बोइङ चढेर आज चीन जाँदै जोडी गैँडा - Naya Patrika
eNaya Patrika
  • ePaper

बोइङ चढेर आज चीन जाँदै जोडी गैँडा

नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा बिहीबार बोइङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमाडौं ल्याइएको जोडी गैँडा साँझ चीन लान लागिएको हो । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोइङ भद्र र रूपसी नामका गैँडा लिएर साँझ ६ः२० बजे फर्किनेछ ।

गैँडा लिन एक भेटेरिनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । केटो भद्र डेढ वर्ष र केटी रूपसी दुई वर्ष उमेरका छन् । उपहार दिने घोषणा भइसकेको अर्को जोडी अर्को वर्ष चीन पठाउने योजना छ ।

गैँडा हस्तान्तरण प्रधानमन्त्रीले गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदूत यु होङलाई गैँडा हस्तान्तरण गर्नेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको गैँडा बिहान १० बजे प्रधानमन्त्री ओलीसहित वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राजदूतलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । गैँडासँगै ओलीले साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेन्टाइनको प्रमाणपत्र र गैँडा उत्पत्तिसम्बन्धी प्रमाणपत्र रातदूतलाई दिने महानिर्देशक खड्काले बताए ।

गैँडासँगै नेपाली पशु  चिकित्सक पनि चीन जाने
नेपालबाट गैँडासँगै एकजना पशु चिकित्सक र चारजना किपर पनि चीन जाँदै छन् । ‘गैँडाको स्वास्थ्य रेखदेख र खाना खुवाउन नयाँ मान्छेलाई समस्या पर्छ, त्यसैले नेपाली प्रतिनिधि १०–१२ दिनसम्म चीनमै बस्नेछन्,’ खड्काले भने, ‘नयाँ व्यक्तिसँग बिच्किन सक्ने भएकाले नियमितजसो खाना खुवाउने नेपाली प्रतिनिधि केही दिन बसेर त्यहाँका प्रतिनिधिसँग बानी परेपछि मात्रै फर्किन्छन् ।’

कुन देशलाई कति जनावर उपहार ?
नेपालले सबैभन्दा पहिला ०४४ मा अमेरिकालाई एक जोडी गैँडा उपहार दिएको थियो । नेपालले अहिलेसम्म गैँडा, घडियाल गोही, मगर गोही, हिमालयन ब्वाँसो र चितुवा मात्र विदेशीलाई उपहार दिएको छ । सबैभन्दा धेरै उपहारका रूपमा नेपालले एकसिंगे गैँडा नै दिएको छ । नेपालले विदेशीबाट जंगली जनावर लिनेभन्दा धेरै दिने गरेको छ ।

तपाईको प्रतिक्रिया