क्रोएसियाको चुनौती इंग्ल्यान्डलाई - Naya Patrika
eNaya Patrika
  • ePaper

क्रोएसियाको चुनौती इंग्ल्यान्डलाई

विश्वकप फुटबलअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा बुधबार क्रोएसिया र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । दोस्रोपटक उपाधिको खोजीमा रहेको इंग्ल्यान्ड र पहिलोपटक च्याम्पियन बन्ने ध्याउन्नमा रहेको क्रोएसिया दुवै आफ्नो पूर्ण शक्तिका साथ मैदानमा उत्रनेछन् ।

प्रतियोगितामा इंग्ल्यान्ड र क्रोएसिया अनपेक्षित टिमका रूपमा छन् । यी दुईलाई सेमिफाइनलका दाबेदारका रूपमा समेत हेरिएको थिएन । तर, अब दुईमध्ये एक उपाधि महाभिडन्तका लागि फाइलनमा पुग्नेछ भने एक टिम प्लेअफमा अड्किनेछ ।

ज्लाटको डेलिकको प्रशिक्षणमा क्रोएसिया १९९८ पछि पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भएको हो । ग्यारेथ साउथगेटको प्रशिक्षण रहेको इंग्ल्यान्ड पनि १९९० पछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । दुवैका लागि सेमिफाइनल अनुभव दशकौँपछि भएकाले एक टिमका लागि इतिहास बन्ने पक्का छ ।

जितको निरन्तरताको पर्खाइमा इंग्ल्यान्ड
इंग्ल्यान्ड पछिल्ला १५ खेलमध्ये एकमा मात्र पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग दोस्रो दर्जाका खेलाडी खेलाएको खेलमा इंग्ल्यान्ड पराजित भए पनि त्यसबाहेक अधिकांश नतिजामा इंग्ल्यान्ड बलियो छ । सेमिफाइनलसम्म आइपुग्दा इंग्ल्यान्डको बलियो प्रतिस्पर्धी कोलम्बिया मात्र देखिएको थियो । अन्य टिम इंग्ल्यान्डका लागि तुलनात्मक रूपमा कमजोर सावित भएका थिए । त्यसैले कोलम्बियापछि इंग्ल्यान्डका लागि दोस्रो कठिन परीक्षा क्रोएसिया नै हुनेछ ।

क्रोएसिया आत्मविश्वासी
क्रोएसियाले सुरुवातबाटै स्थिर प्रदर्शनलाई निरन्तरता दिएकाले इंग्ल्यान्डलाई हराउन सक्ने आत्मविश्वासमा देखिन्छ । सुरुवातबाटै डार्कहर्सका रूपमा देखिएको क्रोएसिया पेनाल्टी सुटआउटमा समेत भाग्यमानी देखिएको छ । क्रोएसिया अघिल्ला दुई खेलजस्तो इंग्ल्यान्डविरुद्धको खेल पेनाल्टीमा नपुगोस् भन्ने चाहनासहित मैदानमा उत्रनेछ । निर्धारित समयमै नतिजा निकाल्न सकिने विश्वास क्रोएसियासँग छ ।

विश्वकपमा पहिलो भेट
विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्यान्ड पहिलोपटक प्रतिस्पर्धा गर्दै छन् । २०१० को विश्वकप छनोटमा क्रोएसिया इंग्ल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको थियो । एक–अर्काविरुद्ध ७ पटक प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले ४ पटक जितेको छ भने क्रोएसिया २ पटक इंग्ल्यान्डमाथि जित निकाल्न सफल भएको छ ।

यी दुईबीचको एक खेल बराबरीमा टुंगिएको छ । क्रोएसियाविरुद्ध २००८ मा ४–१ तथा २००९ मा ५–१ को प्रभावशाली जित निकाल्न इंग्ल्यान्ड सफल भएको थियो । तर, ११ वर्षपछि क्रोएसियाले धेरै परिवर्तन गरेको छ । इंग्ल्यान्ड पुरानो रवाफ फर्काउन मैदानमा उत्रनेछ ।

स्टार खेलाडीसँग अपेक्षा
क्रोएसिया र इंग्ल्यान्ड दुवैलाई आफ्ना स्टार खेलाडीमा विश्वास छ । क्रोएसियाका सेन्ट्रल मिडफिल्डर लुका मोड्रिक तथा इभान राकिटिकको प्रदर्शन महत्वपूर्ण रहेको छ । स्ट्राइकर मारियो मान्जुकी निर्णायक हुने क्रोएसियाको विश्वास छ ।

त्यस्तै, इंग्ल्यान्ड जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका ह्यारी केनको प्रदर्शनमा आशावादी छ । रहिम स्ट्रलिङ र डेल अली तथा राइट विङ–ब्याक केरन ट्रिपियर इंग्ल्यान्डका लागि महत्वपूर्ण बन्न सक्ने सम्भावना अधिक छ ।

तपाईको प्रतिक्रिया