देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्ति गर्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्ति गर्ने

देवः विकास बैंक लिमिटेडले वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । मंगलबार दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा देवः विकास बैंकका सञ्चालक समिति अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र वेस्टर्न डेभलपमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकीले हस्ताक्षर गरेका थिए ।

देशमा भइरहेको विकासका गतिविधिसँगै बढ्दै गइरहेको आर्थिक गतिविधिलाई समेट्न बैंकलाई सबल तथा सक्षम वित्तीय संस्थाका रूपमा स्थापित गर्न वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्ति गर्न लागेको देवः विकास बैंकले जनाएको छ ।

बैंकका वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले पुँजीको आधारलाई बलियो बनाएर व्यवसाय एवं व्यावसायिक क्षेत्रको विस्तार गर्न यो समझदारी भएको बताए । समझदारीबमोजिम प्राप्तिपछि संस्थाको नाम देवःविकास बैंक लिमटेड नै रहने भएको छ ।

त्यस्तै सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसमेत देवः विकास बैंककै रहने बज्राचार्यले जानकारी दिए । उनका अनुसार यसभन्दा पहिल नै भएको समझदारीबमोजिम सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया पनि चलिरहेको छ ।

चुक्ता पुँजी ३ अर्ब नाघ्ने

उक्त दुवै संस्थाहरूको प्राप्तिपछि देवः विकास बैंकको चुक्ता पुँजी ३ अर्बभन्दा बढी हुने जनाइएको छ । त्यस्तै देशको मध्य पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकको शाखा सञ्जाल विस्तार भई देशभरमा ७४ वटा शाखा सञ्जाल पुग्ने जनाइएको छ ।

बैंकले अन्य संस्था प्राप्त÷मर्जर गर्ने योजनासहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको बज्राचार्यको भनाइ छ । हाल देव विकास बैंकको ४४ शाखा तथा ११ वटा एटिएम रहेका छन् । त्यस्तै हाल चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

१७ प्रतिशत बोनस सेयर

यसैबीच देवः विकास बैंकले सेयरधनीलाई १७.१० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९० प्रतिशत नगद लाभांश पनि छुट्याइएको बैंकले जनाएको छ । बुधबार सम्पन्न भएको ११औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष ०७३÷०७४ को नाफाबाट बोनस सेयर दिन लागेको हो ।

तपाईको प्रतिक्रिया