मौद्रिक नीतिले बढाउन सकेन लगानीकर्ताको मनोबल - Naya Patrika
eNaya Patrika
  • ePaper

मौद्रिक नीतिले बढाउन सकेन लगानीकर्ताको मनोबल

बुधबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । लामो समयदेखि लगानीकर्ताहरू मौद्रिक नीतिको पर्खाइमा रहेका थिए ।

तर, लगानीकर्ताको अपेक्षालाई मौद्रिक नीतिले खासै सम्बोधन गर्न सकेन । मार्जिन धितो कर्जाको सीमालाई बढाइने, बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको सीमा बढाइने आदि लगानीकर्ताको अपेक्षा रहेको थियो । तर, नीतिले सो कुरा सम्बोधन नगरेपछि लगानीकर्ता निराश भएका छन् ।

मौद्रिक नीतिले सेयर धितोमा कर्जा लिएका लगानीकर्ताका लागि मार्जिन कलको त्रास केही कम गरेको छ । सेयर मूल्य २० प्रतिशतभन्दा घटेमा मात्र बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न पाउने व्यवस्था आज जारी भएको मौद्रिक नीतिले गरेको छ ।

कम्पनीको सेयर मूल्य २० प्रतिशतभन्दा कम दरसम्म घटेमा वित्तीय संस्थाहरूले मार्जिन कल गर्न पाउने छैनन् । यसले सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताहरूलाई केही सहज वातावरण सिर्जना गर्ने एक ब्रोकरले बताए ।

त्यसैगरी, यस दिन जारी भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरूलाई सहायक कम्पनीमार्फत धितोपत्र कारोबार गर्न दिइने व्यवस्था पनि गरेको छ । बैंकहरूले सहायक कम्पनीमार्फत ब्रोकरको कार्य गर्न पाउने व्यवस्थाले लगानीकर्ता उत्साही भएका छन् । तर, सेयर धितो कर्जाको सीमालाई ५० प्रतिशत नै कायम गर्नु र बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जालाई २५ प्रतिशतमा खुम्च्याइएका कारण लगानीकर्ता केही निराश भएका छन् ।

६५ प्रतिशत बढ्यो कारोबार रकम
बुधबार पनि नेप्से परिसूचक सामान्य अंक ओरालो लागेको छ । नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ६५ दशमलव ३५ प्रतिशत बढेको छ । नेप्से परिसूचक यस दिन शून्य दशमलव २९ अंक घटेर १ हजार २ सय ५ दशमलव ६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य ८ अंक घटेर २ सय ५३ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ७१ कम्पनीहरूको ४ हजार ७ सय २६ पटकको कारोबारमा ४७ करोड ६१ लाख ६६ हजार ८९ (म्यानुअल टर्नओभरसहित) रुपैयाँबराबरको १२ लाख ५९ हजार ८ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव १५ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । कारोबार संख्याका आधारमा भने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अगाडि रहेको छ । यस दिन प्राइम लाइफको १० करोड ७२ लाख रुपैयाँबराबरको ३ लाख ५७ हजार ४ सय ७६ कित्ता सेयर खरिदबिक्री भएको छ । रैराङ हाइड्रोपावरको यस दिन १ सय ९७ पटक सेयर किनबेच भएको छ ।

१ सय ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको एनएमबि माइक्रोफाइनान्सको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन कारोबारमा आएको वाणिज्य बैंक, होटेल र उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक यस दिन १ दशमलव ७८ प्रतिशत बढेको छ ।

त्यसैगरी, विकास बैंकको परिसूचक शून्य दशमलव २१ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १९ प्रतिशत, वित तथा अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र बिमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ५५ प्रतिशत घटेको छ । वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत घटेको छ भने उत्पादनमूलक समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ ।

बजेट पछ्याएको मौद्रिक नीति
‘मौद्रिक नीतिले बजेटलाई नै पछ्याएको छ । एक प्रकारले मौद्रिक नीति बजेटकै प्रतिविम्ब बनेको छ । लगानीकर्ताले जे अपेक्षा गरेका थिए, सो कुराहरूको सम्बोधन भएन । बैंक तथा वित्तीय संस्थाले उपलब्ध गर्ने १ सय ८० दिनको औसत मूल्यको ५० प्रतिशतबराबर सेयर धितो कर्जाको सीमालाई ७० देखि ८० प्रतिशत पु-याइयोस् भन्ने हाम्रो माग थियो ।

तर, यसलाई ५० प्रतिशतमै कायम राखियो । यसका साथै बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने मार्जिन कर्जाको सीमा कम्तीमा ५० प्रतिशत पु-याउने हाम्रो अपेक्षा रहेको थियो । सो सीमा घटाएर प्राथमिक पुँजीको २५ प्रतिशत मात्र मार्जिन कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको ४० प्रतिशत मार्जिन कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेको थियो । यसले लगानीकर्ता निरुत्साही भएका छन् ।’
अम्बिकाप्रसाद पौडेल, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

निर्धन उत्थानको बोनस हितग्राही खातामा
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ६६ दशमलव ६७ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले १३ पुस, ०७४ सम्ममा सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा सो सेयर जम्मा गरेको हो । अन्य सेयरधनीको हकमा पनि बोनस सेयर हितग्राही खातामा नै जम्मा गरिनेछ । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । १५ मंसिर, ०७४ मा सम्पन्न कम्पनीको साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया