आठ वर्षपछि पूर्वाधार निर्माणले गति लिँदै प्रादेशिक आयुर्वेद अस्पताल - Naya Patrika
eNaya Patrika
  • ePaper

आठ वर्षपछि पूर्वाधार निर्माणले गति लिँदै प्रादेशिक आयुर्वेद अस्पताल

सरकारले स्थापना गर्नेे निर्णय गरेको ८ वर्षपछि कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापनाका लागि पूर्वाधार निर्माण कार्यले गति लिएको छ ।

धनगढीसँगै जोडिएको राजपुरमा क्षेत्रीय आयुर्वेदक अस्पताल स्थापना गर्ने निर्णय सरकारले २०६७ सालमा गरेको थियो । तर, वनको जग्गाको स्वामित्व हस्तान्तरण हुन नसक्दा यसअघि पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन । वनको ३९ कठ्ठा जग्गा आयुर्वेद अस्पताल मातहत आएपछि पूर्वाधार निर्माणको काम सुरु गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताए । अस्पतालका तीन वटा भवन निर्माणको काम तीव्र रुपमा भइरहेका उनले बताए ।

२५ प्रतिशत काम सम्पन्न
भवन निर्माण सुरु भएको छोटो अवधिमै लक्ष्यभन्दा बढी काम भएको सहरी विकासले जनाएको छ । चैतदेखि सुरु भएको भवन निर्माणको काम असार अन्तिम सातासम्म २५ प्रतिशत सम्पन्न भएको डिभिजन प्रमुख बोहराले जानकारी दिए ।

अधिकांश विकासका आयोजनाहरुको काम समयमै सम्पन्न नहुने समस्या रहेका बेला आयुर्वेदिक अस्पतालको काम भने लक्ष्यभन्दा ७÷८ प्रतिशत बढी भएको उनले बताए । सहरी विकासका अनुसार ३ तले भवनको जग हालेर ‘प्लीन्थ’को काम भइरहेको छ ।

‘साढे दुई वर्षभित्र काम सक्ने सम्झौता भएपनि यही गतिमा अघि बढ्दा दुई वर्ष भित्र नै सकिन्छ ।’ डिभिजन प्रमुख बोहराले भने, ‘यसले आयुर्वेदिक अस्पताल छिटो सम्पन्न गर्न सहज हुनेछ ।’ पूर्वाधार निर्माणलाई तीव्रता दिएर जतिसक्दो चाँडो अस्पताल संचालन गर्नुपर्ने माग यहाँका स्थानीयले सरकारसँग गर्दै आएका थिए । पूर्वाधार निर्माणले गति लिएसँगै प्रादेशिक आयुर्वेद अस्पताल स्थापना हुने आशा बढेको स्थानीय भोजराम रानाले बताए ।

पूर्वाधार निर्माणका लागि दवाव दिन स्थानीयले गठन गरेको समितिका अध्यक्षसमेत रहेका रानाले आयुर्वेद अस्पताल स्थापना प्रदेशभरिकै बासिन्दाका लागि खुशीको कुरा भएको बताए ।

१६ करोड ३६ लाखमा ३ वटा भवन बन्दै
गौरी–पार्वती–एनके–टीबीआर जेभीले १६ करोड ३६ लाख ६३ हजारको लागतमा आयुर्वेद अस्पतालका लागि ३ वटा भवन निर्माण गरिरहेको छ । गत पुसमा सम्झौता भएको भए पनि जग्गाको विषयमा देखिएको विवादले ‘साइड’ खाली नभएपछि निर्माण कम्पनीले चैतबाट मात्र काम शुरु गर्न पाएको सहरी विकासले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ करोड रुपैया मात्र बजेट आएकोमा काम बढी भएकाले केन्द्रसँग थप रकम माग गरेर ४ करोड भुक्तानी दिइएको डिभिजन प्रमुख बोहराले बताए ।

०७७ सालदेखि अस्पताल सञ्चालन गर्ने लक्ष्य
०७७ सालदेखि प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । अस्पतालसँगै आयुर्वेदिक अनुसन्धान केन्द्र पनि रहने छ । ५० सैयाको अस्पताल संचालन गर्ने कार्ययोजना रहेको सेती अञ्चल आयुर्वेदिक औषधालय धनगढीका प्रमुख डाक्टर खगेन्द्र बमले जानकारी दिए ।

चिकित्सा उपचार सेवामा नयाँ आयाम
प्रदेश ७ मा आयुर्वेद अस्पताल छैन । जसले गर्दा प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार गर्नुपर्ने बिरामी काठमाडौंलगायत अन्यत्र जानुपर्ने अवस्था छ । अस्पताल संचालन भएपछि चिकित्सा उपचार सेवामा नयाँ आयाम थपिने आयुर्वेद चिकित्सकहरुको भनाइ छ ।

विशेषज्ञ चिकित्सकमार्फत् आयुर्वेदिक उपचार सम्बन्धी सबै सेवाहरु उपलब्ध हुने भएकाले अस्पताल संचालनमा आएपछि यहाँका बासिन्दा लाभान्वित हुने डाक्टर बमले बताए । आधुनिक चिकित्सा पद्दतिबाट उपचार संभव नभएका कतिपय रोगको उपचार आयुर्वेदिक पद्दतिबाट गर्न सकिने भएकाले अस्पताल स्थापनाले यस क्षेत्रका बासिन्दा लाभान्वित हुने उनले बताए ।

तपाईको प्रतिक्रिया