निःशुल्क बिरुवा वितरण किन ? - Naya Patrika
eNaya Patrika
  • ePaper

निःशुल्क बिरुवा वितरण किन ?

वृक्षरोपणसँगै स्वस्थ जीवनको आधार नै रूख–बिरुवा हो भन्ने जनचेतना फैलाउनु सहरवासीका लागि उत्तिकै आवश्यक छ

 

विकास निर्माण वा आवासका नाममा काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तीव्र गतिमा रूख काट्ने काम भइरहेका वेला सरकारले एक घर : दुई बिरुवाको अवधारणा ल्याएको छ । यसै वर्ष वातावरण दिवसको अवसर पारेर जेठ २२ देखि जिल्ला वन कार्यालय काठमाडौंले त्यस्तो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत साँखुदेखि थानकोटसम्म र दक्षिणकालीदेखि बुढानीलकण्ठसम्म दश हजार बिरुवा वितरण गरिसकिएको काठमाडौं वन विभाग कार्यालय हात्तीसारले जनाएको छ । यतिवेला विभागले स्थानीय क्लब र नर्सरीमार्फत बिरुवा निःशुल्क उपलब्ध गराइरहेको छ ।

वर्षयाममा हरेक वर्ष काठमाडौं जिल्ला वन कार्यालय हात्तीसारले निःशुल्क बिरुवा वितरण गर्दै आए पनि यस वर्ष विशेष कार्ययोजना तर्जुमा गरी रोपिएका बिरुवा हुर्काउने काममा विशेष ध्यान केन्द्रित गरेको छ ।

यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयले ‘काठमाडौं उपत्यका सहरी वन विकास कार्ययोजना’ निर्माण गर्दै छ । नयाँ कार्ययोजनाले एक घर दुई बिरुवा भन्ने नारासहित रोपिएका बिरुवाको हेरचाहमा एकरूपता ल्याउन मद्दत पु-याउने विश्वास मन्त्रालयले लिएकोे छ ।

विगतका वर्षमा रोपिएका बिरुवा साना भएकाले हुर्काउन कठिन भएको कारण पत्ता लगाएर विभागले यस वर्ष ठूला बिरुवा वितरणमा जोड दिएको छ । साझा कार्ययोजना तर्जुमा गर्नुको मुख्य उद्देश्य बिरुवा संरक्षण नै हो । अहिलेसम्म आआफ्नै तरिकाले बिरुवा रोप्ने र हुर्काउने गरेकोमा सरकारी साझा कार्ययोजना लागू भएपछि बिरुवाको संरक्षणमा एकरूपता आउनेछ ।

घर–घरमा वितरण गरिएका बिरुवामा धुपीको माग बढी भए पनि स्वयम्भूको धार्मिक वनमा भने लप्सी, अमला, अम्बा, अनार, जामुन, पैयूँ, ओखर, टिमुर, सुगन्ध कोकिला, तेजपात, टाँकी, अम्बा, रिठ्ठा, जापनिज असारे फूल आदि बिरुवा रोपिएका छन् ।

जिल्ला वन कार्यालय काठमाडौंको सहकार्यमा स्वयम्भू व्यवस्थापन महासमितिले यही ९ असारमा विभिन्न जातका दुई सय बिरुवा रोपेर राम्रो कामको थालनी गरेको छ । महानगरको बीचमा अवस्थित स्वयम्भूको वन अतिक्रमणसँगै त्यहाँ बाँदरको संख्या वृद्धि भएकाले रोपिएका बिरुवा हुर्काउन सके वनमा आश्रित चराचुरुंगी र बाँदरको आहार व्यवस्थापन हुने विश्वास महासमितिले लिएको छ ।

अन्य क्षेत्रमा भन्दा स्वयम्भूको वनमा बिरुवा हुर्काउन कठिन भएकाले बाँदरबाट बिरुवालाई जोगाउन विशेष खालको तारबारले घेरिएको महासमितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरले बताएका छन् ।

अध्यक्ष तुलाधरले दिएको जानकारीअनुसार जिल्ला वन कार्यालय, काठमाडौंले ८० ओटा बहुवर्षीय ठूला आकारका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने अन्य फलफूलका ठूला बिरुवा महासमितिले धार्मिक वनका आन्तरिक कोष परिचालन गरी निजी नर्सरीबाट खरिद गरेको छ ।

 

धुलोधुवाँबाट आक्रान्त महानगरवासीलाई घरवरिपरि खाली जमिन भए ठूला जातका र नभए गमलामा हुर्काउन मिल्ने साना बिरुवा रोप्न प्रेरित गर्न सक्नुपर्छ

 

हाल स्वयम्भूको वनमा ६ सय बाँदर रहेको पनि महासमितिले जानकारी दिएको छ । पछिल्लो समय स्वयम्भू धार्मिक तीर्थस्थलभन्दा पनि आन्तरिक वा बाह्य पर्यटकका लागि उपत्यकाको दृश्यावलोकन गर्ने रमणीय र सहज स्थान बनेको छ ।

विगतमा हराभरा देखिने मन्दिरैमन्दिरको सहरको पहिचान बोकेको काठमाडौं उपत्यका अहिले स्वयम्भूको डाँडाबाट हेर्दा कंक्रिटको थुप्रो जस्तो देखिन्छ । नदीमा ढल मिसाउने र रूख काटेर घर बनाउने होडबाजीले सहरको कुरूपता दिन–प्रतिदिन वृद्धि हुँदै गएको वर्तमान अवस्थामा सरकारका तर्फबाट वृक्षरोपणमा विशेष जोड दिइनु वातावरण स्वच्छ राख्ने एउटा महत्वपूर्ण कडी साबित हुन सक्छ ।

वन विभागले बिरुवासँगै मल र तारबार वितरण गरी बिरुवाको हेरचाहमा स्थानीय क्लबलाई परिचालन गरेको छ । हरियो वन नेपालको धन भन्ने नारालाई जीवन्त राख्न सरकारको यो पहल सराहनीय मान्नुपर्छ ।

सहरवासीको माग बढेमा साउनसम्म बिरुवा वितरण गरिने वन विभागले जानकारी दिएको छ । यस वर्ष सरकार आफैँले उपत्यकावरिपरि रहेका सार्वजनिक जग्गामा विशेषगरी ठूला बिरुवा रोप्ने योजना बनाएको छ ।

सरकारले चाह्यो भने जे पनि हुन्छ भन्ने टड्कारो उदाहरण काठमाडाैं महानगरपालिका वडा नं. ३१ र ३२ स्थित आलोकनगर बागमती किनारको पाँच सय मिटर एरियामा हालै गरिएको वृक्षरोपणलाई लिन सकिन्छ ।

गत बिहीबार मात्र रोपिएका सात फिट अग्ला रुद्राक्ष र १५० फिट अग्ला चाँपका दुई सयवटा बिरुवाले सो क्षेत्र अहिले हराभरा देखिएको छ । वृक्षरोपणसँगै स्वस्थ जीवनको आधार नै रूख–बिरुवा हो भन्ने जनचेतना फैलाउनु सहरवासीका लागि उत्तिकै आवश्यक पनि भइसकेको छ ।

धुलो र धुवाँबाट आक्रान्त महानगरवासीलाई घरवरिपरि जमिन भए ठूला जातका र जमिन नभए गमलामा हुर्काउन मिल्ने साना बिरुवा वितरणको व्यवस्था वन विभागले मिलाएको छ । कम्तीमा पनि एक व्यक्तिका लागि एक बिरुवा हुर्कायौँ भने मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुनेछ ।

अहिले वर्षायाम छ । वन विभागले लैनचौर वन नर्सरीबाट बिरुवा निःशुल्क वितरण गरिरहेको छ । अथवा स्थानीय क्लबहरूमा सम्पर्क राखेर बिरुवा मगाउन सकिन्छ । आफ्नै स्वास्थ्य र पर्यावरण संरक्षणका लागि रूख रोपौँ र निरोगी बनौँ ।

तपाईको प्रतिक्रिया