खोटाङका प्रजिअ पौडेलले दुःख दिएको गुनासो - Naya Patrika
eNaya Patrika
  • ePaper

खोटाङका प्रजिअ पौडेलले दुःख दिएको गुनासो

खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले अनावश्यक दुःख दिने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । नागरिकतालगायत विभिन्न कामका लागि जिल्ला प्रशासन कार्यालयमा जाने सेवाग्राहीलाई प्रजिअ पौडेलले विभिन्न बहाना बनाएर दुःख दिने गरेको गुनासो सेवाग्राहीले गरेका हुन् ।
जिल्ला प्रशासनबाट पाउने सेवाका लागि सबै प्रक्रिया पु-याएर जाँदा पनि प्रजिअ पौडेलले विभिन्न बहाना बनाएर आलटाल गर्ने गरेका सेवाग्राहीको गुनासो छ ।

‘सबै कागजात लिएर दुई दिन पैदल हिँडेर म जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन गएको थिएँ,’ एक सेवाग्राहीले नाम नबताउने सर्तमा भने, ‘सिडिओ सा’पले विनाकारण काम हुँदैन भन्दै फर्काइ दिनुभयो । साह्रै दुःख लागेको छ ।’ दुई दिन पैदल हिँडेर आएको हुँ । मलाई साह्रै गाह्रो हुन्छ भन्दा पनि आफ्नो कुरा प्रजिअ पौडेलले नसुनेको उनले बताए ।

जनप्रतिनिधिलाई समेत बेवास्ता
प्रजिअ पौडेलले सर्वसाधारण नागरिकलाई मात्र नभएर जनप्रतिधिलाई समेत बेवास्ता गर्ने गरेको जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले बताए । ‘हामीले प्रक्रिया पुगेका व्यक्तिको हकमा मात्र नागरिकताको सिफारिस गरेका हुन्छौँ,’ उनले भने, ‘तर प्रजिअ पौडेल विनाकारण सेवाग्राहीलाई फर्काइ दिँदा रहेछन् । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नियमअनुसार काम गरेको प्रजिअको दाबी
प्रजिअ पौडेलले भने आफूले विधि र प्रक्रियामा रहेर काम गर्दै आएको दाबी गरे । कसैलाई दुःख दिने नियत आफ्नो नभएको उनले बताए । ‘नागरिकताको हकमा तीन पुस्ताभित्रकै मान्छेले सनाखत गर्नुपर्छ,’ उनले भने, ‘विशेष परिस्थितिमा बाधा अड्काउ फुकाउका लागि जनप्रतिनिधिलाई राखेर पनि नागरिकता दिने गरेका छौँ ।’

तर, धेरै सेवाग्राहीले भने प्रजिअ पौडेल खोटाङ आएदेखि सानातिना काममा समेत समय लाग्ने गरेको गुनासो गरेका छन् । प्रशासन फाँटका कर्मचारीले माथिको निर्देशन भन्दै काममा चासो नदिने गरेको नाम नभन्ने सर्तमा एक सेवाग्राहीले बताए ।

यसअघि विगत २० वर्षअघिदेखि जनप्रतिनिधि तथा अस्तित्वमा रहेका व्यक्तिले सनाखत गरिदिएपछि सम्बन्धित व्यक्तिलाई नागरिकता दिने चलन थियो । तर, प्रजिअ पौडेल खोटाङ सरुवा भएर आएदेखि तीन पुस्ताभित्रका व्यक्ति नहुनेले समेत नागरिकता पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया