एक–अर्काप्रतिको चीन–अमेरिकी बुझाइ - Naya Patrika
eNaya Patrika
  • ePaper

एक–अर्काप्रतिको चीन–अमेरिकी बुझाइ

चीन र अमेरिकाबीचको मुख्य समस्या व्यापार युद्ध मात्र होइन, बरु राजनीति, अर्थतन्त्र र रणनीतिको जटिल मिश्रण मुख्य जड हो

अमेरिका–चीन व्यापार विवाद बढेसँगै बजार तथा मिडियामा ठूलो द्विविधा उत्पन्न भएको छ । दुई देशबीचको पछिल्लो सम्बन्धलाई व्यापार युद्ध, आर्थिक युद्ध र सफ्ट युद्धजस्ता शब्दावलीको प्रयोग भइरहेको छ ।

यद्यपि, यी देशबीच नै एकअर्कालाई बुझ्ने सन्दर्भमा भिन्नता आएको छ । यस्तो परिस्थितिले अमेरिका–चीन सम्बन्धमा खलल पु-याउनुका साथै विश्व व्यवस्थालाई नै प्रभावित गर्नेछ ।

वास्तवमा, अमेरिका र चीनबीच केही महत्वपूर्ण मुद्दामा असमझदारी छाएकै हो । विश्व व्यवस्थालाई चीन र अमेरिका दुवैले गलत ढंगबाट बुझेका छन् । सार्वभौम राष्ट्रहरूले विश्व बनेको छ भन्ने स्वीकारोक्ति र धारणा अन्तर्राष्ट्रिय कानुनले समेत गरेका छन् ।

सार्वभौम राष्ट्रमा प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारको महत्व सर्वश्रेष्ठ हुन्छ भन्ने बुझाइ विगतमा अमेरिकाको थियो । तर, वर्तमानका क्रियाकलापबाट सार्वभौम राष्ट्रप्रतिको पुरानो अमेरिकी बुझाइ कायम रहेको देखिएन ।

यसरी, उदारवाद र अन्तर्राष्ट्रियवादको वकालत गर्ने अमेरिका अहिले आफ्नै स्वार्थमा केन्द्रित भएको छ । अर्कातर्फ, चीनले विश्व सुशासनमा जोड दिने गथ्र्यो । यही बुझाइका कारण देशबीचको परस्पर निर्भरतालाई क्षेत्र–क्षेत्रबीचको परस्पर निर्भरतामा बदल्ने उद्देश्यले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ प्रस्ताव गरेको हो ।

विश्व शान्ति र स्थायित्वका लागि यस्तो प्रस्ताव अघि बाढाएको तर्क चीनको छ । तर, आर्थिक सहकार्यले आधारभूत तहमा देशबीचको द्वन्द्व समाधान हुन नसक्ने महसुस अहिले चीनले गरेको छ ।

वास्तवमा चीन विश्वको नेतृत्वदायी भूमिका लिने प्रयासमा छ । यसर्थ चीनले प्रतिस्पर्धी तथा विरोधी शक्तिको सामना गर्नु स्वाभाविक हो । यसैगरी, विश्व जनमानसलाई हेर्दा, मानिसहरू अमेरिकाको विरोधमा छैनन् । तर, अन्य देशलाई नियन्त्रणमा राख्ने तथा आफ्नो दबदबा बनाउन खोज्ने अमेरिकी कदमविरुद्ध उनीहरू छन् ।

अर्कातर्फ, मानव समाज विकास प्रवृत्तिको सन्दर्भमा अमेरिका र चीनबीच असमझदारी देखिएको छ । यसरी हेर्दा, विश्वव्यापीकरणलाई केही मानिसले गलत ढंगले बुझेका छन् । शीतयुद्ध समाप्तिपछि फैलिएको विश्वव्यापीकरणको लहरले देशबीचको अवरोध हटाएर उनीहरूलाई द्रुतगतिमा जोड्ने काम ग-यो । विश्वव्यापीकरणभन्दा अगाडि चीनका किसानको दैनिकी कस्तो छ भन्नेबारे अमेरिकी किसानको सोचाइमा आउँदैनथ्यो ।

विश्वव्यापीकरणले यति छिटो परिवर्तन ल्यायो कि धेरै देशले विश्वव्यापीकरणलाई आत्मसात् गर्नै सकेनन् । यसकारण, चीन र अमेरिकालगायत मुलुकमा ठूलो समस्या निम्तियो । यस्तो अवस्थामा ‘पपुलिज्म’ र संरक्षणवादको उदय हुनु तर्कसंगत छ ।

चीन र अमेरिकाबीचको मुख्य समस्या व्यापार युद्ध मात्र होइन । बरु, राजनीति, अर्थतन्त्र र रणनीतिको जटिल मिश्रण मुख्य जड हो । चीनले आफू विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको हैसियतमा व्यापार नियमका उच्चतम मापदण्ड पालना गर्नुपर्छ । अमेरिकाले पनि नियन्त्रणात्मक मानसिकता ल्यागेर चीनलगायत बाँकी विश्वसँग विवेकपूर्ण सम्बन्ध स्थापित गर्नुपर्छ ।

(लेखक चीनको फुदान विश्वविद्यालयमातहतको सेन्टर फर अमेरिकन स्टडिजको विदेश सम्बन्ध विषयका प्राध्यापक हुन्)
ग्लोबल टाइम्सबाट

तपाईको प्रतिक्रिया