरल उत्तर छ, ‘यो पुर्खाको बिरासत हो ।’ उनको पसलवरिपरि कति धेरै आधुनिक बेकरी र क्याफेहरू खुले । आधुनिक पसल बने, तर उनी मिठाई बेच्नमै लागिरहे । त्यही गरिरहन चाहन्छन्, किनकि यो उनका पुर्खाहरूले छाडेको बिरासत हो । पुर्खाहरूप्रति सन्तानको योभन्दा ठूलो सम्मान के हुन सक्छ र !

यो पसल परिवर्तन नहुनुमा एउटै कारण रहेछ– अर्गानिक स्वाद । यो मिठाई पसल कहिल्यै नमासिने तर्क गर्छन्, उनी । नेवार समुदायलाई जन्मदेखि मृत्युसम्मका संस्कारमा एउटै मात्र भए पनि मिठाई चाहिँदो रहेछ । त्यही कारण पनि मिठाई पसलको अस्तित्व त्यति चाँडै नसकिने केदारको दाबी छ ।

विसं ६९८ देखि ७३६ सम्म ललितपुरमा राज्य गरेका राजा नरेन्द्रदेवको पालादेखि मनाउन थालिएको भोटो जात्राको केन्द्रबिन्दु जावलाखेल हो । जसलाई रातो मच्छिन्द्रनाथ पनि भनिन्छ । राष्ट्रप्रमुखले समापन गर्ने जात्राको समयमा मिठाई अत्यधिक बिक्री हुने गरेको उनको भनाइ छ । जुन कुरा संस्कृति तथा परम्परासँग जोडिएको छ । केदार भन्छन्, ‘यो पसल सकिनका लागि संस्कृति र परम्परा नै सकिनुपर्छ ।’

गणेशराज राजकर्णिकार पछि अस्तराज राजकर्णिकार हुँदै आइपुगेका गौरी र रामकुमारका दुई छोरी छन् । उनीहरूलाई सधैँ डर लाग्छ, छोरीहरूले यसलाई निरन्तरता दिँदैनन् कि भनेर । यसबारे गौरी भन्छिन्, ‘अब हाम्रै पालोसम्म त होला यो । छोरीहरूले गर्दैनन् जस्तो लाग्छ । तर बन्द नहोस् भन्ने चाहन्छौँ ।’

यसबारे नानीबेटी ताम्राकारपछि कृष्णबहादुर ताम्राकार, त्यसपछि बद्री ताम्राकार हुँदै आइपुगेका केदार ताम्राकारको भने फरक मत छ । उनका छोरा भर्खरै चाइनाबाट मास्टर्स गरेर आएका छन् । उनी ढुक्क छन्, छोराले पनि चलाउँछन् भनेर ।

अलि मोडिफाई गरेर चलाउने योजनामा छन्, बाबु–छोरा । बाँकी दिनको इतिहासको प्रत्यक्षदर्शी हुने आशाका साथ भन्छन्, ‘यो पसललाई हल्का मोडिफाई गरेर चलाउँछ, छोरोले ।’

तपाईको प्रतिक्रिया