राजनीतिको अर्काे अध्यायमा राठौर - Naya Patrika
eNaya Patrika
  • ePaper

राजनीतिको अर्काे अध्यायमा राठौर

जसरी ढुंगा फोरेर पीपल उम्रन्छ । पहराको चेपबाट पानीको मुल फुट्छ । पराजयसँग नभाग्नेहरु पनि एकदिन विजयी हुन्छन् । मान्छेको जीवनमा पनि जय पराजयका शृङ्खलाको पहाड बन्छ । हारसँगै हार्नेहरु जीवनबाटै हारिरहेका उदाहरण तमाम भेटिन्छन् । हारबाट उठ्नेहरु, फेरि साहस गर्नेहरु कुनैदिन सफल हुन्छन्, हुन्छन् ।

मान्छेको चेतनाले नै सिर्जना गरेको हो देश, सिमाना र ‘तेरो मेरो’ भावना । आफ्नो र आफ्नाहरुको रक्षा गनैकै लागि बनेका हुन् नीति । विश्वका शक्तिहरुलाई संयमित राख्ने नीतिमध्येको उत्कृष्ट नीति हो राजनीति । राजनीतिका अनगिन्ती खेलाडीहरु जय–पराजयको गोरेटोमा थोरै मात्र सफल बनेका छन् । कति त पराजयको छेउछाउबाटै भाग्ने गर्छन ।


कुरा यहाँ नेपाली राजनीतिभित्रको कुनै राजनीतिज्ञको मात्र गर्न लागिएको हो । सफलता र असफलताको बीचबाट अझ अर्को सफलताको सिँढी उक्लिने प्रयत्न गरिरहेका एक राजनीतिज्ञ हुन् मोहनसिंह राठौर ।

उनको राजनीतिक परिचय पूर्वराज्यमन्त्री, पूर्वसांसद, पूर्वएमाले नेता अर्थात बर्तमानमा कांग्रेसका नेता । ०६३ सालमा गिरीजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका राठौर ०७० को संविधानसभा निर्वाचनमा कैलाली २ बाट प्रत्यक्ष निर्वाचित भए ।

उनी त्यसबेला संसदको सुशासन तथा अनुगमन समितिमा सभापतिको जिम्मेवारीमा रहे । त्यसभन्दा विगतमा जाने हो भने उनी कैलालीमै २ पटक गाविस अध्यक्षमा निर्वाचित भई स्थानीयस्तरबाट राजनीतिको जनाधार बटुल्दै पार्टीगत राजनीतिमा जय–पराजयको शृङ्खला भोग्दै आए ।

संसदीय निर्वाचनको कुरा गर्दा ०५६, ०६४ र ०७४ मा पराजित भएका राठौर थाकेका छैनन् । पराजयबाट कत्ति पनि निरास नभएको बताउँछन् । ५ वर्षपछि आउने निर्वाचनमा मुकाविला गर्ने आँटलाई अझ दरिलो बनाउने सोचमा छन् राठौर ।

संविधान घोषणापछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन अर्थात गत वर्ष मंसिरमा सम्पन्न निर्वाचन भने उनका लागि फलिफाप भएन । कारणः उनी राज्यमन्त्री हुँदा उनका पिए भएका झपट रावलले एमालेबाट टिकट पाए । चुनावी मैदानमा उत्रिए ।

पार्टीभित्र निषेधको राजनीति, अन्याय, अपमान र गुटबन्दीबाट अपहेलित भएर तत्कालीन एमाले पार्टी छोडेको बताउने राठौर कांग्रेसबाट प्रतिनिधिसभाको टिकट लिएर आफ्ना पूर्वपिएसँग प्रतिस्पर्धामा थिए ।

पूर्वपिएसँग पराजित भएका राठौरको अबको राजनीतिक यात्रा कता ? पराजयका शृङ्खलापछिको मनस्थिति के ? जस्ता जिज्ञासाले मलाई काठमाडौंस्थित उनकै निवास बाँसबारीसम्म डोहो-यायो । यसअघिको व्यवस्थापिका संसदमा सुशासन तथा अनुगमन समितिका सभापति रहँदा रिपोर्टिङकै क्रममा राठौरको निवास पुगिएको थियो ।

त्यसबेला उनको फोनमा बारम्बार घन्टी बजिरहन्थ्यो । समिति, संसद तथा पार्टीगत काममा उनलाई भ्याई नभ्याई हुन्थ्यो । केहिदिनअघि उनको निवासमा पुग्दा उनी केहि गम्भिर देखिन्थे । उनलाई सिंहदरबार, पेरिसडाँडा,धुम्बाराही वा सानेपा कतै जान हतार थिएन । बरु केहि दिनमा आफ्नै निर्वाचन क्षेत्र कैलाली फर्किने योजनामा थिए ।

‘कैलाली लामै समय बस्नुभयो नि ?’ मृदुभाषी, शान्त स्वभाव र मिलनसार नेताको रुपमा चिनिने राठौरसामु पहिलो जिज्ञासा राखेँ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भए पनि बढी समय आफ्नै निर्वाचन क्षेत्रमा बिताइरहेका राठौरले भने, ‘म पहिले पनि फुर्सद हुँनासाथ निर्वाचन क्षेत्रमै हुन्थेँ । अब त झन् धेरैजसो समय उतै बस्ने मनस्थिति बनाएको छु ।’

०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पूर्व स्वकीय सचिव झपट रावलसँग पराजित मोहनसिंह राठौरलाई सिंहदरबार, पेरिसडाँडा,धुम्बाराही वा सानेपा कतै जान हतार छैन । बरु आफ्नै निर्वाचन क्षेत्र कैलाली फर्किने हतार हुन्छ । भन्छन्– अब धेरैजसो समय उतै बस्ने मनस्थितिमा छु ।

‘अर्को चुनावमा पनि उठ्ने योजना हो ?’ हत्तपत्त अर्को जिज्ञासा राखेँ । ‘मलाई मतदाताले विस्वास गर्नुभएकै छ । अहिले पनि चानचुन १८ सय मतान्तरले पराजित भएको हुँ । बाम गठबन्धनको बुथ कब्जाको बाबजुत मेरो पक्षमा जनलहर छँदैछ । कांग्रेसमा आइसकेपछि केहि बाहेक धेरै साथीको मलाई साथ सहयोग छ । उठ्ने सोच छ,’ उनले भने ।

राठौर तत्कालीन एमालेमा पनि चिनिएकै नेतामा पर्थे, एकाएक पार्टी परिवर्तन नै गर्नुपर्ने अवस्था किन आयो होला ? ‘एक त मलाई एमाले र माओवादीबिचको गठबन्धन मन परेको थिएन । अर्को कुरा पार्टीभित्र पनि केहि व्यक्तिले ममाथि अपमान, अन्याय र गुटको राजनीति गरे,’ उनले कारण खोले ।

राठौरले पार्टी परिवर्तन गर्दा ‘टिकट नपाएर पार्टी छोड्यो, पदकै लागि मरिमेट्ने मान्छे हो’ भन्नेहरु पनि थिए र छन् होला । उनले भने, ‘हो, अहिले मलाई चुनावमा टिकट नपाएर पार्टी परिवर्तन ग-यो भन्नेहरु पनि छन् । ०६४ को संविधानसभाको निर्वाचनदेखि नै ममाथि षडयन्त्र सुरु भएको थियो ।

कहिले भीम रावल अछामबाट कैलालीमा निर्वाचन लड्न आउनुपर्नेदेखि कहिले समानुपातिकबाट आउनुस् भन्नेसम्मका कुरा आए । हुँदा हुँदा ०७४ को निर्वाचनमा प्रत्यक्ष, समानुपातिकदेखि राष्ट्रियसभा, प्रदेशसभा अनेक ठाउँ थियो । पार्टीको जनाधार नभएको ठाउँमा शून्यबाट सुरु गरेर गाविस अध्यक्ष हुँदै संसदीय निर्वाचनमा विजयी भएको मान्छेलाई मलाई पाखा लगाउने काम गरियो । आन्तरिक कथाको शृङ्खला लामै थियो । स्पष्टिकरण दिइरहन जरुरी ठानिन् ।’

कुराकानीका क्रममा उनी सरकारी जागिर छोड्दादेखि कैलालीमै फर्किएर आधुनिक कृषि खेतीमा लागेको र तत्कालिन मालेको संगठन बिस्तार गरेको समयसम्म पुगे ।
‘झपट रावलसँग चुनावपछि भेट भएको छ ?’ अर्को जिज्ञासामा आफ्नै पूर्वपिएसँग निर्वाचनमा पराजित भएका राठौर बोले, ‘निर्वाचनमा पराजय हुने निश्चित भएपछि मैले मतगणनास्थलमै गएर उहाँलाई बधाई दिएको थिएँ । त्यसपछि खासै भेट भएको छैन ।’

राजनीतिमा सिनियर र जुनियरले सँधैभरी अर्थ राख्दैन । पार्टी संगठनमा जसले बढि प्रभाव जमाउन सक्यो उसैले फड्को मार्नु राजनीतिको स्वभाव हो । अझ जनस्तरमा प्रभाव जमाउनसक्ने व्यक्ति नै निर्वाचनमा विजयी हुन्छ । राठौर राज्यमन्त्री हुँदा उनका पिए रहेका झपट रावलले यसपटकको निर्वाचनमा उनैलाई पराजित गरे । ‘तपाई राज्यमन्त्री हुँदा उहाँ स्वकीय सचिव हुनुहुन्थ्यो, उहाँसँगको सम्बन्धबारे सम्झिहुन्छ ?’

जिज्ञासाको जवाफ दिँदै उनी बोले, ‘विद्यार्थी राजनीतिबाट अवकास पाइसकेपछि उहाँ युवा संगठनमा हुनुहुन्थ्यो । काठमाडौंको जीवनयापन गर्न उहाँलाई कठिन थियो । नेताहरुले सहयोग गरेनन् अब कोरियातिर लाग्नुप-यो भन्नुहुन्थ्यो, संयोगवस त्यसबेला पार्टीले राज्यमन्त्रीको जिम्मेवारी मलाई दियो । उहाँलाई स्वकीय सचिवालयमा ल्याएँ । त्यसबाट उहाँलाई राहत मिल्यो ।’

झपट रावलबारे राठौर थप बोले– ‘०६४ को संविधानसभा निर्वाचनमा उहाँको भूमिका सोचेजस्तो रहेन । भिम रावललाई त्यस क्षेत्रमा ल्याउनुपर्छ भन्ने पक्षमा उहाँ उभिरहनुभयो । पछिल्लो निर्वाचनमा पनि कि भिम रावल कि म भन्नेमा लाग्नुभयो । ममाथि जिल्लाभित्रको क्षेत्रीयस्तरबाट नाम सिफारिस गर्नेक्रममै षडयन्त्र भयो । प्रदेश संयोजक भीम रावल थिए । तलदेखि माथिसम्म उनीहरुकै अनुकूल बनाएर मलाई अपमान गरियो ।’

विद्यार्थी राजनीति हुदै युवासंघको राजनीतिबाट पार्टीको बैकल्पिक केन्द्रिय सदस्य भएर झपट रावलले काम गरे । कैलालीलाई राजनीतिक क्षेत्र बनाएर जिल्लाको संयोजक हुँदै रावलले जनाधार बलियो बनाएको राठौर पनि स्वीकार्छन । टिकट राठौरले पाएनन, झपट रावलले पाए । रावलले माहोल आफ्ना पक्षमा बनाए, यसलाई राजनीतिक चातुर्यता मान्ने कि बेइमानी ? ‘उहाँ राजनीतिको चतुर खेलाडी हुनुभयो । उहाँ त एकजना व्यक्ति मात्र हो, मलाई पार्टीभित्र अपमान र निषेधको राजनीति गर्ने अरु पनि छन्,’ राठौरले मनको तितो पाखे ।

राठौरले भने –तत्कालीन एमालेमा हुँदा ममाथि अन्याय, अपमान भयो । कांग्रेसका साथीहरुले मलाई यतिधेरै विस्वास गर्नुभयो । अब कुनै हालतमा म पूर्वघर फर्किन्न

तत्कालिन एमालेले टिकट नदिए पनि कांग्रेसले आफूलाई स्वागत गरेर टिकट दिनु आफ्नो जीत भएको राठौरको बुझाई छ । कांग्रेसले आफ्नो क्षेत्रबाट पाएको समानुपातिकतर्फको मतभन्दा ७ हजार बढि मत पाएकाले पनि आफूप्रति मतदाताको प्रेम झल्किने उनी ठान्छन् ।

अब राठौर पुनः पूर्वघर फर्किन्छन् होला ? धेरैको जिज्ञासा हुनसक्छ । ‘ममाथि त्यस्तो अन्याय, अपमान भयो । कांग्रेसका साथीहरुले मलाई यतिधेरै विस्वास गर्नुभयो । अब कुनै हालतमा फर्किन्न,’ उनी विस्वस्त पार्न चाहन्छन् । उनी राजनीतिमा हार स्वीकार्ने मनस्थितिमा छैनन् । विगतमा कैलालीमा कम्युनिष्टको जनाधार शुन्यसरह भएको बेलाबाट आफूले संगठन निर्माण गरेर पटक पटक विजयी भएको क्षणलाई सम्झिदै उनी आगामी सफलताको खोजीमा छन् ।

तर अबभने उनी पहिले आफूले बनाएको जनाधारलाई कांग्रेसतर्फ ‘डाइभर्ट’ गरेर अघि बढ्ने सोचमा छन् । कांग्रेसभित्रैका कतिपयले आफ्नो खुट्टा तानिरहे पनि धेरैजसोको सद्भाव पाएकाले हिम्मत नहार्ने अठोट उनको छ । काठमाडौंमै केहि दिन भेटिए पनि आफू प्रायजसो कैलालीमै बस्ने र जनाधार बलियो बनाउने राठौर बताउँछन् । निर्वाचनमा पैसा खर्च गर्ने प्रवृत्ति बढे पनि स्थानीयस्तरबाट आम जनताको सेवा गरेमात्र सफलता पाउन सकिन्छ भन्ने उनको विश्वास छ ।

राजनीतिमा मन र मतको सम्बन्ध बुझिनसक्नु छ । एकातिर जनताको मन जित्नु नै राजनीतिक सफलता हो भने एउटा राजनतिज्ञले मनलाई भन्दा बढि मतलाई विस्वास गर्छ । त्यसैले त आफ्नो निर्वाचन क्षेत्र नधाउनेले जनताको गतिलो झापट मतबाट पाएका हुन्छन् । धेरै जनताको मन जिते पनि मतको अंकगणीतीय हिसाबमा पछाडि परेका राठौर भन्छन्, ‘जनताको मन र मत दुबै जितेको प्रमाणित गर्नुछ ।’

तपाईको प्रतिक्रिया