व्यवसायमा नयाँ संस्कृति: आक्रामक सञ्जाल विस्तार - Naya Patrika
eNaya Patrika
  • ePaper

व्यवसायमा नयाँ संस्कृति: आक्रामक सञ्जाल विस्तार

सानो कोठा, छाप्रो र सटरमा हुने व्यापारलाई आधुनिक किनमेल संस्कृतिमा ढाल्ने काम भाटभटेनी स्टोरले गरिदियो । त्यति मात्र होइन, भाटभटेनीले सञ्जाल विस्तारको क्रम पनि सुरु ग-यो । यही क्रममा अहिले भाटभटेनी स्टोर देशका १३ स्थानमा फैलिसकेको छ । नेपाली दर्शकलाई मल्टिप्लेक्समा फिल्म देखाउने क्युएफएक्स सिनेमा आज आठ स्थानमा फैलिएको छ । भाटभटेनी र क्युएफएक्स देशभर फैलिने क्रम जारी छ । सञ्जाल विस्तारकै कारण राजधानीबाहिरका बासिन्दाले पनि आधुनिक किनमेल र मल्टिप्लेक्सको अनुभव लिन पाइरहेका छन् । नाङ्लो बेकरी क्याफेले व्यावसायिक सञ्जाल (चेन) विस्तार गरेर मुलुकमा रेस्टुरेन्ट कल्चरलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा चेन विस्तार गर्नेमा नाङ्लो अग्रपंक्तिमा पर्छ । पछिल्लो समयमा व्यवसायीले चेन विस्तारलाई तीव्रता दिइरहेका छन् । जसले थोरै लगानीबाट व्यवसाय सुरुवात गरे, उनीहरू नै स्वदेश तथा विदेशमा साम्राज्य फैलाउन कस्सिएका छन् ।

बिगमार्ट, हिमालयन जाभा, डल्ले रेस्टुरेन्ट, त्रिशारा, भ्याली एक्सप्रेस, हाइल्यान्ड कफी, बराहा ज्वेलर्स, रोड हाउस क्याफे, सेलवेज, सेल्सबेरी, सिजी मार्ट, के एन्ड के, सिद्धार्थ कटेजलगायत दर्जनौँ ब्रान्ड सञ्जाल विस्तारमा आक्रामक देखिन्छन् । नेपालमा सञ्जाल विस्तारलाई तीव्रता दिइरहेका ब्रान्डहरूबारे नयाँ पत्रिकाकर्मी नवीन अर्यालले तयार पारेको रिपोर्ट :


क्युएफएक्स सिनेमा
नेपालमा मल्टिप्लेक्स कल्चर भित्र्याउने क्युएफएक्स सिनेमा हो । क्युएफएक्सले नेपालीको फिल्म हेर्ने शैली नै परिवर्तन गरिदियो । व्यवसायी नकिम उद्दिनको समूहले दुई दशकअघि जय नेपाल हलबाट मल्टिप्लेक्स सुरु गरेको थियो । कुमारी हल, सिभिल मल हुँदै देशका प्रमुख सहरमा क्युएफएक्स फैलिसकेको छ । अहिले क्युएफएक्सका देशभर ८ वटा हलमा १८ वटा पर्दा छन् । क्युएफएक्सको विस्तारबाट मोफसलका बुटवल, पोखरा, नेपालगन्ज, चितवनका दर्शकले पनि मल्टिप्लेक्सको मज्जा लिइरहेका छन् । देशका प्रमुख सहरमा मल्टिप्लेक्स सञ्चालन गर्ने योजना रहेको उद्दिन बताउँछन् । क्युएफएक्समा ‘टु के’ र ‘फोर के’ प्रविधिका पर्दा छन् ।

नाङ्लो रेस्टुरेन्ट
नेपालमा क्याफे कल्चर बसाल्ने काम नाङ्लो बेकरीले गर्यो । चेन व्यवसाय विस्तारको अग्रणी पनि नाङ्लो नै बन्यो । श्याम कक्षपतीले ०३० सालतिर रत्नपार्कमा ‘क्याफे डी पार्क’ सञ्चालन गरे । त्यसताका नेपालमा रेस्टुरेन्ट व्यवसायलाई त्यति राम्रो मानिँदैनथ्यो । त्यो समयमा पनि पश्चिमा म्युजिकको धुनमा ग्राहकलाई पिज्जा, बर्गर, हट डकलगायत थरीथरी स्वादका परिकार उनले पस्किए । रत्नपार्कमा भिडभाड बढ्यो । त्यो उत्साहले उनले दरबारमार्गमा नाङ्लो रेस्टुरेन्ट सुरु गरे । पुख्र्यौली कपडाको व्यापार छाडेर रेस्टुरेन्टमा होमिएका कक्षपतीले राजधानी र मोफसलका सहरमा
नाङ्लोको सञ्जाल फैलाए । दरबारमार्गबाट सुरु भएको नाङ्लोले नेपालमा चेन व्यवसायको जग बसाल्यो । नाङ्लोको द बेकरी क्याफे बौद्ध, भाटभटेनी, बुटवल, जावलाखेल, महाराजगन्ज, नयाँ बानेश्वर, पुल्चोक, तीनधारा, टेकुमा फैलिएको छ । कक्षपती दाजुभाइबीच बेमेल भएपछि दरबारमार्गको नाङ्लो रेस्टुरेन्टको नाम परिवर्तन भएर ‘स्याम्स वान ट्री क्याफे’ भएको छ । श्यामका भाइ गोपालले कमलादीमा नाङ्लो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

भाटभटेनी सुपरमार्केट
उपभोक्तालाई चाहिने सामान खोज्न बजार चहार्दै हिँड्नुपर्ने अवस्था अब कम हुँदै छ । पूरै बजार घुमेर किनमेल गर्ने परिपाटी घट्दै छ । एउटै छानामुनि उपभोक्तालाई चाहिने सामान किनमेल गर्ने संस्कृतिको विकास हुँदै छ । नेपालमा एकै छानामुनि आधुनिक किनमेल संस्कृति भित्र्याउने काम भाटभटेनी स्टोरले गरेको हो । नेपाल बैंकको जागिर छाडेर व्यवसायमा होमिएका मीनबहादुर गुरुङले नेपालीको किनमेल शैली परिवर्तन गरिरहेका छन् । २५ वर्षअघि सुरु भएको भाटभटेनी अहिले १३ ठाउँमा फैलिसकेको छ । थप स्थानमा शाखा फैलाउने क्रम तीव्र्र छ । राजधानी र मोफसलमा एकसाथ भाटभटेनीले सेवा दिइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, नारायणगढ, धरान र विराटनगरमा भाटभटेनी स्टोर पुगिसकेको छ । भाटभटेनीले नेपालीलाई आधुनिक स्टोरमा किनमेल गर्न मात्रै सिकाएन, यो नेपालमा चेन व्यवसायको नेतृत्वकर्ता पनि बन्न पुग्यो ।

हिमालयन जाभा
नेपालीलाई वास्तविक कफीको स्वाद चखाउने काम हिमालयन जाभाले गरेको हो । त्यसअघि कफी भनेकै ‘नेस्क्याफे’ बुझिन्थ्यो । दुई दशकअघि गगन प्रधानले ठमेलमा खोलेको जाभाले कफीमा क्रान्ति ल्यायो । जाभाले नेपालमा कफी कल्चर भित्र्याउने काम मात्रै गरेन, देशभर चेन फैलाउने काम पनि सँगै ग¥यो । देशबाहिर अमेरिका, क्यानडा, थाइल्यान्ड र भुटानमा पनि जाभाका फ्रेन्चाइज खुलिसकेका छन् । अहिले जाभाका आउटलेट दुई दर्जनभन्दा बढी ठाउँमा खुलेका छन् । अझै स्वदेश तथा विदेशमा फैलिने क्रम जारी छ ।हिमालयन जाभाले दुई दशकमा विस्तार गरेको नेटवर्कले कफीको राम्रो बजार खडा गरिदियो । सहरका चोक र गल्लीमा छ्याप्छ्याप्ती कफी सप खुलेका देखिन्छन् । कतिपय कफी सपहरू जाभाको शैली पच्छ्याउँदै विस्तार भइरहेका छन् । गगन कफी स्कुल पनि चलाउँछन् । साथै, हिमालयन जाभाकै ब्रान्डमा कफीका दानाको पनि व्यापार गर्छन् । उनले नेपाललाई कफीको प्रमुख निर्यातकर्ता मुलुक बनाउने लक्ष्य लिएका छन् ।

हाइल्यान्ड बिन्ज कफी
भक्तपुरको सुकुल ढोकाबाट सुरु भएको ‘हाइल्यान्ड बिन्ज कफी सप’ ६ ठाउँमा फैलिएको छ । छिट्टै थप दुई ठाउँमा आउटलेट विस्तारको तयारीमा छ । तीन युवा अर्जुन चौहान, दुर्गाबहादुर श्रेष्ठ र कुशल गिरीको लगानीमा सन् २०१४ देखि कफी सप सञ्चालनमा आएको हो । हिमालयन जाभामा काम गरेको १० वर्षे अनुभवलाई अर्जुनले कफी सपमा उपयोग गर्ने निर्णय गरे । उनलाई दुर्गा र कुशलको साथ मिल्यो । नेपालमा कफी कल्चर भित्र्याउने जाभामा अर्जुनले एक दशकजति काम गरे । उनी जाभामा कफी सिकेपछि आफैँ उद्यमी बनेका हुन् । सन् २०२५ सम्ममा ५ देशमा हाइल्यान्ड बिन्ज कफी पु-याउने सञ्चालक अर्जुन चौहानले योजना सुनाए । उपत्यकाबाहिर पोखरा, नेपालगन्ज, विराटनगर, बुटवललगायत प्रमुख सहरमा यसको शाखा विस्तार गर्ने योजना छ ।

डल्ले रेस्टुरेन्ट
आठ वर्षअघि दुई युवा मिलेर सुरुवात गरेको ‘सिम्पल बिजनेस आइडिया’ सञ्जाल विस्तारसम्म पुगेको छ । आलोक योञ्जन र सुवास गौचनले सन् २०११ डिसेम्बरमा डल्ले रेस्टुरेन्ट सुरु गरे । त्यही रेस्टुरेन्ट अहिले उपत्यकाका ५ ठाउँमा फैलिसकेको छ । काठमाडौंको कमलादी, भाटभटेनी, गल्फुटार, ललितपुरको जावलाखेल र लविम मलमा डल्ले रेस्टुरेन्ट खुलिसकेको छ । डल्लेको सञ्जाल विस्तार कार्य जारी छ । काठमाडौं उपत्यका र मोफसलका सहरमा डल्लेका आउटलेट विस्तार गर्ने सञ्चालकको योजना छ ।

बराह ज्वेलर्स
पूर्वी नेपालको सुन्दर सहर धरानबाट सुरु भएको बराह ज्वेलर्स अहिले विदेशसम्म फैलिएको छ । बराह ज्वेलर्स सन् १९९५ मा धरानमा खुलेको हो । अहिले बराह ज्वेलर्सको मुख्यालय काठमाडौंको न्युरोडमा छ । नेपालमा बराह ज्वेलर्सका आउटलेटहरू धरान, काठमाडौं, पोखरा र चितवनमा छन् । विदेशमा बराह ज्वेलर्सले हङकङ, दुबई, चीन र बेलायतमा शाखा विस्तार गरेको छ । केही वर्षभित्र स्वदेश तथा विदेशमा २० वटा शाखा थप्ने तयारीमा बराह ज्वेलर्स छ । सुनचाँदी व्यवसायमा देश तथा विदेशतिर यति धेरै शाखा फैलाउने बराह ज्वेलर्स सम्भवतः पहिलो कम्पनी हो ।

भ्याली एक्सप्रेस रेस्टुरेन्ट
उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने काममा भ्याली एक्सप्रेस चेन रेस्टुरेन्ट सक्रिय छ । ग्रुपले सञ्चालन गरेको भ्याली एक्सप्रेस रेस्टुरेन्ट चेनका रूपमा विस्तार भइरहेको छ । काठमाडौंमा तीनवटा र चितवनमा एउटा रेस्टुरेन्ट सञ्चालनमा छ । छिट्टै एयरपोर्टमा नयाँ आउटलेट खोल्ने तयारी भएको भ्याली ग्रुपका निर्देशक बाबुराजा रावल बताउँछन् । रेस्टुरेन्ट देशका प्रमुख सहरमा फैलाउने योजना ग्रुपको छ । ग्राहकलाई मासुका स्वादिला परिकार चखाउन रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको रावलको भनाइ छ । सुरुवाती दिनमा काटेको मासु मात्र बिक्री गर्ने भ्याली एक्सप्रेसले अहिले ‘रेडी टु कुक’ र ‘रेडी टु इट’ आइटम उपलब्ध गराउँदै आएको छ ।

रोड हाउस क्याफे
तीव्र रूपमा आउटलेट विस्तारमा लागेको अर्को ब्रान्ड हो, रोड हाउस क्याफे । पर्यटकीय केन्द्र ठमेलबाट रोड हाउस क्याफे सुरु भएको हो । सन् १९९१ मा खुलेको रोड हाउस क्याफे राजधानी र पोखरामा फैलिएको छ । रोड हाउसका ७/८ स्थानमा आउटलेट रहेको सञ्चालक चन्दन कायस्थ बताउँछन् ।‘रोड हाउस क्याफेलाई पहिलो शाखा विस्तार गर्न ८/९ वर्षजति लाग्यो,’ चन्दन भन्छन्, ‘हामीले सम्भावना भएका ठाउँमा आउटलेट विस्तार गरिरहेका छौँ ।’ राजधानी र मोफसलका प्रमुख सहरमा आउटलेट विस्तार कार्य जारी छ । हाल रोड हाउस क्याफेको शाखा ठमेल, झम्सिखेल, पोखरा, भाटभटेनी, बौद्धलगायत स्थानमा छ ।

त्रिशारा रेस्टुरेन्ट
चल्तीको रेस्टुरेन्टमा पर्छ, त्रिशारा रेस्टुरेन्ट । लाइभ म्युजिकका साथमा स्वादिला परिकार पस्किने त्रिशारा पारिवारिक रेस्टुरेन्ट बनेको छ । सन् २०१० नोभेम्बरमा लाजिम्पाटमा पहिलोपटक त्रिशारा खुलेको थियो । तीन युवा शोहनवीर मालाकार, रौनकशमशेर जबरा र अरुणकृष्ण श्रेष्ठले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । पर्यटकीय नगरी पोखरा र दरबारमार्गमा पनि त्रिशारा खुलिसकेको छ । तीन ठाउँमा खुलिसकेको त्रिशाराको फैलिने क्रम जारी छ । ‘माइल्ड म्युजिक’ त्रिशाराको विशेषता हो । रेस्टुरेन्ट पुग्ने ग्राहकको फोटो खिचेर त्रिशाराको फेसबुक पेजमा राखिदिने व्यवस्था पनि गरिएको छ । यसले ग्राहकलाई त्रिशाराको सम्झना गराइरहन्छ । लाजिम्पाटमा खुलेको तीन वर्षपछि त्रिशारा पोखरामा खुलेको हो । पोखराको रेस्टुरेन्टमा ६ सयजनाको क्षमता छ । पोखरापछि त्रिशारा ठमाडौंको दराबरमार्गमा खुल्यो । तीनवटै रेस्टुरेन्टमा ग्राहकको आकर्षण बढ्दो छ । काठमाडौं उपत्यकामै आधा दर्जनभन्दा बढी शाखा विस्तारका लागि गृहकार्य भइरहेको सञ्चालक मालाकार बताउँछन् ।

बिगमार्ट
ग्रोसरी सुपरमार्केट बिगमार्टले आक्रमक ढंगले शाखा विस्तार गरिरहेको छ । सन् २००९ मा सिटी सेन्टरबाट बिगमार्ट सुरु भएको हो । आजसम्म आइपुग्दा बिगमार्टका स्टोर झन्डै दुई दर्जन स्थानमा फैलिएका छन् । यो संख्या दोब्बर पुर्याउने अभियानमा बिगमार्ट लागेको छ । ग्राहकको आकर्षण बढ्दो छ । बिगमार्ट खोज्दै किनमेल गर्न आउने उपभोक्ता धेरै छन् । राजधानीका बासिन्दालाई बिगमार्टले आधुनिक किनमेलको थप कल्चर बसालिरहेको छ ।सुरुको तीन वर्ष बिगमार्टका दुईवटा स्टोर मात्रै थिए । पछिल्लो ७÷८ वर्षमा स्टोर विस्तारले तीव्रता पाएको हो । नेपालमा व्यवसायका शाखा विस्तार गर्नेमा बिगमार्ट अग्रपंक्तिमै पर्छ । आधुनिक किनेमल संस्कृति बढेसँगै बिगमार्टका शाखा थपिँदै गएका हुन् । बिगमार्टमा ठूला व्यावसायिक घरानाको लगानी छ ।

सिद्धार्थ कटेज
सानो खाजा पसलबाट व्यवसाय सुरु गरेका लक्ष्मण न्यौपानले हस्पिटालिटी क्षेत्रमा साम्राज्य खडा गरिरहेका छन् । अहिले उनका १४ वटा होटेल, रेस्टुरेन्ट र रिसोर्ट सञ्चालनमा छन् । उनले ०५४ सालमा गुल्मीबाट कैलाली झरेर खाजा पसल खोलेका थिए । त्यसैको अर्को वर्षबाट सुरु भयो, होटेल यात्रा । टीकापुरमै सिद्धार्थ गेस्ट हाउस खोलेपछि होटेल यात्रा सुरु भएको उनले बताए । अहिले टीकापुरसहित नेपालगन्ज, बुटवल र काठमाडौंमा सुविधायुक्त होटेल सञ्चालनमा छन् । नेपालगन्जको होटेल चारतारे हो । चिसापानी, सुर्खेत र चुम्लिङटारमा रिसोर्ट सञ्चालनमा छ । धोबिघाट, पुरानो बानेश्वर, तीनकुने, बुटवल, नेपालगन्जमा रेस्टुरेन्ट छन् । सबै व्यवसाय सिद्धार्थ कटेजकै ब्रान्डमा सञ्चालित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु