माथिल्लो दोर्दी ‘ए’ को ७७ प्रतिशत काम सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper

माथिल्लो दोर्दी ‘ए’ को ७७ प्रतिशत काम सम्पन्न

पूर्वी लमजुङको दोर्दीखोला करिडोरमा निर्माणाधिन अवस्थामा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको ७७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको निर्माण कार्य तिव्र रुपमा भईरहेको लिवर्टी इनर्जी कम्पनी लिमेटेडका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

उनका अनुसार आयोजनाको पाइप लाइन, सुरुङ र विद्युतको काम अहिले तिव्र रुपमा भएको छ भने बाँधको काम बर्खाको कारण रोकिएको छ । आयोजनका सञ्चालक वस्तीका अनुसार आयोजनाको बाँध क्षेत्रमा ६० प्रतिशत काम सकिएको छ ।

२ हजार ८ सय मिटर लामो पेनेस्टक पाइप लाइनको ९० प्रतिशत बिछ्याउने काम सकिएको छ । आयोजनाको टनेलको काम २ हजार ६ सय २३ मिटरमा २ सय २८ मिटर बाँकी रहेको आयोजनाका साइट प्रोजेक्ट म्यानेजर टेकेन्द्र भण्डारीले बताए । उनका अनुसार टनेलको ९१ प्रतिशत काम सकिएको छ ।

आयोजनामा सुरुङ र पाइप दुबै रहने गरी डिजाइन गरिएको छ । यस्तै, विद्युतगृहमा पनि ५० प्रतिशत निर्माण पूरा भएको छ । १६ महिनामा उत्पादन सुरु गर्ने तालिका भए पनि एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको कम्पनीको दाबी छ ।

उत्पादन हुने विद्युतगृह नजिकै नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी किर्तिपुर सवस्टेसनमा लगेर जोडिनेछ । २५ मेगावाट क्षमताको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ०६९ मा पिपिए सम्पन्न गरेको थियो ।

४ अर्ब लगानीमा निर्माण हुन लागेको यस आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा नौ बैंकले लगानी गरेका छन् । आयोजना २०७५ मंसीरमा सक्ने लक्ष्यका साथ काम शुरु भएपनि गत बैशाख १२ को भुकम्प र भारतीय नाकाबन्दीका कारण समस्या परेकाले समय बिस्तारका लागि नेपाल विद्युत प्राधिकरणले एक वर्ष समय थप गरेको आयोजनाका सञ्चालक वस्तीले बताए ।

आयोजनाको कुल ग्रस हेड ३२५ मिटर रहेको छ । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । कम्पनीले ०७५ सालको अन्त्यसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

दशै पछि शेयर निष्कासन गर्ने
२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले दशै पछि शेयर निष्कासन गर्ने भएको छ । आयोजनाका प्रवन्ध निर्देशक डा. आत्माराम घिमिरेले स्थानियसँग समन्वय गरी स्थानियले लगानी गर्न सक्ने समयमा आयोजनाको शेयर निष्कासन गरिने बताए ।

उनका अनुसार आयोजनाले स्थानियलाई १० प्रतिशत र सर्वासाधरणलाई १५ गरी २५ जम्मा प्रतिशत शेयर निष्काशन गरिनेछ । आयोजनाले स्थानियलाई १५ करोड रकम बराबरको १५ लाख कित्ता साधारण शेयर र सर्वसाधरणलाई २२ करोड ५० लाख रुपैया बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने आयोजनाका प्रबन्धक घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया