राज्य, समाज र बलात्कार - Naya Patrika
eNaya Patrika
  • ePaper

राज्य, समाज र बलात्कार

नेपाली समाजमा ‘महिला हिंसा’ले अब अर्थ गुमाउँदै गएजस्तो देखिँदै छ । ‘महिला हिंसा’ मात्रले त घरभित्र या बाहिर सार्वजनिक या निजी जीवनमा महिलामाथि हुने मानसिक तथा भौतिक आक्रमण, दबाब या हेलाहोचोलाई मात्र जनाउलाजस्तो सरल भाषाको प्रतिनिधित्व गर्न थाल्यो ।

दिनदिनै जब महिला घरदेखि बाटाघाटा, सहर बजार या वनजंगल जताततै बलात्कृत हुन थाल्छन्, जब दुधे बालिकादेखि दाँत झरेका वृद्धासम्मको जीवन असुरक्षित र भयग्रस्त हुन थाल्छ अनि यस्ता शब्दलाई व्यक्त गर्ने नयाँ अर्थ बोेकेका शब्द या शब्दावली खोजी गर्नुपर्ने हुन्छ ।

बलात्कार अहिले सर्वत्र भय र सार्वजनिक चासोको विषय बनेको छ । विश्वका अत्यन्त खराब अवस्था भएका देशमा जस्तै नेपालमा पनि बलात्कार र बलात्कारपछिको हत्याले एउटा भयानक संक्रामक रोगको रूप लिन थालेको छ ।

आफ्ना बाबु, दाजु, हजुरबा, नातेदार, छिमेकी, चिनजानका या अपरिचित, साथी या साथीका साथी जोसुकैबाट बालिका, किशोरी, युवती, महिला र वृद्धा निरन्तर असुरक्षित हुँदै गएका छन् । कञ्चनपुरमा भएको बलात्कार र हत्याकाण्डका अपराधी पत्ता नलाग्दै देशमा अरू दर्जन बालिका बलात्कृत भइसकेका छन् ।

यसविरुद्ध खबरदारी, सामाजिक चेतना अभियानका रूपमा विस्तार नगर्ने हो भने, परिवार, टोलछिमेक र विद्यालयलाई यस्ता अभियानमा तत्काल सामेल नगर्ने हो भने, बलात्कारी आपराधिक मनोवृत्ति बोकेको हरकोहीमा दण्ड र सजायको भय सिर्जना नगर्ने हो भने यसले समाजलाई अरू भयग्रस्त बनाउँदै लाने निश्चित छ ।

भर्खर परिवारको घेराबाट सार्वजनिक वृत्तमा निस्कन थालेका महिला, किशोरी या बालिका कसैको पनि सुरक्षा प्रत्याभूति नहुने देश र समाज कसरी बस्नलायक रहन्छ ?

समाज आफैँले किन आफ्नो समुदायभित्र बलात्कारी हुर्कने वातावरण बनाइरहेको छ ? के यसलाई रोक्न आवश्यक कदम चालिएको छ ?

पछिल्लो समयमा बलात्कारका विषयलाई लिएर राज्यसँग नागरिकले प्रश्न गर्न थालेका छन् । हाम्रो राज्य किन यस्ता निरन्तरका बलात्कार रोक्न असफल भएको हो ? किन समाज आफैँले आफ्नो समुदायभित्र बलात्कारी हुर्कने वातावरण बनाइरहेको छ ?

के यसलाई रोक्न आवश्यक कदम चालिएको छ ? पुरुषहरू कुन हीनग्रन्थिको सिकार भएर बलात्कारजस्तो जघन्य अपराधमा सामेल भइरहेका छन् ? यो हिंस्रक मनोविज्ञान या मनोरोग निर्माण गर्न समाजका के–के सांस्कृतिक, आर्थिक र राजनीतिक पक्ष जिम्मेवार छन् ? यिनको खोजी र उपचार हुनुपर्दैन ?

राज्यको अर्को अंग न्यायालय किन बलात्कारपीडितलाई न्याय दिन चुकिरहेको छ ? बैतडीकी पूजा बोहराको मुद्दामा बलात्कारीको पक्षमा फैसला गर्ने न्यायाधीशलाई उनका आफन्त र चिनेजानेका मानिसले बहिष्कार गरे कि गरेनन् ? तिनलाई राज्यले आवश्यक कारबाही ग-यो कि गरेन ?

उनको मुद्दा सर्वोच्च न्यायालयमा २१ पटक पेसी चढ्दा पनि फैसला नहुनुपर्ने कारण के हो ? यसको पछाडि कसको शक्तिले काम गरेको छ ? सुशीला कार्की प्रधानन्यायाधीश हुँदासमेत यसको फैसला किन हुन सकेन ?

के राज्यका अनेक अंग यस्ता मुद्दामा पनि बलात्कृत महिलालाई नै अनन्त पीडा दिन लागिपरेका हुन् ? यससम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा बहसमा लान सभामुख किन तर्किरहेका हुन् ? के उनलाई महिला अस्मिता रक्षाका लागि समाजका सबै पक्षले संकल्प गर्न ढिलो भयो भन्ने लाग्दैन ? यी प्रश्नको जवाफ तत्काल सरोकारवालाबाट आमजनता आश्वस्त हुने गरी आउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु