रसिया विश्वकप प्रतिस्पर्धात्मक : सुरज वैद्य - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

रसिया विश्वकप प्रतिस्पर्धात्मक : सुरज वैद्य

विश्वकप फुटबलकै कारण काम चौपट भएको छ । दैनिक जीवन अस्तव्यस्त बनेको छ । राति दुई बजेसम्म बसेर फुटबल हे-यो अनि बिहान अबेरसम्म सुत्यो । मैले रातभर बसेर सबैजसो खेल हेरिरहेको छु ।

विद्यार्थी जीवनमा आफैँ फुटबल खेलाडी भएकाले फुटबलप्रति लगाव ज्यादा छ । चार वर्षमा आउने विश्वकपका खेलहरू सकभर हेर्न छुटाउँदिनँ ।यसपटकको विश्वकप बडा रमाइलो भइरहेको छ । किनकि, अपेक्षा गरिएका टिमले राम्रो खेल्न सकेनन् । नयाँ टिमको प्रर्दशन उत्कृष्ट रह्यो ।

सुरज वैद्य
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

पहिलाका विश्वकप च्याम्पियन टिमहरू आउट भइसकेका छन् । ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना, पोर्चुगललगायत बलिया टिम समूह चरणदेखि क्वार्टरफाइनलबाटै घर फर्किए ।

यो विश्वकपमा फ्रान्सको टिमले राम्रो खेलिरहेको छ । फ्रान्सको टिममा युवा खेलाडी छन् । क्रोएसियाले पनि राम्रो खेलिरहेको छ । यसपटक फुटबलमा कडा प्रतिस्पर्धा देखिएको छ । विश्वकप कसले जित्छ, कसले हार्छ ? अन्तिम १५ मिनेटसम्म पनि अनुमान गर्न नसकिने खालको छ ।

हरेक खेल अन्तिम क्षणसम्म रोमाञ्चक बनिरहेका छन् । कतिपय टिमले इन्जुरी टाइममा गोल हानेर जितिरहेका छन् । अघिल्ला विश्वकप यति धेरै एक्साइटिङ हुँदैनथे ।

विश्वकपमा सहभागी हरेक टिम प्रतिस्पर्धी छन् । साथै, रसियामा विश्वकप होला कि नहोला, कत्तिको शान्तिपूर्ण रूपमा सम्पन्न होला भन्ने धेरैको चासोको विषय थियो ।

तर, धेरैको अनुमानविपरीत शान्त र भव्य रूपमा विश्वकप सम्पन्न हुँदै छ । रसियामा धेरै मुलुकका फुटबल पारखी पुगेका छन् । नेपालबाट पनि धेरै मान्छे फुटबल हेर्न रसिया पुगेको देखियो ।

मेरो पनि स–परिवार फुटबल हेर्न रसिया जाने योजना थियो । तर, विविध कारणले जान सकिएन । तर, पनि यहीँ मज्जाले फुटबल हेरिरहेका छौँ । घरमा सबैलाई फुटबल लागेको छ । छोराछोरीसँग कहिले घरमै, कहिले बाहिर रेस्टुरेन्टमा गएर फुटबल हेरिरहेको छु ।

फाइनल खेलचाहिँ स्टाफसँग अफिसमै हेर्ने योजना छ । अफिसमा ठूलो पर्दा राखिनेछ । अफिसका कर्मचारीसँग बसेर फुटबल हेर्दा रमाइलो पनि हुन्छ । यसपटकको विश्वकपमा जापानले राम्रो खेल्यो । दक्षिण कोरियाले चारपटकको विश्वविजेता जर्मनीलाई हरायो ।

विश्वकप आयोजक मुलुक रसियाले झनै राम्रो खेलेर सबैको मन जित्यो । यो विश्वकपमा रसियालाई सबैभन्दा कमजोर टिम आँकिएको थियो । तर, बलिया ठानिएका टिमका लागि रसिया चुनौती साबित बनिदियो । मैले विश्वकप जापानले जितोस् भन्ने चाहेको थिएँ ।

तर, ऊ राम्रो खेलेर पनि अगाडि बढ्न सकेन । जापान आउट भइसकेको छ । म पहिल्यैदेखि फ्रान्सको समर्थक थिएँ । अब, यसपटक पनि फ्रान्सकै समर्थन गरिरहेको छु । फ्रान्स फाइनलमा पुगिसकेको छ । मलाई लाग्छ, विश्वकप पनि फ्रान्सले नै जित्नेछ । र, जित्छ पनि ।

फ्रान्सका युवा टोलीको प्रर्दशन उत्कृष्ट छ । बेल्जियमसँगको सेमिफाइनल खेलमा पनि युवा खेलाडीले उत्कृष्ट खेले । फ्रान्सका गोलरक्षक पनि राम्रा छन् । बेल्जियका दर्जनौँ प्रहार रोकेर फ्रान्सलाई फाइनलसम्म पु-याउन गोलकिपरको भूमिका मुख्य देखियो ।

मेरो फ्रान्ससँगको अट्याचमेन्ट पुरानो छ । स्कुल पढ्दा दुई वर्ष स्कुलको क्याप्टेन नै बनेको थिएँ । फुटबलमा सानैदेखि लगाव थियो । फुटबल पहिल्यैदेखि हेर्थें र राम्ररी बुझन प्रयास गर्थें । मैले विश्वकप हेर्न थालेको पनि धेरै नै भइसकेको छ ।

यो विश्वकपमा फ्रान्सका खेलाडी एम्बाप्पेले मन जितेका छन् । उनले धेरै उत्कृष्ट खेलिरहेका छन् । नेमार, मेसी, रोनाल्डो भनेका पहिल्यैदेखि चर्चित हुन् । तर, विश्वकपमा एम्बाप्पे नयाँ नाम हो, जो मेसी, रोनाल्डोकै सरह हाइट बनाउन सफल भएका छन् ।

बेल्जियमका हजार्ड र लुकाकुले पनि राम्रो खेले । फ्रान्सका गोलरक्षकले फाइनलमा पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया