एकै खेलमा हार र जित महसुस गरे हेनरीले - Naya Patrika
eNaya Patrika
  • ePaper

एकै खेलमा हार र जित महसुस गरे हेनरीले

क्वार्टरफाइनलसम्म बेल्जियमको सहायक प्रशिक्षक हेनरीको नाम नै त्यति सुनिएको थिएन, बेल्जियम विश्वकपको सेमिफाइनलमा पुगेपछि हेनरीको भूमिका पनि देखियो

 

सन् १९९८ मा फ्रान्सले पहिलोपटक विश्वकप उपाधि जित्दा थिएरी हेनरी मुख्य स्ट्राइकर थिए । फ्रेन्च राष्ट्रिय टिममा हेनरी अहिले पनि सम्मानित व्यक्तित्व हुन् । फ्रेन्च टिमसँग भावनात्मक सम्बन्ध रहेका हेनरी आफू जन्मेको देश र खेलेको टिमले नै विश्वकप जितोस् भन्ने चाहन्छन् ।

तर, हेनरीले स्पष्ट वा खुलेरै फ्रान्स नै विश्व च्याम्पियन बन्छ भन्न सक्दैनन् । किनभने उनी अहिले बेल्जियमका सहायक प्रशिक्षक हुन् । दुई वर्षदेखि हेनरी बेल्जियमको सहायक प्रशिक्षकका रूपमा कार्यरत छन् ।

सहायक प्रशिक्षकको योजना विफल

समूह चरणदेखि क्वार्टरफाइनलसम्म बेल्जियमको सहायक प्रशिक्षक हेनरीको नाम नै त्यति सुनिएको थिएन । बेल्जियम विश्वकपको सेमिफाइनलमा पुगेपछि हेनरीको भूमिका पनि देखियो । बेल्जियमको सफलताको पछाडि हेनरीको योगदान पनि त्यत्तिकै रहेको सुनियो ।

बेल्जियमलाई फाइलनमा पु-याउने हेतुले मंगलबार राति उनी त्यत्तिकै सक्रिय भएका थिए । तर, बेल्जियम सेमिफाइनलमै सीमित भयो । हो, फ्रान्स फाइनलमा पुग्दा हेनरी एक किसिमले विश्लेषण गर्दा भित्री रूपमै धेरै खुसी भए ।

तर, बेल्जियम फ्रान्ससँग पराजित हुँदा एक सहायक प्रशिक्षकका रूपमा हेनरी त्यत्तिकै दुःखी र भावुक बनिरहे । उनको अगाडि राष्ट्र तथा कर्म जोडिएको थियो । मैदानमा आप्mनै राष्ट्रिय टिम फ्रान्सलाई हराउन हेनरीले बेन्चमा बसेर धेरै योजना बनाएका थिए । तर, हेनरीको योजना सफल भएन ।

अघिल्लो दिन फ्रेन्च खेलाडीसँगै च्याटिङ

सोमबार राति केही समय हेनरी र फ्रेन्च खेलाडीको सामाजिक सञ्चालमा च्याटिङ भएको थियो । जसमा हेनरीले आफू फ्रान्सविरुद्ध प्रशिक्षक हुँदा लाज लागेको जनाएका थिए ।

‘म आफू लज्जित छु, मेरै राष्ट्र (फ्रान्स)विरुद्ध लाग्दै छु, फ्रान्सलाई हराउन म योजना बनाइरहेको छु,’ हेनरीले भने, ‘मेरो विपक्षी प्रशिक्षक डिडिएर जो मेरो अति नै मिल्ने साथी हो, अहिले उसैको योजना तोड्न म लागेको छु ।’

एम्बाप्पेसँगको सम्बन्ध

एम्बाप्पेले हेनरीले राष्ट्रियता बिर्सेको र फ्रान्सलाई सेमिफाइनलमा हराउन बेल्जियमलाई सघाएको टिप्पणी गरेका थिए । सेमिफाइनलको नतिजापछि एम्बाप्पे र हेनरीबीच त्यस्तो कुनै द्वेष नभएको देखिन्थ्यो ।

दुवै मज्जाले हाँसीखुसी कुराकानी गरेका देखिन्थे । रमाइलो पक्ष के रह्यो भने खेल सुरु हुनुभन्दा अघिल्लो रात हेनरीले विश्वकपमा फ्रान्सको सामना गर्नुपर्नेबारे आफूले सोच्दै नसोचेको फ्रान्सका खेलाडीसँग बताएका थिए ।

दुवै खेलाडी माझ

विश्वकपमा पहिलोपटक फाइनलमा पुग्ने बेल्जियमको सपना तुहियो । खेलको अन्तिम ह्विसल बज्दा हेनरी टाउकोमा हातमा राखेर सिटमा बसेका देखिन्थे । तर, नतिजा आत्मसात् गर्नु नै प¥यो, उनी सुरुमा बेल्जियमका खेलाडीलाई सम्हाल्न पुगे ।

सबै खेलाडीलाई हौसला प्रदान गरेपछि बिस्तारै हेनरी फ्रान्सका खेलाडी रहेको स्थानमा पुगे । हेनरीले सुुरुमै फ्रान्सका प्रशिक्षक तथा कुनै समय अति मिल्ने साथी डिडिएर डेस्चम्पसलाई जितको बधाई दिए ।

डिडिएर उनै व्यक्तित्व हुन्, जोसँगै हेनरीले सन् १९९८ को विश्वकप खेलेका थिए । र, उनीहरू सँगै विश्व च्याम्पियन पनि बनेका थिए । डिडिएर राष्ट्रिय टिमका प्रशिक्षक बने भने हेनरी बेल्जियम स्टाफका रूपमा खटिए ।

अघिल्लो दिन राष्ट्रियतामा चुकेको भनेर आफूलाई आलोचना गर्ने केलियन एम्बाप्पेलाई अंकमाल गर्दै हेनरीले बधाई दिए ।

तपाईको प्रतिक्रिया