झड्केलो पुँजीवाद - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

झड्केलो पुँजीवाद

विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यो पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन ।

 

नयाँ पत्रिकाको असार २१ को अंकमा झलक सुवेदीको एउटा विचारोत्तेजक लेख छापिएको छ । लेखको कुट–शीर्षक छ, ‘एउटा मृत पोखरी र छायादेवी ।’

लेखमा मुख्यतः नेपाल–संस्कृतिको प्रसंगलाई कोट्याइएको छ । कमलपोखरीको अतिक्रमणलाई केन्द्रमा राखेर संस्कृति–विमर्श गरिएको छ । नेपालमा रहेको सांस्कृतिक सम्पदा, विभेद, जीवनशैली र धरोहरलाई जोगाउनेतर्फ ध्यान आकृष्ट गरिएको छ । यसरी नेपालको मौलिकतालाई साँचेको खण्डमा पर्यटकको आकर्षण बढ्छ । त्यसले अन्ततः आर्थिक दृष्टिले रोजगारी र समृद्धिलाई समेत सहयोग पु-याउँछ । फेरि झलकजीको गुनासो छ, ‘तर नेपाली समाजले आफ्नो सांस्कृतिक मौलिकतालाई चिन्न सकेको छैन । माल पाएर चाल नपाएको जस्तो भएको छ । आजको नेपाल विद्युतीय रेल, मेट्रो चढ्ने सपना र कमलपोखरी मासेर नाफाखोरीका निमित्त मल्टी कम्प्लेक्स बनाउने होडमा व्यस्त–मस्त छन् । यो गलत हिँडाइ हो । हामी उल्टो बाटो हिँड्दै छौं । यसलाई रोकौँ ।’

झलक सुवेदीको निष्कर्ष सटिक छ । हामी निश्चय उल्टो बाटो हिँड्दै छौँ । तर, यस चेतावनीको एउटा कमजोर पक्ष छ । बढिसे बढी पैसा कमाउने लक्ष्य राख्ने नै हो भने तथाकथित आधुनिकीकरणको अन्धवेगलाई शिथिल मात्र पनि बनाउन सकिन्छ त ? तर, यो प्रश्न अहिले रहोस् ।

वर्तमान मनोदशा

कृष्णप्रसाद भट्टराई प्रजातान्त्रिक आन्दोलनको अग्रपंक्तिमा हुनुहुन्थ्यो । उहाँलाई कतिपयले ‘सन्तनेता’ पनि भन्थे । आमराजनीतिज्ञभन्दा उहाँको रहन–सहन सादगीपूर्ण थियो । त्यसैले उहाँले सन्तनेताको उपाधि प्राप्त गर्नुभएको थियो । उहाँको भोगविलासमा तमक–झमकको खास लालसा थिएन ।

तर पनि चुनाव लड्दा उहाँले भनेरै छोड्नुभयो, ‘म नेपाललाई सिंगापुर बनाइदिन्छु ।’ कृष्णप्रसाद भट्टराईले वर्षौं कारावासमा बसेर राष्ट्र चिन्तन अवश्य पनि गर्नुभएको थियो । तर, पनि नेपाललाई सिंगापुर बनाउन सकिन्छ कि सकिँदैन अथवा बनाउन उचित हुन्छ कि हुँदैन भन्नेतर्फ अध्ययन गर्न भ्याउनुभएको रहेनछ भन्नैपर्छ ।

व्यक्तिगत दृष्टिले मैले कृष्णप्रसाद भट्टराईलाई भन्दा बढी अर्को नेपालीलाई आदर गर्न सकेको छैन । तर, नेपाललाई सिंगापुर बनाउने सपना हास्यास्पद मात्र होइन, हानिकारकसमेत छ भन्ने आज पनि लागिरहेको छ ।

त्यसपछि गणतान्त्रिक नेपालमा माओवादीका अध्यक्ष प्रचण्डको उदय भयो । प्रचण्डलाई त अझ सिंगापुर भनेर पनि पुगेन । प्रचण्डले हाकाहाकी भन्नुभयो, ‘नेपाललाई म स्विट्जरल्यान्ड बनाउँछु ।’ अहिले आएर प्रधानमन्त्री केपी ओलीले किसुनजी र प्रचण्ड दुवैलाई उछिनेर नेपालको भविष्यको अत्यन्त रंगीन, रोचक र झकाझकको तस्बिर पेस गर्नुभएको छ । त्यस पृष्ठभूमिमा झलक सुवेदीको चेतावनी छ, ‘हामी उल्टो बाटो हिँड्दै छौँ, यसलाई रोकौँ ।’

तर यो यात्रा आज सुरु भएको होइन । यो बाटो ओली वा प्रचण्डले मात्र पनि रोजेको होइन । विश्वमा अहिले प्रचलित आधुनिकीकरणलाई सबैथरीका राष्ट्रिय राज्यले आफ्नो एक मात्र लक्ष्यका रूपमा लिएका छन् ।

उच्चबाट उच्चत्तर प्रविधिमा जाने, उच्चत्तर जीवनस्तर बढाउँदै लैजाने, धनीभन्दा धनी हुने र भौतिक सम्पदा मात्र एक मात्र धनको कसौटी हुने वर्तमान मनोदशा मानौँ निर्विकल्प छ । विश्वमा देखिएको यो दौड, यो होड र यो उन्मादबाट नेपाल अछुतो नरहनु आश्चर्यजनक छैन ।

पुँजीवादको उदयका साथ यो मनोदशा झन्–झन् बलियो भएको हो । सञ्चार क्रान्तिले यस मनोदशालाई मनोरोगको रूप दिन सफल भएको छ । होइन भने तथाकथित आधुनिक जीवनको लालसा पुँजीवादको जन्मका साथ भएको थियो ।

पुँजीवाद र समाजवाद

पुँजीवाद कहिले उदय भएको हो भन्नेबारे विद्वान्हरूको भिन्न मत छ । तर, ०१५ सालमा बिपी कोइरालाले जननिर्वाचित सरकार बनाउँदाताका पुँजीवाद एक विश्व व्यवस्थाको रूपमा प्रतिष्ठित भइसकेको थियो । तर, आधुनिकीकरणको यो अन्धवेग आइपुगेको थिएन ।

प्रधानमन्त्री बिपी कोइरालाले ०१५ सालमा गर्नुभएका र गर्न खोज्नुभएका काम अहिले पनि चर्चाको विषय बनेका छन् । तर, एउटा कुरा भन्नैपर्छ, तत्कालीन बिपी कोइरालाले मुलुकलाई ओली र प्रचण्डकै बाटोमा हिँड्न आँटेको देखेको भए कदाचित हस्तक्षेप गर्नु हुँदैनथ्यो । उहाँ पनि भन्नुहुन्थ्यो, ‘पुँजीवादले भौतिक सम्पन्नता ल्याउँछ । त्यसै सम्पन्नतामा टेकेर समाजवादले आर्थिक समस्या हल गर्छ ।’

 

बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो– फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्ट खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन । हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।

 

भारतीय समाजवादी आन्दोलनका सिद्धान्तकार अशोक मेहता उहाँका निजी मित्र थिए । जवाहरलाल नेहरू उहाँको युगका आदर्श थिए । जवाहरलाल र अशोक मेहताले संयुक्त रूपमा भारतको विकासलाई पुँजीवादी बाटोमा लैजान आँटेका थिए । एउटा मान्यता थियो, पुँजीवाद परिपक्व नहुँदासम्म समाजवाद आउँदै–आउँदैन ।

अहिले ओली वा प्रचण्डले समाजवादको त्यही तस्बिर राखेका छन् । पहिले पुँजीवाद आओस्, रेल, हवाईजहाज, पानीजहाज आओस्, त्यसपछि समाजवाद आइहाल्छ नि भन्ने उहाँहरूले पनि सोचेको हुनुपर्छ । दुर्भाग्यवश यो उहाँहरूको सोच मात्र होइन ।

लगभग यस्तै सोचमा तेस्रो विश्वका अधिकांश मुलुक छन् । यस्ता सोचमा उत्साहित रहेका केही राष्ट्रिय राज्यहरू विदेशी ऋणको पञ्जामा परेर छट्पटाइरहेका छन्, यो अर्कै कुरो हो । यस प्रवृत्तिले देश र देशका बीचमा गरिबीको खाडल बढाइरहेको छ । मुलुकभित्र गरिब र धनीको विभेद झन्–झन् फराकिलो बनाएको छ । पर्यावरण संकटको कुरा गर्नैपरेन । धरती माता आफ्ना सन्तानलाई थेग्न, धान्न नसक्ने मोडमा पुगेकी छिन् ।

०१५ सालको बिपी कोइराला र आफ्नो आखिरी वर्षका बिपी कोइरालामा भने आकाश–जमिनको फरक देखिन्छ । बिपी कोइरालाले आफ्नो आखिरी वर्षमा भन्नुभएको थियो, ‘फराकिलो र चिल्लो सडक, ठुल्ठूला उद्योग, विशाल एयरपोेर्टहरू खडा गरेर नेपालीलाई सुखी बनाउन सकिँदैन ।

हामीले नेपाललाई युरोप र अमेरिकाको विकासको मोडलमा लैजान सक्दैनौँ ।’ बिपीले आफ्नो जीवनकालमा वैकल्पिक मोडलतर्फ औँल्याउनुसम्म त भयो । त्यस गन्तव्यमा पु-याउने उमेर, स्वास्थ्य र परिस्थितिले उहाँलाई साथ दिएन । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि उहाँको नाम मन्त्रजप गर्ने कांग्रेसले उहाँको बाटोमा हिँड्न खोज्दै खोजेन ।

विकासको वर्तमान स्वरूप

बिपी कोइराला पेसेवर अर्थशास्त्री हुनुहुन्नथ्यो । उहाँलाई जननेताका रूपमा जनताको धुकधुकी थाहा थियो । जनताका पिरमर्कालाई ध्यानमा राखेर उहाँले कतिपय कुरा औँल्याउनुभयो । उहाँ स्पष्ट हुनुहुन्थ्यो– ‘पहिले गाउँका मानिसले रोजगार पाउनुपर्छ ।

एक कचौरा दूध खान पाउनुपर्छ । अनि गरे पनि भड्किलो विकासका कुरा गरौँला । जनता ठुल्ठूला एयरबस र चिल्ला गाडीमा चढ्दैनन् । पहिले उनीहरूको गाँस, वास र कपासको समस्या हल हुनुपर्छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्छ ।’

बिपीले यस्तो सोच प्रस्तुति गर्दा इ. एफ. सुमाखरको नाम लिनुभएको थियो । सुमाखरले एक अर्थशास्त्रीका रूपमा यी कुरा लेखेका थिए । खासमा यो विचारधाराको उदय त औतारी लामा (?) मोहनदास करमचन्द गान्धीले गर्न थालेका थिए ।

तर, मोहनदासको नाम लिनु पनि आवश्यक छैन । सुमाखरको पनि नाम लिने काम छैन । बिपी कोइरालालाई बिर्से पनि हुन्छ । तर, समकालीन विश्वमा एउटा वैकल्पिक सोच सुस्तरी अगाडि बढ्दै छ । विकासको वर्तमान स्वरूप आत्मघाती छ ।

विकासका नाममा धान्नै नसकिने ऋण लिएर ठुल्ठूला सडक, भीमकाय रेल्वे, हवाईजहाज र पानीजहाज चलाएर, ठुल्ठूला मल्टिकम्प्लेक्स बिल्डिङ बनाएर हामी झड्केलो पुँजीवादलाई भित्र्याउन सक्छौँ । तर, त्यस पुँजीवादले गरिबी रेखाको छेउछाउमा बाँचिरहेका मानिसलाई भने कुनै राहत दिन सक्दैन । रोजगार कम भएर जान्छ ।

मौलिक संस्कृति मासिन्छ । मानवीय जीवनमूल्य र विविधता नष्ट हुन्छ । कुनै राष्ट्रिय राज्यले समृद्धि दर बढेको तथ्यांक देखाउँदैमा जनता सम्पन्न छ भन्न सकिँदैन । सुखको त कुरै नगरौँ । झट्ट सुन्दा यो अर्थशास्त्रको गम्भीर विषय जस्तो लाग्छ । तर, यस विषयमा सार्थक विमर्श नहुनु समकालीन नेपालको दुर्भाग्य हो । झलक सुवेदीको लेखले त्यस विमर्शको आवश्यकताततर्फ संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया