पोग्बालाई बार्सिलोनाको प्रस्ताव - Naya Patrika
eNaya Patrika
  • ePaper

पोग्बालाई बार्सिलोनाको प्रस्ताव

स्पेनिस क्लब बार्सिलोनाले विश्वच्याम्पियन म्यानचेस्टर युनाइटेडका २५ वर्षीय स्टार पाउल पोग्बालाई भित्र्याउने प्रस्ताव गरेको छ । बार्सिलोनाले अनुबन्धित रकम नखुलाए पनि प्रतिसाता ३ लाख ५० हजार पाउन्ड दिने प्रस्ताव पोग्बासमक्ष राखेको छ । अहिले पोग्बाले युनाइटेडबाट प्रतिसाता २ लाख ९० हजार पाउन्ड थाप्ने गरेका छन् । प्रतिसाता पारिश्रमिक राम्रो भएपछि पोग्बाले युनाइटेड छोड्ने संकेत गरेका छन् ।

प्रतिसाता ५ लाख पाउन्ड
पोग्बाले युनाइटेडमै रहन आफूले प्रतिसाता ५ लाख पाउन्ड पाउनुपर्ने स्पष्ट पारेका छन् । गत सिजनमा आर्सनलबाट प्रमुख स्ट्राइकर एलेक्सिस सान्चेजलाई युनाइटेडले प्रतिसता ५ लाख पाउन्ड दिने सर्तमा भित्र्याएको थियो । पोग्बाले पनि सान्चेजबराबरी नै पारिश्रमिक पाउनुपर्ने माग राखेका छन् । २ वर्षअघि युभेन्टसबाट आउँदा पोग्बाको पारिश्रमिक प्रत्येक सिजनमा वृद्धि हुने भनिएको थियो । तर, दुई सिजन बस्दा पनि आफ्नो पारिश्रमिक नबढेपछि पोग्बा खिन्न छन् ।

म्यानचेस्टरले नबेच्ने
बार्सिलोनाले स्टार खेलाडीका रूपमा पोग्बा भित्र्याउने प्रक्रिया अगाडि बढाए पनि युनाइटेडले पोग्बालाई तत्काल नबेच्ने भएको छ । पोग्बाको भूमिका महत्वपूर्ण हुने भन्दै तत्काल बेच्ने योजनामा क्लब नरहेको युनाइटेडले स्पष्ट गरेको छ । बिहीबार खेलाडी किनबेचको अन्तिम दिन हो ।

माउरिन्होसँग खराब सम्बन्ध
जोसे माउरिन्होले नै पोग्बालाई युभेन्टसबाट कीर्तिमानी रकम ८ करोड ९० लाख पाउन्डमा अनुबन्ध गरेका थिए । तर, पोग्बाको प्रदर्शन ओल्ड ट्राफोर्डमा गतिलो नभएपछि प्रशिक्षक माउरिन्हो खासै खुसी छैनन् । पोग्बा प्लेइङ ११ मा नपर्दा उनी र प्रशिक्षक माउरिन्होसँगको सम्बन्ध त्यति राम्रो नभएको ब्रिटिस मिडियाले जनाएका छन् । पोग्बाले माउरिन्होले आफूलाई अभद्र व्यवहार गरेको तथा खेल्ने अवसरसमेत नपाइरहेको दाबी गरेका थिए । बार्सिलोनाबाट आएको प्रस्तावलाई पोग्बाले सकारात्मक रूपमा लिएको एजेन्सीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया