अझै सुस्त गतिमा नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

अझै सुस्त गतिमा नेप्से

लामो समयदेखि सुस्त गतिमा रहेको नेप्से परिसूचकले मंगलबार पनि सोही गतिलाई निरन्तरता दिएको छ । मंगलबार पनि नेप्से सामान्य अंक घटेको छ । नेप्से घटे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम केही बढेको छ । अन्य महिनामा घटे पनि साउन महिनामा बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको हुन्छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित भएसँगै कम्पनीहरूले लाभांश घोषणा गर्छन् । यसले बजारलाई सकारात्मक दिशा दिन टेवा पुग्दछ । तर, यस वर्ष भने लगानीकर्ताले सोको अनुभव गर्न पाएका छैनन् । लगानीकर्ताहरू अझै पनि ‘पर्ख र हेर’कै रणनीति अपनाएर बसेका छन् ।

बजार सुस्त गतिमा रहेका कारण अल्पकालीन लगानीकर्ताले पनि नाफा आर्जन गर्न सकिरहेका छैनन् । खरिदकर्ताहरू बिक्रीमूल्यभन्दा कम मूल्यमा सेयर खरिद गर्न माग गरिरहेका छन् । तर, विक्रेता भने माग भएको मूल्यमा सेयर बिक्री गर्न तयार नरहेको एक ब्रोकरले बताए । सोही कारण बजार सुस्त गतिमा रहेको उनको भनाइ छ ।


नेप्से परिसूचक यस दिन १ दशमलव ४६ अंक घटेर १ हजार १ सय ८८ दशमलव २१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २६ अंक घटेर २ सय ५० दशमलव ६५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५७ कम्पनीको ३ हजार ५ सय २५ पटकको कारोबारमा रु. २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ बराबरको ९ लाख ९ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४० दशमलव ७१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा नै रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन पनि प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन रु. ३ करोड ४६ लाखबराबरको ३ लाख ४३ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ ।

सो लघुवित्त कम्पनीको यस दिन ३ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य यस दिन १० प्रतिशतको हाराहारीमा बढेको छ । फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन करिब १० प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५७ कम्पनीमध्ये यस दिन ५२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

कारोबारमा आएका १० समूहमध्ये यस दिन ३ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ । यस दिन होटेल समूहको परिसूचक १ दशमलव ७९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३४ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव १९ प्रतिशत बढेको छ ।

उत्पादनमूलक समूहको परिसूचक यस दिन १ दशमलव १६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

 फस्र्टको लाभांश प्रस्ताव
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ दशमलव ६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आव ०७४÷७५ सम्मको सञ्चित मुनाफाबाट सो लाभांश वितरण गर्न लागेको हो । साउन २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 कन्काईको कम्पनी सचिवमा बज्राचार्य
कन्काई विकास बैंक लिमिटेडले प्रकाशमान बज्राचार्यलाई कम्पनी सचिव पदमा नियुक्त गरेको छ । साउन १६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई सो पदमा नियुक्त गरेको हो । उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

 फस्र्टको स्वतन्त्र सञ्चालकको राजीनामा
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक सीताराम रेग्मीले सो पदबाट राजीनामा दिएका छन् । साउन २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले रेग्मीको राजीनामा असार ३१ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।

 नयाँ नेपालको  सिइओमा घिमिरे
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको छ । साउन १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई सो पदमा नियुक्त गरेको हो । यसअघि घिमिरे सोही कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहका तर्फबाट सदस्य पदमा कार्यरत थिए । उनले सो पदबाट साउन १८ गते राजीनामा दिएका थिए । साउन १८ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।

 नबिल बैंक ऋणपत्र २०७५ परिपक्व
नबिल बैंक लिमिटेडको ‘नबिल बैंक ऋणपत्र–२०७५’ साउन २१ गते परिपक्व भएको छ । बैंकले २०६५ साउन २२ गते विभिन्न व्यक्ति तथा संगठित संघसंस्थाहरूलाई प्रतिऋणपत्र रु. १ हजार अंकित मूल्यका ३ लाख कित्ता जारी गरेको थियो । सो ऋणपत्रलाई बैंकले साढे ८ प्रतिशत ब्याजदर कबोल
गरेको थियो ।

 नाडेपको साधारणसभा
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १ गते होटेल पातलेवन भिनेयार्ड, धादिङमा तेस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु