पाठक टिप्पणी : विनाप्रमाण आरोप नलगाऔँ - Naya Patrika
eNaya Patrika
  • ePaper

पाठक टिप्पणी : विनाप्रमाण आरोप नलगाऔँ

खासै भन्न नहुने हो, तर अहिलेको अवस्थामा म जे देख्दै छु त्यो सरासर एक स्वार्थी भावना हो । आफ्नै देशका प्रमुख राजनीतिक शक्तिहरूले बंगलादेशमा पढ्ने छोरीहरूमाथि जुन प्रकारका निन्दनीय शब्द प्रयोग गरेका छन्, त्यसले हामी सबै छात्रहरूलाई समेत चोट पु-याएको छ ।

आज यहाँ अध्ययनरत छोरीहरू भोलि नेपालमा गएर आफूलाई अरूले नराम्रो नजरले हेरेको पटक्कै सहन गर्न सक्दैनन् । हामी पनि स्पष्ट रूपमा बुझ्न सक्छौँ, सायद नेपालमा त्यति सिट उपलब्ध भइदिए हामी बंगलादेशसम्म धाउनुपर्ने थिएन ।

जसोतसो गरी अभिभावकले त्यत्रो रकम तिरेर बंगलादेश पठाउनुपर्छ किनभने नेपालमा एकमुष्ठ रकम तिर्न सक्ने क्षमता मध्यम वर्गीय परिवारसँग हुँदैन । आफ्नो देशमा केही गर्न मिल्दैन, तर जब विद्यार्थी बंगलादेश आउँछन्, उनीहरू आफैँ विभिन्न समस्या सामना गरिरहेका हुन्छन् ।

नयाँ ठाउँ, नयाँ भाषा, नयाँ सरकार यसमा कसरी आफू समावेश हुने, कसरी बस्ने जस्ता अनेकौँ समस्यासित नेपाली विद्यार्थी जुधिरहेका हुन्छन् । तर, नेताहरूले भनेजस्तो छात्रामाथि यौनजन्य शोषण हुने गरेको भने कहीँकतै सुनिएको छैन ।

हाम्रा नेताहरूसित त्यस्ता कुनै घटनाबारे प्रमाणसहित जानकारी छ भने हामीलाई दिनुभयो भने हामी त्यस्ता प्राध्यापकलाई कारबाही गराउन र पीडितलाई न्याय दिलाउन संघर्ष गर्नेछौँ । नत्र, विनाप्रमाण बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली चेलीको चरित्रमाथि नै प्रश्न उठाउने अधिकार कसैलाई छैन । यसबारे सबै सचेत बनौँ ।

अमनकुमार यादव
बंगलादेशमा अध्ययनरत नेपाली छात्र

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु