चीन–इयू शिखर सम्मेलनको अर्थ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

चीन–इयू शिखर सम्मेलनको अर्थ

अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिका कारण इयूले जिम्मेवार शक्ति चीनसँगको सहकार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेको हो

 

आउँदो साता बेइजिङमा २०औँ चीन–इयू शिखर सम्मेलन आयोजना हुँदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कदमले विश्व व्यवस्था संकटमा परेको सन्दर्भमा यो सम्मेलनले ठाउँ पाउँदै छ । वर्तमान अवस्थामा युरोपेली युनियन (इयू) जटिल अवस्थाबाट गुज्रिरहेको छ ।

अमेरिकाको स्वार्थ रक्षार्थ ट्रम्पले युरोपेली चासोलाई तिलाञ्जली दिएपछि अमेरिका–इयू सम्बन्ध सबैभन्दा खराब स्थितिमा पुगेको छ ।

व्यापार, इरान परामाणु सम्झौता, जलवायु परिवर्तन सम्झौता, अन्तरएटलान्टिक व्यापार सम्झौता, जी–७ शिखर सम्मेलन, नेटो शिखर सम्मेलनजस्ता प्रमुख अन्तर्राष्ट्रिय सम्झौता तथा सम्मेलनप्रति ट्रम्पले लिएका कदमले अमेरिका–इयू सम्बन्ध यस्तो स्थितिमा आइपुगेको छ ।

यसैगरी, युक्रेनको मुद्दालाई लिएर इयू–रुस सम्बन्ध खराब बनेको छ । यी दुई पक्षबीच आपसी विश्वास र सुरक्षा प्रत्याभूतिको अभाव छ । मध्यपूर्वलाई हेर्दा इरान परमाणु सम्झौताको पछिल्लो स्थिति तथा बढ्दो क्षेत्रीय हिंसात्मक द्वन्द्वका कारण सुरक्षा चासोका साथै पेट्रोलियम पदार्थको मूल्य उच्च बन्ने खतरा छ ।

यी विद्यमान परिस्थितिका कारण इयूले जिम्मेवार शक्ति चीनसँगको सहकार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेको हो । यसकारण, विश्व राजनीतिमा कूटनीतिक द्विविधा पैदा भइरहेको सन्दर्भमा दुई पक्षबीच थप सहकार्यलाई बढावा दिने अवसरका रूपमा सदुपयोग गर्न सम्मेलन महत्वपूर्ण हुने देखिन्छ ।

वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती देखिएको अमेरिकी व्यापार संरक्षणवादलाई चीन र इयू दुवैले सामना गरिरहेका छन् । एकतर्फी रूपमा आएको अमेरिकी कर योजनाले डब्लुटिओको बहुराष्ट्रिय व्यापार प्रणालीको व्यवस्था उल्लंघन गरेको छ ।

यसर्थ, चीन र इयूले अमेरिकी कदमको प्रतिवाद गर्ने उपाय अँगालिरहेका छन् । यी दुई शक्ति एक भएर अघि बढ्दा स्वतन्त्र व्यापार पुनः जागृत हुनेछ । यसरी, चीन र इयूले आफ्ना स्वार्थ तथा चासो मात्र रक्षा गर्नेछैनन्, समग्र विश्व व्यवस्थाको नै रक्षा गर्नेछन् ।

यस प्रक्रियामा पछिल्लो समय इयू गम्भीर देखिएको छ । यसैबीच, युरोपियन कमिसनका उपाध्यक्ष ज्यर्की कटाइनेन र चिनियाँ उपप्रधानमन्त्री ली हीको संयुक्त अध्यक्षतामा गत जुनमा सातौँ ‘चीन–इयू उच्चस्तरीय आर्थिक तथा व्यापार बहस’ बेइजिङमा सम्पन्न भयो ।

स्वतन्त्र व्यापारलाई कसरी रक्षा गर्ने भन्नेमा उक्त बहस केन्द्रित थियो । आउँदो इयू–चीन शिखर सम्मेलनमा पनि यस मुद्दाले प्राथमिकता पाउने देखिन्छ ।

व्यावहारिक कदमको माध्यमबाट चीन र इयू विश्व व्यवस्थाको स्थिर विकास चाहन्छन् । दुवै शक्ति डब्लुटिओको व्यवस्थालाई सम्मान गर्दै द्विपक्षीय सहकार्यलाई द्रुत गतिमा अघि बढाउन प्रयासरत छन् ।

यसर्थ, विश्व व्यापार तथा लागानीको वातावरणलाई सहज बनाउने कार्यमा यी शक्ति लागिपरेका छन् । चीन–इयू उच्चस्तरीय आर्थिक तथा व्यापार बहसका अनुसार एकअर्काप्रतिको नकारात्मक धारणालाई हटाएर चीन र इयू विदेशी लगानी भित्र्याउन सहमत छन्, जुन आफैँमा ठूलो उपलब्धि हो ।

यस्तोमा चीनले आर्थिक पथमार्फत युरोप, एसिया र अफ्रिकालाई जोड्न अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

(लेखक चीनस्थित इन्स्टिच्युट अफ युरोपियन स्टडिजका शोधकर्ता हुन्)
ग्लोबल टाइम्सबाट

तपाईको प्रतिक्रिया