गण्डकी प्रदेशका ५ विधेयक प्रमाणीकरण - Naya Patrika
eNaya Patrika
  • ePaper

गण्डकी प्रदेशका ५ विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश सभाले पारित गरेका ५ विधेयक प्रदेश प्रमुख बाबुराम कुँवरले बुधबार प्रमाणीकरण गरेका छन् ।

प्रदेश सभाले पारित गरेका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष ०७५/०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘स्थानीय तहको कानुन निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, र ‘खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख कुँवरले प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सभाका कार्यवाहक सभामुख सिर्जना शर्माले विधेयक प्रमाणित गरी प्रदेश सभा सचिवालयले प्राणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो ।

नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्छ ।

प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि ती विधेयक प्रदेश प्रमुखको कार्यालयमा बुधबार पठाएको थियो ।

तपाईको प्रतिक्रिया