महिला अस्मिताको सुरक्षामाथि प्रश्न - Naya Patrika
eNaya Patrika
  • ePaper

महिला अस्मिताको सुरक्षामाथि प्रश्न

हिजोको हाम्रो समाजका कुरीति र कुसंस्कारको प्रतिबिम्ब नै बलात्कारको निरन्तरता त होइन ?

झन्डै चार वर्षअघि ८ फागुन ०७१ मा बाराको कलैया–८ को मदरसा टोलका नारायण शाहकी ६ वर्षीया छोरी पूजा शाहलाई २८ वर्षका कन्हैया गुप्ताले बलात्कार गरे । बलात्कारपछि अबोध पूजाको यौनांगमा किला ठोकेर उनलाई फोहोरको थुप्रोमा फ्यालिदिए र उनी आफ्नो बाटो लागे । बेलुका घरमा छोरी नफर्किएपछि पिता नारायण शाहले प्रहरीमा उजुरी दिए ।

गाउँलेको सहयोगमा भोलिपल्ट ९ फागुनमा फोहोरको थुप्रोमा आर्तनाद गर्दै गरेकी पूजालाई फेला पारियो । बलात्कृत पूजा असह्य पीडाले बिहानसम्म मर्दै–मर्दै बाँचिरहेकी थिइन् । उनी अचेत मात्र थिइनन्, आफ्नो छियाछिया भएको शारीरिक अवस्थाबाट पल–पल मृत्युसँग साक्षात्कार पनि गर्दै थिइन् ।

 

याचना गर्न सक्ने भए उनी भगवान्सँग भन्थिन् होला– ए भगवान्, यो पितृसत्तात्मक समाजमा मलाई पहिलेकै अवस्थामा फर्काइदेऊ । म यो कुनै सत्य नसुनाएरै बरु अपमानको जिन्दगी बिताउन तयार छु । तर, उनको मुखमा याचनाका शब्द निकाल्ने सामथ्र्य नै कहाँ थियो र ? विवश थिइन्, आफ्नो अवस्था यो कुरूप समाजलाई जस्ताको त्यस्तै देखाउन ।

त्यहाँ पुग्ने सबै भावविह्वल थिए । महिलाका आँखामा अपमान र आक्रोशको आँसु थियो भने पुरुषका आँखामा लज्जा र हीनताबोधको । पूजालाई काठमाडौंको कान्ति बाल अस्पतालमा ल्याइयो, तर उनले जीवनसित संघर्ष गर्न सकिनन् । उपचारकै क्रममा उनको निधन भयो ।

यो घटना देशभरि भुसको आगोसरी फैलिइसकेको थियो । कान्ति बाल अस्पतालमा आएका उनका परिवार, आफन्त, गाउँले, महिला अधिकारकर्मी, सबैले उनीप्रति निरन्तर आँसु बगाए । उनको शव गाउँमै फर्काइयो । गाउँमा तीव्र आक्रोश र अनुरोध मिसिएको एउटा विशाल आन्दोलन चलिरहेको थियो ‘बेटी बचाऊ संघर्ष समितिको’ नेतृत्वमा ।

शवलाई सडकमा लमतन्न पारेर न्याय माग्न आएका हजारौँ आन्दोलनकारी यो देशको कानुन परिमार्जन गर्न सरकारलाई चेतावनी दिँदै थिए– बलात्कारीलाई फाँसी दिने कानुन बनाइयोस् । नत्र न पूजा यहाँबाट उठ्छिन्, न हामी । त्यो हजारौँको भिडमा एक अचेत पुरुष पनि थिए ।

नारायण शाह अर्थात् पूजाका बुबा । उनी आँसु बगाउँदै भन्दै थिए– मेरी छोरी त मरी, तर अरू छोरीले यसरी मर्न नपरोस् भन्दै यस्तो आन्दोलनको निर्णय लिन बाध्य भएको हुँ । आफ्नी छोरी गुमाएका ती पितालाई कति धेरै छोरीको चिन्ता ! कत्रो विद्रोही विचार ! अन्ततः त्यो क्रूर बलात्कारी, हत्यारा कन्हैया गुप्ता पक्राउ प-यो र आफ्नो अपराध स्विका-यो । अत्याचारबाट प्रताडित भएर जीवन गुमाएकी पूजाको अस्तित्व सकिएको शरीरमाथि प्रशासनले न्यायका केही श्रद्धासुमन राखिदियो ।

हाम्रो समाजले पुरुषको बहादुरीका नाममा नेपाली महिलालाई कतै बलात्कारको सिकार बनाइरहेको त छैन ? हाम्रो शिक्षा प्रणाली नै कतै बलात्कारमैत्री त छैन ?

केही दिनअघि १० साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा १३ वर्षीया अबोध बालिका निर्मला पन्तमाथि उस्तै नियति दोहोरियो । पूजा शाहलाई फोहोरको थुप्रोमा फ्यालिएको थियो भने निर्मला पन्तलाई उखुबारीमा । पूजा शाहको उमेर ६ वर्षको थियो, निर्मला पन्तको १३ वर्ष ।

गत १७ फागुन ०७४ मा १५ वर्षीया एक सुस्तमनस्थितिकी बालिकालाई देशकै राजधानी काठमाडौंमा दुई साता नियन्त्रणमा राखेर पटक–पटक सामूहिक बलात्कार गरियो र छाड्ने वेला उनको शरीरको मूल्य दुई सय ५० रुपैयाँ तोकियो ।

नेपालमा मात्र हैन, आजभन्दा ७ महिनाअघि विहारको मुजफ्फरनगरको एउटा बालगृहमा ३४ बालिकालाई बलात्कार गरिएको समाचार सार्वजनिक भयो । आज भारतको सत्तापक्ष र प्रतिपक्षको राजनीति त्यही घटनावरिपरि घुमिरहेको छ । आगामी लोकसभा निर्वाचनको मुद्दा बनाएर दिल्लीको जन्तरमन्तरमा विपक्षीले ठूला–ठूला सभा गरिरहेका छन् ।

उही दिल्लीमा निर्भया नामकी एक युवतीलाई नेपालको सुस्तमनस्थितिकी १५ वर्षीया बालिकालाई जस्तै सामूहिक बलात्कार गरियो । त्यस घटनाले दिल्लीमा आन्दोलनको जेहाद छेड्यो र भारत सरकार बलात्कारसम्बन्धी कानुनै संशोधन गर्न बाध्य भयो । ३० जुलाई २०१८ मा भारतमा बलात्कार गरेको ठहरिएमा मृत्यृदण्ड दिने कानुन बनाइयो ।

उता भारतको संसद्मा बलत्कारसम्बन्धी कानुन संशोधन हुँदै गर्दा यता नेपालको संघीय संसद्मा सत्तापक्षीय सांसद शशी श्रेष्ठले १७ साउन २०७५ मा यस्तो सर्मनाक अभिव्यक्ति दिनुभयो, जसले सम्पूर्ण नेपाली महिलाको अपमान मात्र गरेको छैन, बलात्कारपीडितको गम्भीर उपहास नै गरेको छ ।

श्रेष्ठले संसद्मा भन्दै हुनुहुन्थ्यो– ‘यस्ता बलात्कारका घटनाबाट कम्युनिस्टको बहुमतको सरकार असफल बनाउन कतै षड्यन्त्र त भइरहेको छैन ?’ संसद्मा प्रधानमन्त्री पटक–पटक हुइयाँ मच्चाउने अनि उहाँका सांसदबाट त्यहीँ सुशासनको धज्जी उडाउने क्रियाकलाप स्वीकार्य छैन । महाभारतमा द्रौपदीको चीरहरण दुःशासनले गरेका थिए ।

कलियुगको नेपालमा नेपाली महिलाको चीरहरण सुशासनका नाराले गरिरहेको छ । काठमाडौंको दरबारमार्गको ल्यान्डमार्क, ललितपुर र इटहरीका घटनामा न्याय दिने प्रशासन अधिकारीले नै घटना दबाउन मिलेमतो गरेका ताजा घटना बिर्सिएर सत्तापक्षकै सांसद संघीय संसद्भित्रै बलात्कारलाई वैधानिक स्वीकृति दिन तम्सिरहेकोजस्तो लाग्ने यस्तो अभिव्यक्ति सभ्य समाजको नाममा कलंक लगाउने दुष्प्रयास हो ।

बलात्कारजस्तो जघन्य अपराध किन बढ्दै छ हाम्रो समाजमा ? यसमा कतै सामाजिक मनोविज्ञानले प्रश्रय त दिइरहेको छैन ? हिजोका कुरीति र कुसंस्कारको प्रतिबिम्ब नै बलात्कारको निरन्तरता त हैन ? धार्मिक, सांस्कृतिक, अन्धविश्वासबाट जकडिएको नेपाली समाज धर्म र संस्कृतिको नाममा नेपाली महिलालाई कतै बलात्कारको सिकार बनाइरहेको त छैन ?

हाम्रो शिक्षा प्रणाली नै कतै बलात्कारमैत्री त छैन ? पुरुषको बहादुरी मात्र पाठ्यक्रममा राख्ने तर योगमायाजस्ता क्रान्तिकारी महिलाको चित्रण नगर्ने हाम्रो पाठ्यपुस्तक नै परिवर्तनका बाधक त हैनन् ?

ससुरा र जेठाजुलाई सारी टाउकामाथि राख्दै शिर झुकाउने, लोग्नेको गोडाको पानी खुवाउने, पतिका लागि निराहार व्रत बस्नुपर्ने, शिवलिंगको पूजा गराउने, छोरालाई खुला जीवन तर छोरीमाथि नजरबन्दसरह जीवन व्यतित गर्न लगाउने हाम्रो समाजले नै छोरीलाई शासित र छोरालाई शासक बनाउन खोजेको छ । जसले गर्दा पनि बलात्कारजस्ता जघन्य अपराधले टाउको उठाइरहेको हो कि ?

तपाईको प्रतिक्रिया