रसिया विश्वकप र यौन दुर्व्यवहार  - Naya Patrika
eNaya Patrika
  • ePaper

रसिया विश्वकप र यौन दुर्व्यवहार 

केही मुस्लिम देशका महिलाका लागि रसिया विश्वकप पहिलो हो । पहिलोपटक विश्वकपमा सहभागी हुन पाउँदा उनीहरू खुसी र दंग छन् । सन् १९७९ पछि हजाराैँ इरानी महिलाले पहिलोपटक खेलमैदान पुगेर धित मरुन्जेल फुटबलको आनन्द लिए । उनीहरूले राजधानी तेहरानबाट इरान र स्पेनबीचको खेलको प्रत्यक्ष प्रसारण अवलोकन गरे ।

विश्वकपमा खाडी मुलुकबाहेक अन्य देशका महिलाको सहभागिता उल्लेख्य रह्यो । धेरैभन्दा धेरै महिला जारी विश्वकपको अंश बनिरहँदा एक महिना लामो विश्वकपको कुम्भमेलामा यौन दुव्र्यवहार र लिंगका आधारमा भेदभाव अर्थात् सेक्सिजमका प्रशस्त घटना भेटिएका छन् ।

खेलको रिपोर्टिङ गरिरहेका केही युवतीदेखि रंगशालामा प्रत्यक्ष अवलोकन गरिरहेका महिला कुनै न कुनै ढंगले दुर्व्यवहारको सिकार भएका छन् । विश्वकपसँग सम्बन्धित कतिपय विषय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यौनसँग जोडिएका छन् । प्रस्तुत छ, रसिया विश्वकपका दौरान भएका केही दुर्व्यवहारका घटनाक्रम :

दुव्र्यवहार नै दुर्व्यवहार 

कोलम्बियाकी सञ्चारकर्मी गोन्जाले थेरानले मस्कोबाट खेलकुदको प्रत्यक्ष प्रसारण गरेकी थिइन् । त्यत्तिकैमा एक पुरुष उनको अगाडि आए । युवतीको कुममा आफ्नो पाखुरा राखेर जिस्किए । त्यतिवेलासम्म युवतीले सहेकी थिइन् ।

ती पुरुषको आचरणले हद नाघ्दै गयो । उनले युवतीको देब्रे स्तन समाए र गालामा चुम्बन गरेर कुलेलम ठोके । युवती लाजले राती भइन् । तर, दोषीलाई कसैले पक्राउ गरेन । ब्राजिलकी अर्की महिला पत्रकार जुलिया ग्युमारेज पनि दुर्व्यवहारको सिकार बनिन् ।

यर्काटिनबर्गबाट प्रत्यक्ष प्रसारण गर्दागर्दै एक व्यक्तिले झुक्काएर जुलियाको ओठमा चुम्बन गरिदिए । लाखौँ मानिसले प्रत्यक्ष टेलिभिजन हेरिरहेका वेला उनीमाथि एक दर्शकले अपमानपूर्ण दुव्र्यवहार गरेका थिए ।

  ‘ममाथिको व्यवहार शिष्ट होइन । महिलामाथि यस्तो हर्कत अब कहिल्यै नदोहोरियोस्,’ एक ट्विट सन्देशमा जुलियाले भनिन् । दुव्र्यवहारपछि प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा नै उनी रोएकी थिइन् ।

रसिया विश्वकपमा धेरै महिला पत्रकारले ग्युमारेजको जस्तै नियति भोगेका छन् । उनीहरूमाथिको दुव्र्यवहारप्रति अधिकारवादी, मिडिया वाचडग र सञ्चारकर्मीकोे ध्यानाकर्षण भएको छ ।

‘खेलका क्रममा व्यावसायिक पत्रकारलाई कार्यकक्षमा दुर्व्यवहार र केहीमाथि कुुटपिटसम्म भएको छ,’ अमेरिकास्थित वकालती समूह कमिट टु प्रोटेक्ट जर्नालिस्टका कउर्टनी राडसले समेत स्विकारेको छ ।

दुर्व्यवहारबारे फिफाले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।  सन् २०१४ मा ब्राजिलबाटसमाचार कभर गरेकी स्पेनी फुटबल पत्रकार जिम्मा सोलरलाई जारी विश्वकपमा भएको दुव्र्यवहार खासै अनौठो लाग्दैन ।

भन्छिन्, ‘विश्वकपमा बारम्बार महिलामाथि दुव्र्यवहार हुने गरेको छ ।’ चार वर्षअघि प्रत्यक्ष प्रसारण गर्दै गर्दा अपरिचित व्यक्तिले उनको स्तनमा हात लगेका थिए ।

अश्लील माहोल

महिला फुटबल प्रशंसकलाई अश्लील वाक्यांश भन्न कर लगाइएका भिडियो जारी विश्वकपमा टाउको दुखाइको विषय बनेको छ ।

यौनजन्य अर्थ राख्ने ती भिडियोमध्ये केही सामाजिक सञ्जालमा भाइरल बनेका छन् । अर्को देशको समर्थकले गोलको सेलेब्रेसन गर्दा प्रतिद्वन्द्वी देशका प्रशंसकले बदलास्वरूप अश्लिल अभिव्यक्ति दिएका दृष्टान्त भिडियोमा देख्न सकिन्छ ।

ब्राजिलका पुरुषहरूले बनाएको एउटा भिडियो सामाजिक सञ्जालमा छयाप्छ्याप्ती देख्न सकिन्छ । भिडियोमा उनीहरूले एक रसियाली महिलालाई घेरेर पोर्चुगाली भाषामा महिलाको गुप्तांगको रङबारे रंगशालाबाट हुटिङ गर्न कर गरेको देखिन्छ । खेलाडीले सेलेब्रेसन गर्दा त्यही देशको स्थानीय भाषामा गालीगलौज गर्न पनि महिला प्रयोग गरिएका थिए ।

अर्को एक भिडियोमा पाराग्वेका एक जोडी सञ्चारकर्मीले एक युवतीलाई एउटा वाक्यांश भन्न कर गरेका छन् । भेजिनालाई जातीय गुरानी भाषामा के भन्छन् भनेर उनीहरूले ती युवतीलाई -याख-याख्ती पारेका छन् ।

रंगशालाभित्र खेलको मजाबाहेक केही दशर्कले यौनजन्य अभिव्यक्तिबाट पनि आनन्द लुटेको अनुमान गर्न सकिन्छ  ।

पछिल्ला दृष्टान्तले विश्वकपमा महिलालाई यौनको एउटा साधनका रूपमा उपयोग गर्न थालिएको छनक पाइएको फुटबलविज्ञहरू बताउँछन् । ‘सेक्स र अश्लील प्रकृतिका घटना’ अहिलेको विश्वकपमा धेरै दोहोरिएको फेयर नेटवर्क मेडियाकी मारियाना लिनहानको बुझाइ छ ।

एजेन्सीले हटायो कामुक तस्बिर

अन्तर्राष्ट्रिय फोटो न्युज एजेन्सी गेटी इमेजले यस वर्षको विश्वकपको ‘दी हटेस्ट फ्यान’ शीर्षकमा केही महिला फुटबल प्रसंसकका कामुक तस्बिर सार्वजनिक ग-यो । तर, केही दिनमै ती तस्बिर डिलिट ग-यो । डिलिट गर्नु उसको रहरभन्दा बाध्यता थियो ।

‘फुटबललाई सुन्दर खेल भनिन्छ, जसमा खेल प्रशंसक पनि अटाउँछन् । केही कामुक फुटबल प्रशंसकका तस्बिर निहाल्नुहोस्’ उपशीर्षकमा सो एजेन्सीले दर्जनौँ महिला फुटबल फ्यानका कामुक तस्बिर छापेको थियो ।

तीमध्ये अधिकांश तस्बिरमा फुटबल फ्यानका स्तन र नितम्बलाई केन्द्रित गरिएको थियो । तस्बिरहरूले ट्विटरलगायत सामाजिक सञ्जालमा बबन्डर नै निम्त्यायो । पाठकहरूले ‘सुन्दर र कामुक’, ‘अनुपयुक्त’, ‘बबाल’लगातय विशेषण दिएर टिप्पणीको वर्षा नै गरे ।

चौतर्फी आलोचनापछि गेटी इमेजले असुविधाका लागि क्षमा माग्दै ती तस्बिर तत्कालै ग्यालरीबाट हटायो । तस्बिरहरूले ‘सम्पादकीय मापदण्ड पूरा नगरेको’ उसले स्वीकार ग¥यो ।

रसियाली युवती पट्याउन म्यानुअल नै तयार

विश्वकप सुरु हुनुअघि अर्जेन्टिनाको फुटबल संघले रसियाली युवतीलाई कसरी मन्त्रमुग्ध पार्ने भन्ने बारेमा टिप्ससहितको म्यानुअल सार्वजनिक गरेको थियो ।

रसिया भ्रमण गर्ने अर्जेन्टिनाका पत्रकार, खेलाडी, फुटबल अधिकारी र प्रशिक्षकलाई बाँडिएको सो म्यानुअलमा ‘रसियाली युवतीसँगको अवसर कसरी सदुपयोग गर्ने’ भन्ने उल्लेख छ ।

म्यानुअलमा आफ्ना खेलाडीलाई सुन्दर पोसाक लगाउन, सफाचट हुन आग्रह गरिएको छ । रसियाली महिला पैसाप्रति बढी आकर्षित हुन सक्ने भएकाले खेलाडीलाई चुजी हुन पनि आग्रह गरिएको थियो । म्यानुअल भूलवश छापिएको भन्दै अर्जेन्टिनाको फुटबल संघले माफी नै मागेको थियो ।

खेलाडीसँग सेक्स गर्नुहोस्, ३० लाख जित्नुहोस्

एउटा अनौठो अफर गरेर फास्ट फुड चेन बर्गर किङ विवादमा तानियो । फुटबल स्टारबाट गर्भवती बन्ने युवतीलाई ३० लाख रसियन रुबेल र जीवनभर निःशुल्क बर्गर दिने घोषणा गरेपछि सो कम्पनी विवादमा तानिएको हो ।

सबैभन्दा राम्रो फुटबल जिन उत्पादन गर्ने महिलालाई सामाजिक मेडिया प्लेटफर्म भिकेबाट कम्पनीले सो अफर गरेको थियो ।

तर, स्टारबाट को गर्भवती भए भन्नेबारे अहिलेसम्म सार्वजनिक भएको छैन । नत गर्भवती हुन कति महिला आतुर थिए भन्ने नै प्रस्ट छ । तर, चौतर्फी आलोचनापछि भिकेले सो अफर बन्द गर्दै क्षमा मागेको थियो ।

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया