बाँके खुला दिसामुक्त जिल्ला घाेषित - Naya Patrika
eNaya Patrika
  • ePaper

बाँके खुला दिसामुक्त जिल्ला घाेषित

बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९३ हजार ४२ घरधुरीले शौचालय निर्माण गरेपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

सवै घरधुरीले खुल्ला ठाउँमा दिसा नगर्ने भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

घोषणा गर्न जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बिहीवार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् । सामाजिक विकास मन्त्री बरालले खुल्ला ठाउँमा दिसापिसाव गर्नाले मानव स्वास्थ्यमा असर पर्न गई राज्यको ठूलो धनराशी उपचारमा खर्च भइरहेको बताए ।

जिल्लाका ८१ वटा वडा मध्ये खजुरा गाउँपालिकाको बागेश्वरीलाई सबैभन्दा पहिले ०६७ वैैशाख २५ मा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।  खुल्ला दिसामुक्त भएको बाँके तराईको ९ औँ र देशको ५७ औं जिल्ला भएको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव राजकुमार चौधरीले बताए ।

उनले खुल्ला दिसामुक्त घोषणाले स्वास्थ्य क्षेत्रमा सुधार आउने बताउँदै घोषणालाई सार्थक बनाउन शौचालय प्रयोग भए नभएको अनुगमन गर्न सुझाव दिए । कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, विजय बहादुर यादव, सामाजिक विकास मन्त्रालयका सचिव पुष्पराज पन्त लगायतले शुभकामना दिए । स्थानीय निकायका प्रमुख र उपप्रमुखले खुल्ला दिसामुक्त घोषणा कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

घोषणा अभियानमा योगदान पु¥याउने संस्था, कार्यालय तथा व्यक्ति, पूर्व गाविस अध्यक्ष, सचिवलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया