अवैध सामानको बिगबिगी, अलपत्रमा छोटी भन्सार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

अवैध सामानको बिगबिगी, अलपत्रमा छोटी भन्सार

माओवादी द्वन्द्वकालमा विस्थापित भएको छोटी भन्सार पुनर्स्थापना नहुँदा अवैध सामान भित्रिने क्रम बढ्दै गएको छ । भारतबाट यही भन्सार हुँदै खाद्यन्न, सिमेन्ट लगायत विभिन्न सामान भित्रिने गरेको छ ।

भन्सार पुनर्स्थापना नहुँदा नेपालबाट पनि सुन, डिजेज, पेट्रोल, जडिबुटी लगायत सामान अवैध रुपमा भारत निकासा हुने गरेको छ । जसले नेपाल भारतबीच ठूलो परिमाणमा अवैध सामान ओसार पसार हुने प्रमाणित भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

द्वन्द्वकालमा बन्द भएको भन्सार पुनर्स्थापना हुन नसक्दा दैनिक ५० लाख बराबरको अवैध सामान नेपाल भित्रिने गरेको छ । ‘भन्सार कार्यालय नहुँदा खुलेआम सामान ल्याउन र लैजान सकिन्छ ।’ नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुदयाल मिश्रले भने, ‘न भन्सार शुल्क तिर्नु पर्छ, न रोकटोक गर्छ ।’ यही भन्सार भएर अहिले दैनिक हजार भन्दा बढी सर्वसाधारण व्यापारी भारतको जमुनहा बजार पुग्ने गरेका छन् ।

राजश्व असुली गर्न सरकारी निकाय नभएपछि राजश्व तिर्न नपर्ने डुडुवा गाउँपालिका–३, होलियाका रामकुमार बाहुन बतायछन् । उनी भन्छन्, ‘राजश्व लिने कोही नभएपछि सामान किनमेल गरेर फर्किनेहरु निर्धक्क ओहोरदोहोर गर्छन् ।’

बघौडाको नामले चिनिने यहाँका बासिन्दाले सबै सामान भारतीय बजारमा निर्भर भएकाले नेपाली रुपैयाँसमेत चल्दैन ।

जीर्ण बन्दै भवन

१५ वर्षअघि तत्कालीन माओवादीले धम्की दिएको भन्दै सात ठाउँमा रहेको छोटी भन्सार कार्यालय विस्थापित भएको थियो । माओवादीबाट असुरक्षित भएको भन्दै कर्मचारी र सुरक्षाकर्मी नेपालगन्ज फर्किएपछि छोटी भन्सार कार्यालय बन्द भएको थियो । कर्मचारी नबसेपछि सबै भन्सार कार्यालय भवन जीर्ण बनेका छन् ।

भन्सारका भवनहरु तरकारी खेती र गाई गोठको रुपमा प्रयोग हुँदै आएका छन् । ‘मर्मत, सम्भार नभएपछि भवनभित्र पस्नसमेत डर लाग्ने भएको छ,’ होलियाका राजकुमार शुक्लाले भने, ‘छोटी भन्सार संचालनमा रहेको बेला यो क्षेत्रको रौनक नै बेग्लै थियो ।’

तपाईको प्रतिक्रिया