अभिनयसँगै सत्कर्म सिकाउँदै अशेष - Naya Patrika
eNaya Patrika
  • ePaper

अभिनयसँगै सत्कर्म सिकाउँदै अशेष

रमाउनु मान्छेको मात्रै इच्छा होइन । झरीमा गड्यौँलाहरू भुइँभरि रमाउँछन् । सुक्खायाममा ढुंगा र बुट्यानका पातपातमा घाम ताप्दै छेपाराहरू रमाउलान्, अनि रमाउलान् फूलसँग भमरा, मृत किराफट्यांग्रासँग कमिला आदि आदि ।

प्रकृतिमा सास फेर्ने विभिन्न जीव कुनै न कुनै रूपमा रमाइलो खोज्छ नै । यत्ति हो, मानिस एकै प्रकारको रमाइलोमा मात्र सन्तुष्ट हुँदैन । रमाइलोमा पनि अतृप्त हुने मान्छेको मनकै कारण बनेका हुन् चलचित्र, लेखिएका हुन् कथा, गाइएका हुन् गीत, अनि बनाइएका हुन् सुन्दर बगैँचाहरू ।

अशेष मल्ला, रंगकर्मी

मान्छे आफ्नो भावभंगी अरूले नक्कल गरिदियो भने पनि रमाइदिन्छ । आफूले भोगिरहेका, सुनिरहेका र देखिरहेका कुरालाई कसैले कलात्मक रूपमा प्रस्तुत गरिदियो भने फुरुंग हुन्छ । सामान्यभन्दा केही फरक कसैले बोलिदियो, चलिदियो भने ‘नाटक गरेको’ बिल्ला भिराइन्छ ।

मानिसलाई मनोरञ्जनसँगै चेतना अभिवृद्धिमा सयौँ वर्षदेखि सहयोगी बन्दै आएको कलाको एउटा विधा हो, नाटक । नेपाली जनजीवनमा रमाउनका लागि अहिले चलचित्रभित्र पनि हलिउड, बलिउडदेखि कलिउडसम्म, गीतसंगीत, म्युजिक भिडियो युटुब तथा इन्टरनेटमार्फत विश्वभरका गतिविधि हातहातमै आइपुगेको छ ।

रमाउने माध्यम जति नै विकसित भए पनि रंगकर्म रोकिएको छैन । उर्बर नै छ । मानिसमा सिर्जनशील क्षमता रहेसम्म जीवित रहने विश्वास गर्छन्, चार दशकभन्दा बढी रंगमञ्चमा बिताएका वरिष्ठ रंगकर्मी अशेष मल्ल ।

एक सयभन्दा बढी नाटक प्रस्तुतिका लागि उनी रंगमञ्च उक्लिए । त्यति नै संख्यामा नाटक लेखे । निर्देशन गरे । तर, पछिल्लो समय आफ्नै सर्वनाम थिएटरमार्फत ‘अभिनयको भोको’ नयाँ पुस्तालाई प्रशिक्षित गराइरहेका छन्, मल्ल । उनी अभिनय मात्र सिकाउँदैनन्, सँगै योग, ध्यानमार्फत सत्कर्म पढाइरहेका भेटिन्छन् ।

६४ वर्ष टेके पनि पाँच दशकजतिका देखिने फुर्तिला रंगकर्मी मल्लमा कुनै थकान् झल्किँदैन । भन्छन्, ‘बिहान ४ बजेतिर उठ्छु । एक घन्टा योग, ध्यान गर्छु । त्यसैले पनि विद्यार्थीलाई अभिनय मात्र होइन, आफूले सिकेको कुरा पनि सिकाउँछु ।’

रातोपुलस्थित ‘चुह्लो चौको’ रेस्टुरेन्टमा भेट्ने पूर्वसहमतिअनुसार उनी मभन्दा केही मिनेट छिटो पुगिसकेका थिए ।

रंगकर्मी मल्ल सडकमा तछाडमछाड गर्दै दगुरिरहेका मान्छेलाई एकटकले हेरिरहेका भेटिए । प्रसंगवश सोधेँ, ‘मान्छे कहीँ न कहीँ पुग्न दौडिन्छ, तर सबै पुग्न चाहेको ठाउँमा पुग्न असफल हुन्छन्, तपाईं त योग ध्यानमा बढी विश्वास गर्ने मान्छे । किन सबै सफल हुन्नन् होला ?’

मुस्कुराएका उनको अनुहार थप प्रफुल्ल भयो । ‘संसारका सबै मानिस योग्य छन् । तर, मेरो जन्म केका लागि र मभित्र के क्षमता छ भनेर नचिन्नाले दुःख पाउँछ, असफल हुन्छ,’ आध्यात्मिक शैलीमा उनले थपे, ‘अचम्म त यो छ, आफूभित्रको ‘म’ खोज्दाखोज्दै कतिपय मानिस असफलताको ट्याग भिरेर संसारबाट बिदा हुन्छन् ।’

आखिर किन हुन्छ यस्तो ? ‘नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो संस्कार, शिक्षा यति अव्यावहारिक छ कि शिक्षकले कहिल्यै पनि तँ को होस् भनेर कहिल्यै पनि सिकाएन,’ कालो चियाको कप उचाल्दै उनी बोले ।

मल्ल रिटायर्ड शिक्षक पनि हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मकन्या क्याम्पसमा लामो समय शिक्षण पेसा गरे । ‘तपाईं आफैँ रिटायर्ड शिक्षक पनि हो, भनेपछि तपाईंले विद्यार्थीअघि उभिएर पढाएको पनि गलत थियो ?’

‘हाम्रो शिक्षाको सिस्टम अत्यन्तै अव्यावहारिक छ । म कलेजमा विद्यार्थीलाई होइन, परिक्षार्थीलाई पढाउँथेँ । अहिले सर्वनाम थिएटरमा म विद्यार्थीलाई पढाउँछु,’ उनको जवाफ थियो । नेपालको शिक्षा सर्टिफिकेटकेन्द्रित भएको उनको बुझाइ छ ।

भन्छन्, ‘साइन्सको छुट्टै क्याम्पस, मेडिकल साइन्सको छुट्टै क्याम्पस भएझैँ नाटक तथा अभिनय सिकाउने छुट्टै स्कुल वा कलेज भयो भने नेपालको रंगमञ्च विश्वको कुनै पनि देशको भन्दा कम हुनेछैन । अरू क्षेत्रको विषयमा पनि यसैगरी शिक्षाको विकास गर्ने हो भने मात्र सबैले व्यावहारिक शिक्षा लिन सक्छन् ।’

उनको अधिकांश समय नाटक गरेरै बित्यो । यसको अर्थ उनले नाटक लेखन, निर्देशन तथा अभिनय माात्र होइन, नयाँ पुस्तालाई रंगमञ्चप्रति अभिरुचि जगाउन र बाटो देखाउन बिताए ।

अशेष मल्ल सयभन्दा बढी नाटक प्रस्तुतिका लागि रंगमञ्च उक्लिए । त्यत्तिकै संख्यामा नाटक लेखे । निर्देशन गरे । पछिल्लो समय ‘अभिनयको भोको’ नयाँ पुस्तालाई प्रशिक्षित गराइरहेका छन् । उनी अभिनयसँगै योग, ध्यानमार्फत सत्कर्म पढाइरहेका छन् ।

 

कसैले भनिदिएको भरमा मानिसले भविष्यको बाटो रोज्ने र सफल हुने होइन । मस्तिष्कको विकाससँगै भोगेका, देखेका र सुनेकाभन्दा अझै परसम्मको परिवेशको परिकल्पना गरेर मानिसले गन्तव्य खोज्न सक्छ ।

प्रविधिको विकास भइनसकेको, व्यावहारिक शिक्षाका ज्ञाता तथा मार्गदर्शक प्रशस्त भइनसकेको त्यसवेलाको समाजमा धनकुटामा जन्मे हुर्केका नाट्यकर्मी मल्लले एकाएक रंगमञ्च रोजेकै हुन् ।

०३२ सालमा मल्लले लेखेको ‘तुवाँलोले ढाकेको बस्ती’ देखि ‘सडकदेखि सडकसम्म’ लगायतका नाटकको निर्देशन तथा अभिनय गर्दा उनलाई नाटक कसरी लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने भनेर सिकाउने कोही थिएन ।

त्यो क्षण सम्झन्छन्, ‘स्कुलको सानो हलमा नाटक मञ्चन गर्दा मट्टितेलले बल्ने जाली भएको ग्यासलाइट बाल्ने गरिन्थ्यो । नाटकमा कुखुरा बासेको आवाज सुनाउनुपर्दा हामी बिहानको तीन बजे उठेर कुखुराको खोरमा बस्थ्यौँ र भाले बासेको आवाज टेपमा रेकर्ड गरेर नाटकमा प्रस्तुत गथ्र्यौं । कहिले कुकुर भुक्दा कुकुरकै आवाज रेकर्ड गथ्र्यौं ।’

व्यवस्थाप्रति जनतामा बढिरहेको असन्तुष्टि कलाकारका लागि गतिलो विषयवस्तु हो । अशेष मल्ल र उनका सहकर्मीले पञ्चायती व्यवस्था भोगे । सो व्यवस्थाप्रति आमनेपालीमा बढिरहेको असन्तुष्टिलाई उनले पटक–पटक नाटकमा उतारे । भन्छन्, ‘त्यो वेला बोल्दा, नाटक लेख्दा, कविता लेख्दा तौलिएर लेख्नुपथ्र्याे । यतिसम्म लेख्दा त पुलिसले नपक्रिएला कि भन्ने हुन्थ्यो ।’

राजनीतिक रूपमा मुलुक स्वतन्त्र छ । भनेपछि नाट्यकर्मी तथा कलाकर्मीका लागि विषयवस्तुको अभाव भएको हो ? उनी यस जिज्ञासामा पूरै असहमत भए । बोले, ‘हामी राजनीतिक रूपमा स्वतन्त्र भयौँ । तर, सामाजिक स्थिति, विकृति, विसंगति, हिंसा उस्तै त छ नि । क्रिएटिभ मान्छेलाई नेपालमा जति इस्यु अन्त पाइँदैन ।’

एउटा नाट्यकर्मीसँग योग ध्यानको के सम्बन्ध छ ? अभिनय सिक्न आएका विद्यार्थीलाई योगाभ्यास सिकाउनुको के तारतम्य छ ? मेरो जिज्ञासामा उनी अलि बढी खुले । भन्छन्, ‘मैले फलानो धनी छ, म धनी हुन सकिनँ भनेर चिन्ता लिएँ भने म सफल हुन सक्दिनँ ।

म त म नै हुँ । आफू कस्तो हो, त्यस्तै बन्नुपर्छ । सत्कर्म र सफलतामा प्रेरित गर्ने भएर म विद्यार्थीलाई योगा पनि सिकाउँछु । योग ध्यानले ८० प्रतिशत रोग लाग्दैन भन्ने मेरो बुझाइ हो, अनुभव हो ।’

०५० सालतिर नाट्यकर्मी मल्ल धेरै बिरामी परे । नेपालदेखि भारतसम्मका ठूला अस्पताल चहारे । उपचारपछि उनी सामान्य अवस्थामा फर्किए । त्यो क्षणलाई पुनर्जन्म पाएको ठान्ने मल्ल भन्छन्, ‘बिरामीबाट उठेपछि मैले गौतम बुद्ध, साइबाबालगायतलाई पढेँ ।

अध्यात्म भन्नेबित्तिकै मन्दिरमा गएर पूजा गर्ने बुझिन्छ । मन्दिर नभए पनि हुन्छ । नगए पनि हुन्छ । आफूभित्रको भगवान्लाई जगाए पुग्छ ।’

रंगमञ्चमा लागेको नयाँ पुस्तामध्ये कतिपय यस क्षेत्रबाट कसरी बाँच्ने भन्ने चिन्तामा भेटिन्छन् । वर्तमान परिस्थितिमा कला क्षेत्रबाट आर्थिक सन्तुष्टि धेरै थोरैले पाएका छन् । मनमा पीडा बोकेर अभिनय गर्ने थुप्रै कलाकार छन् ।

सम्झेँ, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलगायतका सरकारी प्रतिष्ठानमा राज्यले बर्सेनि करोडौँ लगानी गर्छ । तर पनि हाम्रो कला साहित्यमा लागेका थुप्रै कलाकार कुहिरोको कागजस्तै जीवन गुजारिरहेका छन् ।

‘एकेडेमीहरूले कला संस्कृतिको विकास र कलाकारको भविष्यप्रति कत्तिको प्रभावकारी कदम चालेको पाउनुहुन्छ ?’ विगतमा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भइसकेका मल्ल यसबारे धेरै बोल्न चाहेनन् । यत्ति मात्र बोले, ‘प्रज्ञा प्रतिष्ठानमा विद्वान्भन्दा राजनीतिक कार्यकर्ता घुस्न थाले ।

असल र योग्य मान्छे पुग्न असम्भव नै भयो । पोलिसी लेभलमा बस्ने राजनीतिज्ञहरूबीच आध्यात्मिक चिन्तनको सुरुवात जब हुन्छ, तब ऊ नराम्रो बाटो हिँड्नै सक्दैन । भन्दा अचम्म लाग्ला, मानिसको जीवनको टर्निङ प्वाइन्ट भनेको अध्यात्म हो ।’

छुट्टिने वेला उनी भन्दै थिए, ‘स्वास्थ्य राम्रो हुन सचेत हुनुपर्ने रहेछ । हामी विज्ञानको पछि लागिरहेका छौँ । तर, विज्ञान अधुरो छ । जहाँ विज्ञानको अन्त्य हुन्छ त्यहाँबाट अध्यात्म सुरु हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु