व्यवसायिक बाख्रापालनबाट आत्मनिर्भर बन्दै किसान - Naya Patrika
eNaya Patrika
  • ePaper

व्यवसायिक बाख्रापालनबाट आत्मनिर्भर बन्दै किसान

सल्यानका किसानहरु पछिल्लो समयमा बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । व्यवसायिक बाख्रापालन गर्ने किसानहरुलाई जिल्ला पशु सेवा कार्यालयले समेत सहयोग गर्ने भएपछि उनीहरु व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।

कालीमाटी गाउँपालिका ५ काल्चेस्थित सुरेश गाहा मगर शिक्षक भए पनि २०७० सालदेखि सुशान्त एवम सुशांक एग्रिकल्चर फर्म दर्ता गरी व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । नौँ वटाबाट सुरु गरेका उनीसँग अहिले एक सय ८ बाख्रा रहेका छन् ।

मगरले व्यवसायबाट वार्षिक पाँच लाख आम्दानी हुने बताए । नजिकै जंगल हुँदा घासको समस्या नहुने र तुरुन्तै पैसा आउने भएकाले व्यावसायिक बाख्रापालनमा लागेको बताए । उनले बाख्राका लागि तीस हेक्टर क्षेत्रफलमा घाँसको विरुवा लगाएका छन् ।

‘सुरुमा समस्या भए पनि अहिले छैन’ उनले भने ‘केही समस्या परे जिल्ला पशु कार्यालय सल्यान र किसानका लागि उन्नत बिउ विजन कार्यक्रमले सहयोग गर्दै आएको छ ।’

किसानका लागि उन्नत बिउ विजन कार्यक्रमअन्तर्गत जिल्लामा अहिले ५५ किसानले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सल्यानको कुल जनसंख्याको ८० प्रतिशत किसानले बाख्रापालन गर्दै आएको जिल्ला पशु कार्यालय सल्यानका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनले भने, ‘यहाँका किसानले व्यवसायिक बाख्रा पालन गरेपछि दुई सय बयर जातका उन्नत बोका, पाठी वितरण गरेका छौं ।’ जिल्लाभरि अहिले पाँच लाख ४७ हजार ५ सय ९४ खसी बोका रहेका छन् ।

तपाईको प्रतिक्रिया