पाठक टिप्पणी : मजदुरको तलबवृद्धि स्वागतयोग्य - Naya Patrika
eNaya Patrika
  • ePaper

पाठक टिप्पणी : मजदुरको तलबवृद्धि स्वागतयोग्य

सरकारले मजदुरहरूको न्यूनतम तलब, भत्ता र सुविधामा वृद्धि गरेको समाचार पढ्दा खुसी लाग्यो । सायद, म मात्र होइन, यो समाचारले अन्य मजदुर साथीहरूमा पनि उत्साह थपेको हुनुपर्छ । विगतमा चार वर्षसम्म मजदुरको तलब वृद्धि हुन सकेको थिएन ।

प्रत्येक दुई–दुई वर्षमा मजदुरढिलै र अपर्याप्त नै भए पनि सरकारले कम्तीमा पनि मजदुरको तलब वृद्धि गरी उनीहरूमा उत्साह जगाउने काम गरेको छ । यसका लागि श्रममन्त्री गोकर्ण विष्ट सम्मानका हकदार बनेका छन् । अहिलेको महँगीको जमानामा यो तलब, भत्ता आफू बाँच्न र परिवारको भरणपोषण गर्न पर्याप्त नै त छैन । तैपनि, नहुनु मामाभन्दा कुन्नि कस्ता हो मामा नै भए पनि जाती हुन्छ भनेजस्तै यसले थोरै नै भए पनि हामी मजदुरमा उत्साह थप्ने र केही राहत दिने प्रयास गरेको छ ।

यो सरकारले मजदुरको हित चाहन्छ भने उसले आगामी दिनमा प्रत्येक वर्ष मजदुरको तलब भत्ता बढाउने कानुनी व्यवस्था मिलाओस् । यसका साथै, सरकारले यसरी वृद्धि गरेको तलब, भत्ता उद्योग, प्रतिष्ठानहरूले दिन्छन् कि दिँदैनन्, यसको प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने दायित्व पनि
उसैको हो ।
निरञ्जन मैनाली
कोल्हवी नगरपालिका–२, निकास, बारा
हाल : जोरपाटी, काठमाडौं

 

नेपाल दुई ठूला शक्तिशाली राष्ट्रहरूको बीचमा अवस्थित स्रोत–साधनले सम्पन्न हुँदाहुँदै पनि विविध कारणले विकास हुन नसकेको देश हो । यहाँका सीमित व्यक्ति उच्च वर्गका वा धनी भए पनि धेरैजसो जनता मध्यम र निम्नवर्गीय रहेका छन् । अझै पनि अत्यधिक जनता गरिबीको रेखामुनि
नै छन् ।
नेपालमा श्रमिकको पारिश्रमिक ज्यादै न्यून रहेको अवस्थामा हाल नेपाली श्रमिकको तलब ३९ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि हालसम्मकै उच्च वृद्धिदर हो । साना रोजगारदातालाई पनि ख्याल गर्दै बढाइएको यो वृद्धिले मजदुरलाई केही मात्रामा भए पनि राहत मिलेको छ ।

यो ज्यादै सकारात्मक पक्ष हो । यो तलब वा पारिश्रमिक पर्याप्त नभए पनि यो वृद्धिले श्रमिक वा मजदुरको जीवनयापनमा केही सहज भने अवश्य हुनेछ । श्रमिक वा मजदुरले पाउने तलब अथवा पारिश्रमिक अनिवार्य रूपमा बैंकमार्फत उपलब्ध गराउनुपर्ने नियम झनै स्वागतयोग्य छ । यसबाट पारदर्शिता कायम हुने देखिन्छ । अब सरकारले कृषि क्षेत्रमा पनि केही सकारात्मक कार्यको सुरुवात गर्दै जनतालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजना बनाउन आवश्यक देखिन्छ । यसतर्फ अब सरकारको
ध्यान जाओस् ।
बद्री सिवाकोटी
सुनखानी, दोलखा

तपाईको प्रतिक्रिया