पार्टीमा गुट भनेको नश्लवाद हो - Naya Patrika
eNaya Patrika
  • ePaper

पार्टीमा गुट भनेको नश्लवाद हो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसाल मार्क्सवादका अध्येताका रूपमा चिनिन्छन् । ०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी वाम आन्दोलनका कमजोरीबारे खुलेर आफ्ना कुरा राख्छन् । ०६२/६३ को जनआन्दोलनमार्फत नेपालमा ‘जनवादी क्रान्ति सम्पन्न’ भयो भन्ने मत राख्ने उनी समाजवादसम्म पुग्ने विकल्पबारे पार्टीमा छलफल हुन नसकेको बताउँछन् । नयाँ पत्रिकाको फेसबुक लाइभमा भुसालसँग गरिएको संवादको सम्पादित अंशः

पार्टीभित्र प्रतिपक्षी भएर बस्न कत्तिको सजिलो छ ?

सहज र असहज दोस्रो कुरा होला । केमा प्रतिपक्ष भन्ने कुरा मुख्य हो । हिजो राम्रो–नराम्रो जे भयो, त्यो मान्छेले गरेको हो । भोलि जे हुन्छ, त्यो पनि मान्छेले नै गर्ने हो । यसर्थ मान्छे बनाउनेतिर मेरो बढी ध्यान छ । हाम्रोमा एक खालको गीतापाठ छ । त्यसैले धेरै गीतावादीहरू मेरो विरोध गर्छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको कारणलाई पार्टीभित्रको आन्तरिक जनवादसँग जोडेर हेरिएको छ । फरक मत राखेकै कारण तपाईंले स्पष्टीकरण दिनुपरेको छ कि छैन ?

आममान्छेको चासो तत्कालीन, झकिझकाउ र क्याची घटनाको रोमाञ्चक वर्णनमा हुन्छ । म विषयवस्तुलाई घटनामा हेर्दिनँ । समाजको ‘टेक्टोनिक प्लेट’लाई हेर्छु । मार्क्सवादी भएको नाताले समाजलाई हल्लाउने चिजहरू कता जाँदै छन् भन्नेमा मेरो बढी ध्यान हुन्छ ।

यस अर्थमा हाम्रो आन्दोलन, नेतृत्वले हामी कता जाने भनेर ध्यान दिन सकेको छैन । त्यसकारण राजीनामा दिने, प्रश्न सोधिने, निर्णय उल्लंघन गर्ने तमाम चिज आगामी दिनमा हामीले अझै धेरै व्यहोर्नु पर्नेछ । म आगामी दिनमा हाम्रो आन्दोलनले, हाम्रो नेतृत्वले यस्ता धेरै समस्या झेल्नुपर्छ भन्नेमा मानसिक रूपले तयार छु ।

नागरिक अभियन्ता डा. देवेन्द्रराज पाण्डे र लेखक खगेन्द्र संग्रौलाले तपाईंमाथि पार्टी लाइनको आलोचना गर्दै एक्लै दौडिरहेको आरोप लगाउनुभएको छ । केही गर्ने सम्भावना बोकेको मान्छे यसरी पार्टीको बागी बनेर कहाँसम्म र कहिलेसम्म दौडिरहने हो ?

उहाँहरू हाम्रो समाजका धेरै विशिष्ट व्यक्तित्व हुनुहुन्छ । कम्तीमा यति चासोका लागि म धन्यवाद ज्ञापन गर्छु । मेरो समय यत्तिकै खेर गएको छैन । व्यक्तिगत रूपमा म धेरै असन्तुष्ट छैन । नेपाली समाज हिजोजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेन, जनवादी क्रान्ति पूरा भयो भन्दा हामी थोरै थियौँ । केन्द्रीय समितिमा समेत नभएका केटाहरूले पार्टीलाई यहाँ ल्यायौँ ।

यस अर्थ सैद्धान्तिक रूपले राम्रो काम ग-यौँ भन्ने लाग्छ । मलाई लाग्छ– विचारको, मूल्यको, समाजको गतिको र गन्तव्यको कोणबाट हेर्ने हो भने यो देखिने कुरा नै हो । यसलाई हेर्ने कसरी त्यो बेग्लै कुरा हो ।

मेरा सम्पूर्ण प्रयत्नहरूको प्रतिफल नै नेकपा र यसको सरकार हो । मेरो डर हामीले यो जिम्मेवारी पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । म आज माओत्सेतुङले भनेको कुरा स्मरण गर्दै छु, उहाँले चीनमा सन् १९४९ मा क्रान्ति सम्पन्न भएको झन्डै १५–१६ वर्षपछि ‘क्रान्तिले जित्छ कि प्रतिक्रान्तिले अझै निश्चित भएको छैन’ भन्नुभएको थियो ।

चुनाव जितेर हामी नेकपाका नेताहरू बढी खुसी भयौँ कि ? यसलाई मैले विजयको रोमाञ्चकता भन्ने गरेको छु । मंसिरदेखि अहिलेसम्म हामी धर्तीमा झरेर राम्रोसँग आफ्नो दायित्व बुझ्न सकेनौँ । यदि नेकपाको भाग्यमा, उसको निधारमा यो जिम्मेवारी पूरा गर्छ भनेर लेखिएको रहेछ भने विश्वास गर्नुस्, हामीले केही गरेर देखाउँछौँ ।

आफूलाई भौतिकवादी भन्नुहुन्छ अनि भाग्यमा र निधारको कुरा गर्नुहुन्छ । भौतिकवाद र भाग्यवाद आफैँमा दुई फरक विषय होइनन् र ?

यो समाजले भोलि समाजवाद दखेछ भने त्यो संयोगलाई भाग्यको अर्थमा भनेको हो । मेरो भनाइ यदि समाजवाद आउँछ भने त्यो समाज नै समाजवादी छ कि छैन भन्नेबाट सुरु हुन्छ । त्यसका लागि पात्र चाहिन्छ । त्यो पात्र एउटा समूह, जनताको संगठित शक्ति र राजनीतिक पार्टी हुन्छ । अझै नेकपाले आफैँभित्र समाजवादको अभ्यास गर्न बाँकी छ । यसो भन्दै गर्दा नेकपासँग समाजवादको कार्यक्रम छैन भन्ने होइन ।

एउटा निश्चित विचार हुँदाहुँदै पनि तपाईंलाई कसैले साथ दिँदैनन् भने एक्लै कुद्नुको के अर्थ ?

यत्रो सरकार, सुविधा र अवसर भएको वेलामा त्यहाँ मेरो एउटा मान्छे पनि नहोला । व्यक्तिगत रूपमा अहिले म दुई–चारजना मान्छेको लोभमा नाजायज रूपमा उनीहरूलाई ‘प्रमोट’ गर्ने पक्षमा छैन । यसरी एक्लै हो भने म यो एक्लोपनालाई हार्दिकतासाथ स्वीकार गर्छु ।

अहिले हामी रुस, चीन, क्युवा र भियतनामी क्रान्तिको मोडेलमा छैनौँ । हामी पुष्पलाल, मदन भण्डारी र प्रचण्डजीले भनेजस्तो ठाउँमा पनि छैनौँ । हामी नयाँ ठाउँमा छौँ । हामीसँग कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ छैनन् भन्ने पहिले हामीले स्विकार्नुपर्नेछ । म अध्यक्ष हुँ, मैले भनेपछि समाजवाद आउँछ भन्ने अहंकारले जित्यो भने समाजवाद नआउने ग्यारेन्टी हुन्छ ।

म अहिले खासगरी नयाँ पिँढीलाई मार्क्सवाद पढाउने र पुरानो पिँढीलाई मार्कसवादको पुनर्ताजगी गराउने काम गरिरहेको छु । त्यस्ता कार्यक्रममा १५–१७ सय साथीहरू उपस्थित हुँदा म असाध्यै गौरव महसुस गर्छु । त्यस अर्थमा मार्क्सवादले हामीलाई निर्देशित गर्नुपर्छ भन्ने तमाम जनता म आफैँसँग देख्छु ।

सरकारको कामको समीक्षा गर्दै योजनाविद् पीताम्बर शर्मा र मानवशास्त्री सुरेश ढकालले सरकार समाजवादको बाटोमा नहिँडेको तर्क गर्नुभएको छ । के उहाँहरूले भनेजस्तै समाजवादको अवसान हुँदै गएको अवस्था हो ? तपाईंलाई के लाग्छ ?

समाजवादतर्फ जाँदै छौँ कि छैनौँ भन्ने प्रश्न महत्वपूर्ण हो । तर, त्योभन्दा महत्वपूर्ण प्रश्न स्वयं समाजवाद भनेको के हो भन्ने हो । यसमा छलफल भएको छैन । आन्दोलनबाट हुलमुलमै संविधानमा समाजवाद आयो ।

अनावश्यक आयो भनेको होइन, तर के सोचेर यसमा सबैले समर्थन गरे भन्ने हो । त्यसबाहेक हाम्रो सन्दर्भमा समाजवाद भनेको के ? आफैँ आउँछ ? सिंहदरबारले, पार्टीको नेतृत्व बाँड्ने हो ? समाजवाद पस्कन मात्र बाँकी हो ? अथवा यो कुनै भोजजस्तो हो ? परिभाषित छैन ।

दुःखका साथ भन्नुपर्छ, हाम्रो पार्टीको स्थायी समितिमा समेत समाजवाद कस्तो हुने ? यसका चरण के–के हुने ? त्यसलाई कसले साथ दिनेछ वा छैन ? कुन वर्गको पक्षमा काम गर्नेछ ? भनेर छलफल भएकै छैन । धन्न दस्ताबेजमा नेपालको दलाल पुँजीवाद समाजवादको विरुद्धमा आउनेछ भनेर घुर्माइलो कुरा लेख्यौँ ।

त्यो पनि धेरै लामो प्रयत्नपछि लेखिएको हो । तर, धेरै कुरा अस्पष्ट छ । हामीले त्यसको पक्षमा जनता र राष्ट्रलाई कसरी उभ्याउनेछौँ स्पष्ट पार्न बाँकी छ । एउटा कुनै खास वर्गले मात्र आफूलाई मुक्त गर्न सक्दैन । मुक्तिको प्रश्न राष्ट्रिय प्रश्न हो । यसरी, अहिले समाजवादको चर्चा केवल शाब्दिक अर्थमा भइरहेको छ ।

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादलाई बहसमा थाती राखेर जानुपर्छ भन्ने तपाईंको लाइन छ । मदन भण्डारीको ‘जबज’ सिद्धान्तको ‘च्याप्टर क्लोज’ भएको मान्ने तपाईंले मार्क्सवादको सिर्जनात्मक विकास र प्रयोग भन्नु फेरि पुरानै दिशामा फर्कनु होइन र ? 

जबजको ‘च्याप्टर क्लोज’ भएकै हो, तर त्यो तत्कालीन एमालेको ९औँ महाधिवेशनले ‘क्लोज’ गरेको हो । जबजको उद्देश्य साम्राज्यवाद, समान्तवादसँग लड्दै जनवादी क्रान्ति पूरा गर्नु थियो । जब नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छैन र जनवादी क्रान्तिको कार्यभार पूरा भयो भनियो, तब जबजको ‘च्याप्टर क्लोज’ भयो कि भएन ?

रह्यो मदन भण्डारीको कुरा, उहाँले जनताको बहुदलीय जनवादलाई मार्क्सवादको मार्गनिर्देशक सिद्धान्तभित्र रहेर सिर्जनात्मक प्रयोग भन्नुभएको हो । त्यसैले जबज भनेको मार्क्सवादभन्दा बाहिरबाट ल्याइएको सिद्धान्त होइन । न त मार्क्सवादभन्दा अघि बढेर ल्याइएको सिद्धान्त हो ।

जसरी तपाईंले जबज अघिको र मार्क्सवाद पछि भएको भन्नुभयो त्यो कुरा दस्ताबेजको राम्रो अध्ययन गरे सही व्याख्या बुझ्न सक्नुहुन्छ । भन्नुको अर्थ सिर्जनात्मक प्रयोगको चरण हिजो एउटा थियो, आज अर्को छ । हामीले माक्र्सवादको इतिहास बनाउनु पर्नेछ किनभने हामीसँग सन्दर्भ सामग्री छैनन् ।

अहिले हामी रुस, चीन, क्युवा र भियतनामी क्रान्तिको मोडेलमा छैनौँ । हामी पुष्पलाल, मदन भण्डारी र प्रचण्डजीले भनेजस्तो ठाउँमा पनि छैनौँ । हामी नयाँ ठाउँमा छौँ । हामीसँग कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ छैनन् भन्ने पहिले हामीले स्विकार्नु पर्नेछ । हामीले लगाएको फुलीले क्रान्तिको कार्यक्रम तय गर्दैन ।

जुन पुँजीले हाम्रा छोराछोरीलाई रोजगारी दिन्छ र राष्ट्रिय बचतलाई बढाउँछ, त्यो राष्ट्रिय पुँजी हो । जसले रोजगारी सिर्जना गर्दैन र हाम्रो राष्ट्रिय बचतलाई बढाउँदैन, त्यो दलाल पुँजी हो । त्यसैले दलाल पुँजीलाई राष्ट्रियकरण गर्नुपर्छ । तर, राष्ट्रियकरण गर्ने भनेको लुटेर, कुटेर, जेलमा हालेर होइन कि उत्साहित बनाएर गर्ने हो ।

त्यसैले सबैले फुली झिकेर भन्न तयार हुन सक्नुप-यो कि हामीसँग समाजवादको, यो देश सुहाउँदो सन्दर्भ सामग्री छैन । तर, हामी यहाँसम्म जसरी आइपुगेका छौँ, त्यो हामी आफँैले गर्दा आएका हौँ । अगाडिको बाटो पनि हामीले नै तय गर्ने हो । म अध्यक्ष हुँ, मैले भनेपछि समाजवाद आउँछ भन्ने अहंकारले जित्यो भने समाजवाद नआउने ग्यारेन्टी हुन्छ ।

तपाईं फुली झार्ने कुरा गर्नुहुन्छ, नेतृत्व फुली थप्न लागेका छन् । के एमाले–माओवादीबीचको एकता केन्द्रीयतातर्फ अघि बढ्न खोजेको हो ?

एकताका सन्दर्भमा जे भयो, असाध्यै राम्रो भयो । जसरी भयो, धेरै नराम्रा कुरा पनि भएका छन् । एकतामा बाहिर–भित्रका खेल्न सक्छन्, शत्रुले भाँड्न सक्छन् भनेर सात जनालाई जिम्मेवारी दिइयो । ती सातजनाले दुईजनालाई जिम्मेवारी दिए ।

यत्रो लोकतान्त्रिक अभ्यासबीच दुईलाई हामी आफैँ लागेर सबै बुझाउने के चिज थियो ? त्यसैले मैले भनिआएको छु, पार्टीमा लोकतान्त्रिक अभ्यास भएन भने हामी नर्क जान्छौँ । फुली थपेर हामी समाजवादतर्फ जान सक्दैनौँ । आन्तरिक जनवादलाई खुम्च्याएर जे भएको छ, त्यो अप्ठ्यारो प्रश्न हो ।

अध्यक्षबाहेक अर्को पद हुनेछैन भनेर फुली झर्ने भन्यौँ । त्यसपछि पनि अनेक फुली आए । ती फुली कहाँबाट आए, त्यो रहस्यमय छ । यस विषयमा धेरै भन्दिनँ । तर, यत्रो लडेर आएको पार्टीसँग त्यति इच्छाशक्ति छ कि यसले आफ्नो कमजोरी हटाउँछ ।

त्यो भनेको लोकतन्त्रलाई स्थापित गरेर जानुपर्छ । भन्नुको अर्थ हामी खुम्चिँदै छौँ । त्यहाँ को मान्छे प-यो–परेन कुनै अर्थ रहँदैन । तर, पार्टी फैलिँदै छ, जनवाद साँघुरिँदै छ । एउटा खास समयमा ठूलो काम गर्दा केही कमजोरी अवश्य भएको छ, तर म फेरि भन्छु हामीले यसलाई समाधान गर्नेछौँ ।

नेपालको वामपन्थी आन्दोलनको आजको वैचारिक र चारित्रिक समस्या के हो ?

मेरो विचारमा हाम्रो दस्ताबेजले कम्तीमा ठीकै कुरा गरेको छ । के अर्थमा भने हामी दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीमा रूपान्तरित गर्दै समाजवादमा जान्छौँ भनेको ठीक छ । तर, त्यसको संगठन कस्तो हुन्छ ? त्यस्तो पार्टीको नेता अर्थात् मेरो चरित्र कस्तो हुन्छ ?

म के गर्दा दलाल पुँजीवादको पेच–किला हुन्छु र के गर्दा राष्ट्रिय पुँजी निर्माणको कर्मी हुन्छ भन्ने परिभाषित गर्नु पर्नेछ । समस्या यहीँनेर छ कि यस विषयमा धेरैलाई चासो छैन । धेरैले यत्रो सरकार भएको वेलामा समस्या भए समाधान भइहाल्छ नि भन्ने सोच्छन् । नेपाली वाम आन्दोलनको सबैभन्दा ठूलो चारित्रिक समस्या नै यही हो ।

म राष्ट्रिय पुँजी र समाजवादका लागि प्रतिबद्ध छु भने समाजमा मेरो काम पनि त देखिनुप-यो । ०४७ सालदेखि हामी सरकारमा छौँ, यतिका वर्षसम्म यहाँ बोक्सीप्रथा थियो, यहाँ धेरै गुन्डागर्दी थियो, यहाँ कुलत थियो, हामीले हटायौँ भन्ने कुरा मैले अहिलेसम्म देखेको छैन । त्यसैले अब कस्तो हुने भनेर सोध्नुभयो भने हामी समाजवाद निर्माणमा लागेका मान्छेको चरित्र कम्तीमा पनि एक– अब म आफ्नै कमाइले बाँच्नेछु । दुई– म कर तिर्नेछु ।

तीन– समाजका भोकानांगा, शोषितपीडित र पिछडिएकाको पक्षमा मेरो सरकारले काम गर्दै छ कि छैन भनेर हरबखत सचेत रहनेछु, भन्ने हुनुपर्नेछ । मैले भनेको कुरा धेरैले मन नपराउलान्, तर हाम्रो समाज जस्तो छ पार्टी पनि त्यस्तै छ ।

समाज फेर्ने हो भने समाज जस्तै पार्टीले समाजको रूपान्तरण गर्न सक्दैन । पार्टी समाजभन्दा अलिक विकसित, परिवर्तनशील, चेतनाले माथि उठेको चरित्रको चाहिन्छ । तिनले नै अबको समाजवादको दिशा कोर्ने हुन्छ । हाम्रो प्रयत्न पार्टीलाई त्यस्तै बनाउँछौँ भन्ने छ ।

जनताले बुझ्ने अर्थमा दलाल पुँजीवाद र राष्ट्रिय पुँजी भनेको के हो ? साथै एप्पलबाट ‘पावर प्वाइन्ट’ बनाएर ‘कर्पोरेट क्यापिटालिज्म’को विरोध गर्नु कत्तिको सुहाउँदो हुन्छ ?

दलाल पुँजीवादबारे हामीले गहिरिएर छलफल गर्न छाडेको ०५० सालबाटै हो । दलाल पुँजीवादलाई हामी गालीका रूपमा बुझ्छौँ, तर यो गाली नभएर पुँजीवादको चरित्र हो । जुन पुँजीले हाम्रा छोराछोरीलाई रोजगारी दिन्छ र राष्ट्रिय बचतलाई बढाउँछ, त्यो राष्ट्रिय पुँजी हो ।

जसले रोजगारी सिर्जना गर्दैन र हाम्रो राष्ट्रिय बचतलाई बढाउँदैन, त्यो दलाल पुँजी हो । त्यसैले दलाल पुँजीलाई राष्ट्रियकरण गर्नुपर्छ । तर, राष्ट्रियकरण गर्ने भनेको लुटेर, कुटेर, जेलमा हालेर होइन कि उत्साहित गरेर ल्याउने हो । तर, यस विषयमा देशमै बहस भएको छैन । न अर्थशास्त्रीहरू यस विषयमा बोल्छन्, न त नेताहरूले यस विषयमा आफ्नो धारणा राख्छन् ।

नेपालका वामपन्थी दृष्टिकोण बनाउने सन्दर्भमा दक्षिणपन्थी र प्रजातन्त्रवादीभन्दा के–कति कारणले भिन्न छन् ?

यस कुराको व्याख्यामा मेरा आफ्ना सीमा होलान्, तर भन्दै जाँदा कुरा बुझिएला । कम्तीमा मदन भण्डारीपछि हिजोको एमालेमा विचारको बहस भएन । २५ वर्षसम्म हामी नारामा जनताको बहुदलीय जनवाद र मदन भण्डारीको सम्झनामा चल्यौँ ।

हाम्रोमा सबैले बुझेर छलफल गरेर नयाँ विचार आएको होइन । माओवादीमा चुनुवाङ वरिपरि सिद्धान्त, विचारको बहस चल्थ्यो । भनेपछि हामीमा समस्या छ । तर, पनि हामी अरूभन्दा प्रगतिशील हौँ किनभने तुलना गर्ने त कांग्रेससँग हो ।

कांग्रेसले बहस गर्न छाडेको ०१२ सालदेखि हो । वीरगन्ज कांग्रेसको एउटा दस्ताबेजमा बिपीले ००७ सालको क्रान्तिमा हामीसमेत विचारहीन हुन गएकाले क्रान्तिलाई जता लैजानुपर्ने थियो, त्यता लैजान सकिएन भन्नुभएको छ । त्यसपछि बिपीलाई पनि विचारको कुरा चाहिएन । हामीमा कमसेकम कमरेड मदन भण्डारीको सम्झना छ ।

युद्ध लड्दै गर्दा विचार बनाउँदै गरेका कमरेड प्रचण्ड हुनुहुन्छ । तर, नराम्रो पक्ष के छ भने हामी यति धेरै घिस्सिसक्यौँ कि यसले काम गर्दैन । परिस्थितिमा यति धेरै परिवर्तन आएको छ कि हिजो हामी क्रान्तिका लागि लडौँ भन्दै थियौँ, आज क्रान्ति सफल भयो भन्दै छौँ ।

पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउनुहुन्न, मन्त्री हुने सम्भावना पनि देखिँदैन, के तपाईं ‘प्रदीप गिरि’ हुन खोज्नुभएको हो ?

व्यक्तिका रूपमा अब प्रदीप गिरि हुन सक्दिनँ । ५० को दशकमै त्यस्तो सोचेको भए सक्थेँ कि ? प्रदीपजी आजको सिद्धान्तको, विमर्शको सबैभन्दा बलियो खम्बा हो । उहाँलाई विज्ञका रूपमा चर्चा गरिन्छ, उहाँ हाम्रो सम्पत्ति हो । त्यसर्थ प्रदीपजीजत्तिको हुन्छस् त ? भनेर कसैले सोधेमा सही प्रश्न हो भन्ने लाग्छ । व्यक्तिगत रूपमा उहाँका पनि कमी–कमजोरी होलान् ।

कमी–कमजोरी कोसँग छैन र ? तर एउटा कुरा म फेरि दोहो-याएर भन्दै छु, यो मामिला सामूहिक हो । विचारको कुरा गर्नुहुन्छ भने जानी–नजानी कुनै समूह बन्यो होला, तर गुटको कुरा गर्नुहुन्छ भने त्यो नश्लीय हुन्छ । हाम्रोमा के अभ्यास हुँदै छ भने कसैलाई राजदूत बनाउनुप¥यो भने ल्याब टेस्ट गरेर, उसको खकार, थुक, रगत, वीर्य हेरेर, डिएनए टेस्ट गरेर, त्यो हाम्रो नश्लको हो कि होइन भन्ने पत्ता लगाएर पक्का गर्ने गरिन्छ । हेर्नुस् त कति नृशंस, कति अनैतिक छ ।

विचारको कुरा गर्नुहुन्छ भने जानी–नजानी कुनै समूह बन्यो होला, तर गुटको कुरा गर्नुहुन्छ भने त्यो नश्लीय हुन्छ । हाम्रोमा के अभ्यास हुँदै छ भने कसैलाई राजदूत बनाउनुप-यो भने ल्याब टेस्ट गरेर, उसको खकार, थुक, रगत, वीर्य हेरेर, डिएनए टेस्ट गरेर, त्यो हाम्रो नश्लको हो कि होइन भन्ने पत्ता लगाएर पक्का गर्ने गरिन्छ ।

यसरी मान्छेको आत्मसम्मानको, प्रतिष्ठाको, इमानदारिताको जसरी हुर्मत लिइएको छ, यस्ता तमाम विकृति नश्लवाद हो । गुट भनेको नश्लवाद हो । त्यसैले म यससँग जति सक्छु लड्छु । त्यसैका आधारमा मैले मेरो सफलतालाई मापन गर्नेछु । तसर्थ प्रदीप गिरि बिग्रेको मान्छे होइन ।

म पनि त्यति नै सुध्रिएको मान्छे हुँ । कहिले काहीँ साँच्चै रुन मन लाग्छ । मान्छेहरू आफ्ना लागि, आफ्नो गुटका लागि मान्छेको हुर्मत लिन तामा–तुलसी छोवाएर तिम्रो गुटको हुँ भन्न लगाएर जसरी गोरु बनाउन लागेका छन्, त्यस्ताबाट हामीले पार्टीलाई मुक्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराले क्रान्तिले जित्यो कि जितेन भन्ने कुराको फैसला हुनेछ ।

समृद्धिको ढोका खोल्न प्रतिबद्धता भयो भने विचार चाहिँदैन भन्ने भाष्य कायम छ । तपाईंलाई के लाग्छ ?

कहिले काहीँ समृद्धि हामीले नै जुराएको हो कि जस्तो लाग्छ । किनभने समृद्धिलाई हामीले यसरी प्रमाणित गर्न खोज्छौँ कि मानौँ यसको कुनै सन्दर्भ सामग्री, इतिहास नै छैन । मानौँ यसको कुनै नराम्रो पक्ष नै छैन । यसको चरित्र झिलमिलाउँदो र सुगन्धित मात्रै छ ।

मानौँ यो कुनै सुकुमारीको चरित्रमा आउँछ । अमत्र्य सेनको ‘डेभलपमेन्ट एज फ्रिडम’मा लेखकले आठौँ शताब्दीको इसापूर्वमा गरिएको कुराबाट यसको सुरुवात गर्छन् । विकासका सन्दर्भमा यो पुस्तक निकै महत्वपूर्ण छ । हामीले अहिले जे कुरा गर्दै छौँ, यो सबै ठाउँमा भइरहेकै कुरा हो ।

दुनियाँमा समृद्धिको वास्तविक अवसर कमै मुलुकले पाए । हामी युरोप, अमेरिकाको विकासको चर्चा गर्छौँ तर जहाजमा अफ्रिकाबाट बाँधेर कालाहरूलाई लगी बेचिएको पाटो बिर्सन्छौँ । त्यसको रिस फेर्न आज हामी युरोपका सन्तानलाई घृणा गर्दैनौँ तर त्यो कुरा त स्विकार्नुपर्ला नि ।

शीतयुद्धमा ५० हजार कोरियन सैनिकले अमेरिकाका तर्फबाट लडेको र त्यसको मूल्यमा कोरियाको विकास भएको इतिहास पढ्नेलाई थाहा छ । ताइवान, सिंगापुरको विकासको बाटो अर्कै हो । हामी त्यस्तो बाटो जान सक्दैनौँ । सचेत नागरिक र नेतृत्वले त्यसबाट सिक्ने हो ।

त्यसैले समृद्धिको बहस हाम्रोमा उल्टो गरेर भनिँदै छ । हामीले धरातलमा खुट्टा टेक्न बाँकी छ । त्यसैकारण हाम्रा सपना मच्चिएका मच्चियै छन् तर हाम्रो वास्तविकता धेरै तल तुइन हटाउनुपर्नेमा छ । पहिले हामी तुइन युगमा छौँ भनेर स्विकार्नु प-यो । हामी गरिब छौँ, पछाडि छौँ तर हामी सम्पन्न हुन चाहन्छौँ । क्रान्तिले सपना बनाउँछ । सपनाविना क्रान्ति हुँदैन ।

पाँच महिनाको हाम्रो कुरा सुन्नुभयो भने हामीले अझै पनि सोचिरहेका छौँ जस्तो लाग्दैन । हामी जुन दिन जितको रोमाञ्चकताको चिरनिद्राबाट ब्युँझिन्छौँ, त्यही दिन साँचो राष्ट्रिय पुँजी र समाजवाद निर्माणमा लागेका हुनेछौँ ।

यो सरकारको सफलता–असफलता नै नेपालको वाम आन्दोलनको सफलता–असफलताको द्योतक हुने देखिन्छ । यसमा के–कस्ता चुनौती देख्नुहुन्छ ?

एन्टिनियो ग्राम्सीको विचारमा जहाँबाट वैचारिक वर्चस्व कमजोर हुन्छ, संकट त्यहीँबाट सुरु हुन्छ । राज्यसँग दुईवटा पक्ष जोडिन्छन् । पहिलो, उसको वैधता । भन्नुको अर्थ जनताको सहमति । दोस्रो, दमन । सहमति लिने र दमन गर्नेबीच सत्ता जब सहमति लिन चुक्छ, ऊसँग लाठी मात्र रहन्छ । वैधताविनाको एक्लो लाठीको अर्थ सकिन्छ ।

भन्नुको अर्थ पार्टीको वैधता सकिन्छ । हामीले आजका प्राथमिकतामा ध्यान दिन सकेनौँ भने हाम्रो वैधता पनि सकिन्छ । कतिलाई के लाग्छ भने यो संकट गोविन्द केसीको अनशनबाट सुरु भएको हो । होइन, हामी अलिक अघिदेखि नै लापरवाह हुँदै आयौँ । हाम्रा प्राथमिकता तय हुन सकेनन् ।

हामीले मण्डलामा विरोध गर्नु समाजवादका लागि चुनौती हो कि होइन भनेर छलफल गरेनौँ । नेपाल बन्यो भनेर हामीले जुन भाषण गर्दै छौँ, यो तरिका गलत छ । क्रान्ति गर्ने पिँढीले धेरै कुरामा सम्झौता गर्नुपर्छ । धेरै अर्थमा उसले बलिदान गर्नुपर्छ । हामी सुधार्छौं र सक्छौँ भन्ने लाग्छ ।

तपाईंले पार्टीअध्यक्ष ओलीलाई फासीवादी चरित्र बोकेका नेता भन्नुभयो भन्ने सुनिन्छ । कुन आधारमा भन्नुभएको हो ?

कमरेड ओलीलाई फासिस्ट भनेको कुरा कतैबाट सुन्नुभएको छ भने मैले नभनेको कुरा सुन्नुभएको छ । व्यक्तिका रूपमा कमरेड ओली मेरो नेता हो । अध्यक्ष हो । देशको प्रधानमन्त्री हो । म उहाँको सम्मान गर्छु ।

तर, मैले पहिलेदेखि नै के भन्दै आएको हो भने अनियन्त्रित महत्वाकांक्षासँग अनैतिक साधन जोडिए भने हामीलाई त्यसले फासीवादतर्फ लैजान्छ । त्यसैले अनियन्त्रित महत्वाकांक्षा र अनैतिक बाटोबाट हामी जोगिनुपर्छ । फासीवादको चरित्र क्रूरताको हदसम्म घृणा, नश्लीय प्रेम हुन्छ । फासिजमको व्याख्यालाई हाम्रो पार्टीको व्यक्तिसँग मैले जोडेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु