एक अर्ब भुक्तानी नहुँदा योजनामा ढिलाइ - Naya Patrika
eNaya Patrika
  • ePaper

एक अर्ब भुक्तानी नहुँदा योजनामा ढिलाइ

समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्न थालेको सरकारले समयमै काम पूरा गर्ने व्यवसायीलाई भने झुलाउँदै आएको छ । जसले कर्णाली प्रदेशका केही आयोजनालाई सुस्त बनाएको छ भने केही निर्माण व्यवसायी मर्कामा परेका छन् ।

निर्माण सम्झौताअनुसार समयमा भुक्तानी नपाउँदा व्यवसाय नै जोखिममा परेको व्यवसायीले गुनासो गरेका छन् । कर्णाली प्रदेशका तीन दर्जनभन्दा बढी निर्माण व्यवसायीले सडक आयोजनामा एक अर्बभन्दा बढी रकम भुक्तानी नपाएको बताए । ‘ठेक्का सम्झौताबमोजिम काम गरिसकेका छौँ, भुक्तानी मिलेको छैन,’ निर्माण व्यवसायी पदमबहादुर खड्काले भने ।

केही योजना निर्माण भएको सात–आठ महिना बितिसक्दा पनि भुक्तानी नपाएको व्यवसायीको भनाइ छ । केही योजना सम्झौताअनुसार समयमा भुक्तानी नदिँदा काम गर्न नसकिएको उनीहरूले बताए । डिभिजन सडक कार्यालय सुर्खेतले आफ्नै प्रगति प्रतिवेदनका आधारमा भुक्तानी नगरेको उनीहरूको गुनासो छ । ‘कामको प्रगतिका आधारमा समयमै भुक्तानी नहुँदा मर्कामा परेका छौँ,’ खड्काले भने ।

भुक्तानी नपाएका योजना
श्याम एन्ड शंकर कन्स्ट्रक्सन प्रालिले वीरेन्द्रनगरको चार लाइन सडकका दोस्रो चरणअन्तर्गत ९० प्रतिशत काम सकेको छ । तेस्रो चरणको काम चलिरहेको भए पनि दोस्रो चरणको कामको भुक्तानी नपाएको सञ्चालक पदमबहादुर खड्काले बताए । दोस्रो चरणको कामको नौ करोड ५० लाख रकम भुक्तानी नगर्दा तेस्रो चरणको काम प्रभावित हुन पुगेको छ ।

त्यस्तै, सुर्खेतको तातोपानी–बाबियाचौर–जंगलाघाट र कल्याणकाँध–भेल्तडी–जंगलाघाट सडक निर्माणको काम चार महिनाअघि नै सकिएको थियो । सडक डिभिजन कार्यालयले अझै भुक्तानी दिएको छैन । जसमा, १० करोड भुक्तानी गर्न बाँकी छ ।

पिपिरा–पृतना सडकको ८० लाख, छिन्चु रिङरोडको ५६ लाख, राताचौर–रामघाट सडक कालोपत्रेको ९० लाख, सुर्खेत–दैलेख सडक खण्डको छेडामा कालोपत्रे ढलानको एक करोड ५० लाख निर्माण व्यवसायीले पाएका छैनन् । आरनटोडा–मटेला–कचाली सडकको २५ प्रतिशत काम सम्पन्न भए पनि नियमानुसार पाउनुपर्ने चार करोड ५० लाख नपाएको निर्माण व्यवसायीले बताए ।

त्यस्तै, सुर्खेतको देउती बज्यै सडक र नयाँगाउँ–घुस्रा सडक निर्माण भइसकेको छ । तर, त्यसको १२ करोड भुक्तानी नपाएको महालक्ष्मी किँरातेश्वर केएसके जेभी सुर्खेतका सञ्चालक सूर्य रावतले बताए ।

सरकारी निकायकै अलमल
डिभिजन सडक कार्यालयमातहतमा साना र ठूला गरी ६६ योजनाको काम भइरहेको छ । दुई दर्जनभन्दा बढी योजनाको निर्माण भइसकेका छन् । सडक निर्माण, कालोपत्रे, ग्राभेल, नालीलगायत काम भइरहेका छन् ।

समयमै काम गर्ने व्यवसायीलाई पनि अनेक बहानामा सरकारी कार्यालयले भुक्तानी नदिने गरेको गुनासो छ । सरकारी कर्मचारीले कतिपय योजनालाई लम्ब्याउन त कतिपय योजनामा कमिसनका लागि अनावश्यक ढिलाइ गर्ने गरेको व्यवसायीको भनाइ छ ।

समयमै काम सम्पन्न गर्दा पनि भुक्तानी ढिलाइ हुँदा मारमा पर्ने गरेको निर्माण व्यवसायी रावतको भनाइ छ । ‘बैंकको ब्याज बढ्छ, कामदारलाई भुक्तानी गर्न ढिलाइ हुँदा भड्किन्छन्,’ उनले भने, ‘छिटो गर्दा पुरस्कृत हुनेको सट्टा दुःख पाइन्छ भने किन हतार गर्ने भन्ने परिहाल्छ ।’

बजेट निकासा नहुँदा ढिलाइ
अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा निर्माण व्यवसायीले भुक्तानी पाउन ढिलाइ भएको डिभिजन सडक कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख जयलाल मडासैनीले बताए । सडक डिभिजन कार्यालयको कमजोर नभएको बताउँदै असार मसान्तभित्र भुक्तानी गर्ने प्रयास भइरहेको उनको भनाइ छ । ‘कार्यालय प्रमुख रकम निकासाका लागि विभागमा जानुभएको छ, असार मसान्तभित्रै भुक्तानी हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया