लमजुङ कारागारमा खेलकुद प्रतियोगिता - Naya Patrika
eNaya Patrika
  • ePaper

लमजुङ कारागारमा खेलकुद प्रतियोगिता

लमजुङ कारागारमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । कारागारभित्रै फुटवल, चेस र क्यारमबोर्ड प्रतियोगिताको आयोजना गरिएको हो । काराकारका कैदीबन्दीले साउन २२ गतेलाई खेलकुद डे को रुपमा मनाउने निर्णय गरी पहिलोपटक कारागारभित्रै खेलकूद प्रतियोगिताको आयोजना गरेको कैदीबन्दीले बताएका छन् ।

कालिका समूह, गुफा समूह र पाका उमेर समूहका २/२ टिम फुटबल खेलमा सहभागि थिए । ५/५ जना समूह गरेर खेल खेलिएकोमा गुफा समूह ‘ए’ पहिलो भएको थियो । उक्त टिमले नगद ३ हजार रुपैयाँ र मेडल पाएको छ ।

प्रतियोगितामा सर्वाधिक ५ गोल गरी गुफा समूह ‘ए’ का रोशन खत्रीले ५ सय रुपैयाँ पाए । युवातर्फ नवीन गुरुङ र पाका समूहतर्फ मेख दुराले उत्कृष्ट खेल प्रदर्शन गरेबापत उत्कृष्ट खेलाडीको उपाधिसहित जनही ५ सय रुपैयाँ पाए ।

चेस खेलमा शेखर शाही प्रथम भए । उनले १ हजार रुपैयाँ र मेडल पाए । क्यारम्बोर्डमा भरत राना र दिनेश परियारको जोडी प्रथम भए । उक्त टोलीले १ हजार रुपैयाँ र मेडल पाए । क्यारमबोर्डमा ६ जोडी र चेसमा ४ जना सहभागि भएको कारागारका चौकीदार आषिश रानाले बताए ।

उनका अनुसार कारागारभित्रै खेलकुदमा रमाउन पाउँदा कैदीबन्दी खुसी छन् । कारागारका जेलर तीर्थबहादुर अधिकारीले कारागारको व्यवस्थापनमा कैदीबन्दीलाई खेलकुद प्रतियोगितामा सहभागि गराइएको बताए ।

प्रतियोगिताका लागि पुरस्कार खर्च कैदीबन्दी आफैंले व्यवस्थापन गरेका हुन् । दैनिक दिइने सिदाबापतको ४५ रुपैयाँबाट हरेकले ५/५ रुपैयाँ कोषमा जम्मा गर्ने गरेको र उक्त कोषको पैसा खेलकुद प्रतियोगितामा खर्च गरेको कैदीबन्दीले बताएका छन् ।

तपाईको प्रतिक्रिया