संरचना निर्माणमा सावधानी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

संरचना निर्माणमा सावधानी

जनताले लामो सास्ती व्यहोरेपछि लगभग निर्माण सम्पन्न हुने अवस्थामा पुगेको मुग्लिन–नारायणगढ सडक अहिले फेरि चर्चामा छ । बर्खामासको आगमनसँगै ठाउँठाउँमा गएको पहिरोका कारण सो सडक यतिखेर पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यसैबीच भर्खरै निर्माण सम्पन्न भएको सो सडक खण्डका कतिपय स्थानमा सडक भासिएर सवारी सञ्चालनमा समस्या आएका समाचार आइरहेका छन् । बर्खामासमा बाढी–पहिरो जानु स्वाभाविक प्राकृतिक प्रक्रिया हो ।

यसलाई अन्यथा भनिहाल्न त मिल्दैन, तर निर्माणको क्रममै कतिपय सावधानी नअपनाइएको हो कि जस्तो चाहिँ सो सडक खण्ड हुँदै यात्रा गर्दा जताततै महसुस हुन्छ । सडकबाट माथितिर हेर्दा बर्खामा मात्र होइन, हिउँदमै पनि पहिरो खस्ला जस्तो धराप धेरै देखिन्छन् ।

अनि, अहिले भर्खरै निर्माण सम्पन्न हुँदै गरेको राष्ट्रिय महत्वको सडक भासिएबाट पनि सडक निर्माण गर्दै गर्दा त्यसको भौगर्भिक पक्षको अध्ययन नभएको हो कि जस्तो लाग्छ ।

निर्माण पक्षले सो सडकआसपासका भूभागको भौगर्भिक अध्ययन गराएको भए यसरी सडक भासिन सक्ने सम्भाव्यता पहिल्यै देखिने थियो र त्यसको रोकथाम वा कुनै विकल्प खोज्न सकिन्थ्यो ।

सडक निर्माणमा मात्र होइन, विद्युत्गृह, बाँध, नहर वा अन्य जुनकुनै आयोजना निर्माण गर्दा सो क्षेत्रआसपासको भौगर्भिक अध्ययन गरिनु अनिवार्य नै मानिन्छ । ०७२ मा गएको विनाशकारी भूकम्पका कारण देशका विभिन्न भूभाग कमजोर बनेका छन् ।

तीमध्ये कतिपय स्थानमा त्यसयताका बर्खामा विनाशकारी पहिरो गएको देखे–सुनिएकै हो । त्यस्ता पहिरोले गाउँ वा बस्ती नै बगाएका, ठूलो धनजनको क्षति भएको समाचार पनि हामीले सुनेकै हौँ । यसैबीच लमजुङका भोजे र चिप्ला गाउँ विगत तीन दशकदेखि पहिरोको जोखिममा रहेको समाचार आएको छ ।

क्ब्होलासोंथर गाउँपालिका–७ को भोजे र मस्र्याङ्दी गाउँपालिका–५ को उपल्लो चिप्लाका बासिन्दा पहिरोको डरका कारण आफ्नो पुर्खादेखिको थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले यो बर्खाअगावै स्थानान्तरण गर्नुपर्ने भनी सिफारिस गरेको भए पनि ती बस्ती अझै यथावत् छन् ।

कतिपय डरका कारण आफ्नै प्रयासमा घर छाडेर आफन्तहरूको शरणमा पुगेका भए पनि कतिपय परिवारचाहिँ अझै जोखिम मोलेरै तिनै धराप गाउँमा बसिरहेका छन् ।

जनता जोखिममा छन् भन्ने आफ्नै मातहतका निकायबाट गरिएका अध्ययनबाट थाहा हुँदाहुँदै पनि सरकारले तिनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आलटाल गर्नु भनेको जनताको जीवनमाथि खेलबाड गर्नु हो ।

 

सडक निर्माणमा मात्र होइन, विद्युत्गृह, बाँध, नहर वा अन्य आयोजना निर्माण गर्दा सो क्षेत्रआसपासको भौगर्भिक अध्ययन गरिनु अनिवार्य छ

 

लमजुङका जस्तै जोखिमयुक्त बस्ती देशभर धेरै स्थानमा छन् । ती स्थानको भौगर्भिक अध्ययन गरी साँच्चै जोखिमपूर्ण छन् भने त्यहाँबाट जनतालाई सुरक्षित स्थानमा सारेर उनीहरूको जीवनरक्षाको सुनिश्चितता गर्नु सरकारको दायित्व हो ।

सरकारले दुईतिहाइको चस्मा लगाएर जनताको जीवनलाई जोखिममै धकेलिरह्यो र उनीहरूको आर्तनाद सुन्ने समय निकाल्न सकेन भने त्यस्तो सरकारले आफूलाई जनताको सरकार भनेर चिनाउनु व्यर्थ हुनेछ ।

विपत् आइसकेपछि दुःखी अनुहार लिएर दुईचार शब्द पीडितको पक्षमा बोल्नु र पीडितको नाममा केही रकम खर्चिनुको अर्थ हुँदैन सरकार ! विपत्ति आउनुअघि नै आँखा खोल र जनतालाई सुरक्षित जीवनको प्रत्याभूति गराऊ ।

तपाईको प्रतिक्रिया