नेमारपछि एम्बाप्पेको आलोचना - Naya Patrika
eNaya Patrika
  • ePaper

नेमारपछि एम्बाप्पेको आलोचना

रसिया विश्वकपमा युवा स्टारको स्टारडम र उनीहरूको खेल कौशलको मात्र अहिले चर्चा छैन । ब्राजिलियन स्टार नेमारले खेल कौशलभन्दा पनि नाटकीय प्रदर्शन गरेको भन्दै उनको आलोचना भएको थियो । अब नेमारकै बाटो समाएको भन्दै फ्रान्सका युवा खेलाडी एम्बाप्पेको पनि आलोचना सुरु भएको छ ।

एम्बाप्पेले सेमिफाइनलका दौरान उरुग्वेविरुद्धको खेलमा नेमारकै बाटो समाएको भन्दै उनको आलोचना भएको हो । १९ वर्षीय स्टार खेलाडी एम्बाप्पेले पिएसजी मेट नेमारसँग खेल कौशल सिक्नुपर्नेमा नाटक पनि सिकेको भन्दै उनको आलोचना भएको हो ।

युवा स्टारमा संयमता आवश्यक
पूर्वखेलाडीहरूले निरन्तर रूपमा युवा खेलाडीलाई संयमित भएर प्रदर्शन गर्न आग्रह गरेका छन् । फ्रान्सका पूर्वप्रशिक्षक लउरेन्ट ब्ल्याकले युवा स्टारलाई संयमपूर्वक मैदानमा रहन आग्रह गरे । उनले भने, ‘युवासँग धेरै समय हुन्छ । स्टार हुनु र स्टारडम कायम राख्नु फरक कुरा हो ।’ अर्जेन्टिनाविरुद्धको खेलमा सानदार प्रदर्शन गरेपछि एम्बाप्पे संसारको नजरमा परेका थिए । एम्बाप्पेको खेलशैली ब्राजिलका रोनाल्डोसँग मिल्ने भन्दै धैरैले रोनाल्डोको बिरासत एम्बाप्पेले लिने विश्वास गरेका थिए ।

फ्रान्सका पूर्वखेलाडी एलेन जिरेसाले एम्बाप्पेसँग फ्रान्सले धेरै अपेक्षा राख्न सक्ने भन्दै तत्काल उनले उत्साही हुनुनपर्ने धारणा राखे । उनले भने, ‘एम्बाप्पेले फ्रान्सबाट राम्रो कुरा मात्र सिक्नुपर्छ, स्टार खेलाडीबाट राम्रा कुरा मात्र लिनुपर्छ ।’ जिरेसाले रोड्रिग्वेजविरुद्ध एम्बाप्पेको व्यवहारबाट आफू अचम्मित भएको समेत बताए ।

तपाईको प्रतिक्रिया