कानून निर्माणमा ढिलाई हुँदा समस्या भयो : राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना - Naya Patrika
eNaya Patrika
  • ePaper

कानून निर्माणमा ढिलाई हुँदा समस्या भयो : राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले संविधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार संचालनमा समस्या भएको बताएका छन् ।

पर्वतको मोदी गाउँपालिका स्थित पातिचौर–मैदान–लप्सीबोट सडक उद्घाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकार र स्थानीय सरकारले गर्ने काम कारवाही प्रभावित भएको बताएका हुन् ।

संविधानले व्यवस्था गरेका हकहरुलाई कानूनमा उतार्नेकुरा महत्वपूर्ण भएकाले आगामी दिनमा केन्द्र सरकारले त्यस दिशातर्फ लाग्ने बताए । ‘हामीले संविधानमा सबै कुराहरु व्यवस्था गरेका छौं ।’ उनले भने, ‘संविधानमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजाने विषय चुनौतिपुर्ण छ ।’

उनले देशलाई सम्मृद्ध बनाउन तिनै तहका सरकार आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिए । देश सम्मृद्धिको बाटोमा अगाडि बढिसकेको बताउँदै सम्मृद्ध बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

विगतका समयमा जस्तो विकास निर्माणका कार्यहरुमा अनावश्यक खिचातानीले देश पछाडी परेको बताउँदै उनले सम्मृद्धिको दिशामा अगाडि बढ्न सबैसँग सहकार्य खाँचो रहेको औंल्याए । विगतका समयमा राजनीति द्धन्दमा केन्द्रित हुँदा देशले विकासमा फड्को मार्न नसकेको उनको भनाई छ ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लालाई बिकास निर्माणका क्षेत्रमा मुलुककै अग्रणी जिल्ला बनाउने गरि काम भैरहेको बताए । उनले प्रमुख प्रतिपक्षीले संसदमा आफ्ना कुरा राख्न छाडेर अनसनका लागि ब्यक्तिलाई उकास्ने काम गरेको आरोप पनि लगाए ।

उक्त सडक १२ किलोमिटर खण्ड २८ करोडमा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । उक्त सडकको आशिष फेवा जेभीले कालोपत्रे कार्यको जिम्मा लिएको छ । सडक २०७६ माघ सम्ममा कालोपत्रे निर्माण कार्य सक्ने गरी सम्झौता भएको छ ।

तपाईको प्रतिक्रिया